उम्मेदवारलाई उमेरसम्म थाहा भएन

|

बारा : बारामा स्थानीय तहको एक पदका लागि मात्र उपनिर्वाचन भएको छ। बाराको बारागढी गाउँपालिका १ को अध्यक्ष पदका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ। दुई वटा मतदान केन्द्रमा तीन वटा बुथमा मतदानको व्यवस्था मिलाइएको थियो।

मतदाताले नेपाल राष्ट्रिय प्रावि केन्द्र पिप्रा बसतपुरमा दुई वटा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुदगाइँ केन्द्रमा एक वटा बुथबाट मतदान गरेका हुन्। महिला र पुरुषका लागि छुट्टा–छुट्टै लाईनको व्यवस्था गरिएको थियो। बारागढीमा ८२.६७ प्रतिशत मत खसेको छ। २ हजार ३६६ मतदाता रहेकोमा १ हजार ९५६ जना मतदाताले मत खसालेका छन्। महिलाभन्दा पुरुष मतदान गर्ने एक सय जना बढी देखिएका छन्। 

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ थिए। त्यस क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएको थियो। एक वडा अध्यक्ष पदका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। थाहा संवाददाता एक घण्टा बढी मोटरसाइकलमा यात्रा गरेर त्यहाँ देखिएको घटनालाई शव्द र चित्रमार्फत उल्लेख गरिएको छ।

मदिराले मात्तिएर मतदान

मतदान केन्द्रको बाहिर एउटा सूचना टाँस गरिएको छ-अनुसूची २६ को दफा ६७ संग सम्बन्धित। मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको सूचनामा मदिरा बिक्री वा सेवन गरिएको पाइएमा २५ हजारसम्म जरिवाना हुने भनेर मतदान अधिकृतको दस्तखत गरेका छन्।

पिप्रा बसतपुरस्थित नेपाल राष्ट्रिय प्रावि केन्द्रमा शनिबार दिउँसो जुगेसर दास तत्वाले मदिराले मात्तिएकै अवस्थामा मतदान गरेका छन्। उनी मतदानका लागि लाइनमा बस्दा समेत मदिराका तालमा बोलिरहेका थिए। उनको मतदाता परिचय पत्र रुजु गरेर निर्वाचनका लागि खटिएका कर्मचारीले मत पेटिकातर्फ पठाएका थिए।

मतपत्र हातमा बोकेर जुगेसर मतपेटिकासम्म पुग्न समेत अल्मिलिए। उनलाई प्रहरीले मतपेटिकासम्म पुर्‍याएका थिए। मतपेटिका खसाल्नेतर्फ लागेपछि प्रहरीले रोकेर छाप लगाउनेतर्फ फर्काएको थियो। मतपत्रमा स्वस्तिक छाप लगाउने क्रममा हाँसो फैलिएको थियो। मतदान अधिकृत गोपीकृष्ण श्रेष्ठ भने मतदाता हो किन रोक्नु भनेको त यस्तो ताल पो देखाउँछ भन्दै थिए।

 उम्मेदवारलाई सास्ती

शारीरिक रुपमा अशक्त भएका मतदातालाई मतदान स्थलसम्म पुग्न समस्या भएको थियो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुदगाइँ मतदान केन्द्रकी मतदाता मानमती देवी पासवानलाई तीन जनाले बोकेर केन्द्रसम्म पुर्‍याएका थिए। उनको अनुरोध अनुरोधन अनुसार छोरा नरेश पासवानले मत खसालेका थिए।

निर्वाचन अधिकृतले मतपत्रसहित तपाइँ मत खसाल्न सक्नुहुन्छ भनेर सोधेका थिए। उनले नेतालाई जति भोट हाले पनि आफ्नो लागि ह्विल चेयर समेत व्यवस्था नगरी दिएको आक्रोश पोखिन्। उनले भनिन्,'बोकेर ल्याई दिने मान्छे नभएको भए मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आउने थियो।'

भोट हाल्न ज्येष्ठ नागरिकलाई झिझो

८१ वर्षीया बुधनी थरुनीलाई बुहारी र नातीले मतदान स्थलसम्म बोकेर पुर्‍याएका थिए। उनले नातीलाई मतदान गर्न स्वीकृति दिइन्। उनले पटक–पटक भोट हाल्दै आएको बताउँदै अब भोट हाल्न रहर नभएको सुनाइन्। ‘मैले त अब छोड्दिउ भनेको हो' भन्दै बुधनीले अब कसरी भोट हाल्ने भन्दै लामो सुस्केरा हालिन्। 

