मतदान सकिएलगत्तै मतगणना

|

काठमाडौं : प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा रहेको रिक्त पदको लागि आज (शनिबार) उपनिर्वाचन सम्पन्न भएको छ। देशका ३७ जिल्लाको ५२ पदका लागि निर्वाचन भएको हो। 

छिटफुटबाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। कास्की, लमजुङ, डोटी, कञ्चनपुर लगायतका जिल्लामा मतदानस्थल नजिकै विस्फोट भए पनि कुनै क्षति नभएको र शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनको लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।

प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको थियो।

त्यस्तै, धरान उपमहानगरमा नगरप्रमुखका लागि, फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्षको निर्वाचन भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको  लागि पनि निर्वाचन भएको छ। विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि निर्वाचन भएको हो।

निर्वाचनमा प्रनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय २ सय ७३ उम्मेदवार रहेको छन्। निर्वाचन क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेका थिए। 

कास्कीमा विष्फोटका धेरै घटना

उपनिर्वाचन हुनेमध्ये कास्कीको क्षेत्र नम्बर २ प्रतिनिधिसभा निर्वाचनमा सबैको ध्यान केन्द्रित भएको थियो। कास्कीमा सबैभन्दा धेरै बम विस्फोटका घटना भएका छन्। पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएपछि सो क्षेत्रमा निर्वाचन भएको हो।

उपनिर्वाचनमा नेकपाले रविन्द्र अधिकारीको पत्नी विद्या भण्डारीलाई उभ्याएको छ। भने नेपाली कांग्रेसले खेमराज अधिकारी, साझा पार्टीबाट रजनी केसीलगायतको प्रतिस्पर्धा छ। रविन्द्र पत्नी र प्रतिनिधिसभाको निर्वाचन भएकोले सो क्षेत्रमा धेरैको नजर परेको हो।

मन्त्री अधिकारीको क्षेत्र भएकाले सोहि क्षेत्रमा देशका ठूला राजनीतिक दलको समेत ध्यान केन्द्रित भएको थियो। रविन्द्रको पत्नी विद्यालाई टिकट दिएपछि सो क्षेत्र चर्चामा आएको थियो।  

मन्त्री मगरले गरिन् कञ्चनपुरबाट मतदान

कञ्चनपुरको पुनर्वास ३ मा जारी रहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले मतदान गरेकी छिन्। कञ्चनपुस्थित गोरखा आधारभूत विद्यालय रामबस्ती मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्।

वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा मतदान गर्न मन्त्री मगर कञ्चनपुर पुगेकी हुन्। वडाध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि उनको पदपुर्तिको लागि निर्वाचन भएको हो। सो वडामा १ हजार १९९ मतदाता रहेका छन्।

मतदान गर्न पाँचथर पुगे मन्त्री नेम्बाङ

उपनिर्वाचनमा मतदान गर्नको लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले पाँचथर पुगेर मतदान गरेका छन्। उनले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरे।

मतदाताको उत्साहपूर्वक सहभागिता

उपनिर्वाचनमा मतदाता उत्साहपूर्वक रुपमा सहभागिता जनाएका छन्। उपनिर्वाचनमा सहभागिता जनाउन बृद्धवृद्धादेखि युवायुवतीहरुले समेत उत्साहपूर्वक रुपमा सहभागी भएको देख्‍न सकिन्थ्यो।

भक्तपुरमा किरियापुत्रीले गरे मतदान

भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको लागि भइरहेको उपनिर्वाचनमा किरियापुत्रीले समेत मतदान गरेका छन्। मतदानमा क्रियापुत्री, बृद्धवृद्धाले समेत उत्साहपूर्वक मतदान गरेका थिए। झौखेलको नाट्यश्वरी आधारभूत विद्यालयमा किरियापुत्रीले मतदान गरेका थिए।

यस्तै, बाग्लुङको पनि बिरामीलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याएर मतदान गराइयो।

उम्मेदवार नै मतदानबाट वञ्चित!

कास्कीमा प्रतिनिधिसभा १३ र भक्तपुरमा नेमकिपाकाबाट प्रदेशसभामा उम्मेदवार बनेकोले मतदान गर्नबाट वञ्चित भएका छन्। आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर भएकाले मतदान गर्नबाट वञ्चित भएका हुन्।

कास्कीमा कांग्रेसबाट उम्मेदवार बनेका खेमराज पौडेलले पनि मतदात गर्न पाएनन्। कास्की क्षेत्र नम्बर ३ का भएकाले मतदान गर्नबाट वञ्चित भएका हुन्।

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले पनि आफूलाई भोट हाल्न पाएनन्। उनी तनँहुका हुन्। नेपाली कांग्रेस विपीका उम्मेदवार पोखरा २६ का चन्द्रबहादुर रानाभाटले पनि मतदान गर्नबाट वञ्चित भए।

देशभक्त समाजवादी पार्टीका उम्‍मेदवार वीरबहादुर विश्वकर्मा कास्कीको अन्नपूर्ण गाउँपालिकाका हुन्। पोखरा २७ का मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार रियाज गुरुङ पनि छन्। र अन्य आठजना स्वतन्त्र उम्मेदवारहरूले मतदान गर्न पाएनन्।

यस्तै, भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क) मा नेमकिपाका उम्मेदवार नीरज लवजूले पनि मतदान गर्नबाट वञ्चित भए। उनी उम्मेदवार बनेको क्षेत्र उनको आफ्नै नभएकाले मतदान गर्नबाट छुटे। उनको भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेको छ।

थवाङमा न्यून मतदान

रोल्पाको थबाङ गाउँपालिका १ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा थोरै मात्र मतदान भएको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २० प्रतिशत मात्रै मत खसेको छ। थवाङ प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवको पकड क्षेत्र मानिन्छ।

सो वडामा १ हजार २ सय ७४ मतदाता रहेको रहेका छन्। सो क्षेत्रमा नेकपाबाट जनकबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कलम रोकाको प्रतिस्पर्धा छ।

विप्लव नेतृत्वको नेकपा आस्थावानका स्थानीय नेता कार्यकर्ता मतदान स्थलमा आएको भएपनि मतदानमा सहभागिता जनाएनन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचमा पनि बहिस्कार गरेको थियो।

मतदान सकिएलगत्तै मतगणना

उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगका सूचना अधिकारी अधिकारीले जानकारी दिए।

‘पाँचबजेपछि मतदान सकिन्छ, त्यसपछि सबै मतपेटीका जिल्ला निर्वाचन आयोगमा लगेपछि कहाँ कहिलेबाट मतगणना गर्ने भन्ने सूचना टाँस गरेर मतगणना सुरु हुन्छ’ आयोगका सूचना अधिकारी अर्यालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.