ठूला नेताको ध्यानकेन्द्रित

जिल्लामा एक ठाउँमा मात्रै मतदान हुने भएपछि दलका ठूला नेताको ध्यान बारागढीको १ नं वडामा केन्द्रित छ। वडामा पूर्वमन्त्रीदेखि सासंदसम्म पुगेका छन्। बारागढीमा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी, संघीय सासंद रामसहाय यादब, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् बलबिर चौधरीलगायत विभिन्न पार्टीका माथिल्लो तलका नेताहरू पुगेका थिए। निर्वाचन सुरु हुनुपूर्व प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेललगायत सुरक्षा निकायका प्रमुख बारागढी पुगेका थिए।

चलखेलको प्रयास

वडाको विभिन्न दलितबस्तीमा सबैले चलखेल गर्ने प्रयास गरेका थिए। बस्तीमा पसेर रक्सी, मासु र पैसामा बाँडेर मतदाता तान्ने रणनीति दिएका उम्मेदवारले एक–अर्काको निगरानी गरेका कारण असफल भएको प्रहरीले स्रोतले जनाएको छ। ‘बस्तीका ठाउँ–ठाउँमा उम्मेदवारका प्रतिनिधि आगो ताप्ने निउमा निगरानीमा खटिएका थिए’, प्रहरी स्रोतले भन्यो,‘कोही बस्ती पस्ने वित्तिकै प्रहरीमा खबर उनीहरूले नै गरिहाल्थ्ये।’

ठूला सवारी लिने कम

वडाको निर्वाचनमा एक उम्मेदवारले एउटासम्म चार चक्के सवारी प्रयोग गर्न पाउने व्यवस्था भए पनि ९ जना उम्मेदवार रहेको वडामा दुई जना उम्मेदवारले मात्र सवारी लिएका छन्। सवारी लिनेमा नेपाली कांग्रेस र समाजवादी पार्टीका उम्मेदवार छन्। अन्य उम्मेदवारले मोटरसाईक प्रयोग गरेका छन्।

उमेर थाहा नपाउने उम्मेदवार

उपनिर्वाचनमा वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसकी उम्मेदवार तस्विरीया थरूनीलाई आफ्नो उमेर समेत थाहा छैन्। उम्मेदवार थरुनीले भनिन्, 'मेरो उमेर ६० कि ७० वर्ष हो भनेका थिए। नागरिकतामा छ। नागरिकता छोराले लगेको छ।’ पार्टीको आग्रहमा उम्मेदवार बनेको बताएकी थरुनीले छोराहरूले पनि आँट नगरेपछि आफू नै उम्मेवार बनेको सुनाइन्।

वडा अध्यक्ष नन्दला राय थारूको मृत्यु भएपछि एक वर्षदेखि रिक्त रहेको वडा अध्यक्ष पदमा  नेपाली कांग्रेसले उनकै पत्नीलाई उम्मेदवार बनाएको हो।उम्मेदवारीको बेलामा भएको दौडधुपका कारण विरामी परेका उनी पक्षघातबाट पीडित भएका थिए। कार्यालयमा लडेपछि वीरगञ्ज पुर्‍याएको र त्यहाँबाट काठमाडौं लगिएकोमा अस्पतालमा नै २०७५ मंसिर १४ मा निधन भएको थियो।  

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शंकरप्रसाद चौधरी, नेपाली कांग्रेसले स्व चौधरीकी पत्नी तस्विरीया थरूनी, समाजवादी पार्टीले सुरेश चौधरी, राष्ट्रिय जनता पार्टी (राजपा) का बैधनाथ चौधरीलाई उम्मेदवार उठाएका छन्। त्यसैगरी, नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारू, नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेली, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरी, राप्रापा (संयुक्त) रामपति देवी र स्वतन्त्रबाट नरेश पासवानले मनोनय दर्ता गराएका छन्।

आजै मतगणना

जिल्ला निर्वाचन कार्यालय बाराले दिएको जानकारी अनुसार शनिबार रातिबाटै मतगणना सुरु गरिने छ। गाउँपालिकाको सभाहलमा मत गणना गर्ने तय भएको छ। मतपेटिका शिलबन्दी गरेर गाउँपालिका कार्यालयमा ल्याउने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकृत निर्वाचन अधिकृत मनिष कुमार साहले जानकारी दिए।उनका अनुसार केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.