|

काठमाडौं : बुधबार काठमाडौंमा सुरु हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को २३ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन बिभिन्न देशका प्रतिनिधिहरु आइपुगेका छन्।  

मंगलबार दिउँसोसम्म एक सय ३३ जनाभन्दा बढी प्रतिनिधि नेपाल आइपुगेका छन् भने मंगलबार बेलुकी र बुधबार बिहान पनि बिभिन्न देशका प्रहरी प्रमुखहरु आउने प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए। 

हरेक दुई–दुई वर्षमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलन यसअघि नेपालमा सन् १९८९ मा भएको थियो। करिब २७ वर्षपछि बुधबारबाट तीन  दिनसम्म चल्नेछ। जसमा ५५ देशका दुई सय ५० प्रहरी अधिकारीहरु सहभागी हुनेछन्। 

इन्डोनेसियाको बालीमा भएको इन्टरपोलको ८५ औं महासभाबाट चीनका मेङ होङवीई अध्यक्ष निर्वाचित भएपछिको पहिलो बैठक नेपालमा हुन लागेको हो। इन्टरपोलमा एक सय ९० देशका प्रहरी संगठन आवद्ध छन्। 

सम्मेलनले अन्तर्राष्ट्रिय आंतकवाद, मानव बेचबिखन, लागूऔषध र संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा रणनीति तयार गर्ने अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विज्ञानराज शर्माले जानकारी दिए। 

‘आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ’, उनले भने ‘लागूऔषध र बन्यजन्तुका अंगको कारोबारमा नेपाल ट्रान्जिट देशको रुपमा प्रयोग भइरहेकोले यिनै विषय उठाउने तयारी गरेका छौं।’

दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिनदेखि अफगानिस्तानको हेरोइन र चीनमा वन्यजन्तुको अंग नेपालको बाटो हुँदै युरोप जाने गरेकोले सम्मेलनमा कुरा उठाउन लागिएको उनले जानकारी दिए। इन्टरपोलका महासचिवले तयार गरेको मुख्य एजेण्डामा छलफल हुने पनि उनले बताए।

सम्मेलनमा विश्व भन्सार संघ, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रम, अन्तर्राष्ट्रिय आप्रवासी संगठन, आसियान सचिवालय र सार्क सचिवालयका प्रतिनिधीहरु सम्मेलनमा सहभागी हुनेछन्।

यसैगरी संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोग, आर्थीका समन्वय संगठन, इक्याप्ट इन्टरनेशनल, अष्ट्रेलियन विश्वविद्यालय, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधिहरु पनि सम्मेलनमा आउने कार्यक्रम रहेको छ। अमेरिका र फ्रान्सका प्रहरी प्रमुखका साथै अरेबियन मन्त्रिपरिषदका सदस्य र खाडी मुलुकका प्रतिनिधीहरु पनि सम्मेलनमा आउने एआइजी शर्माले जानकारी दिए।

सम्मेलनको सबै खर्च सम्बन्धित देशका प्रहरी अधिकारीहरुले नै बेहोर्नुपर्ने नियम छ। आयोजक राष्ट्रको हैसियतमा नेपालले खानाको पैसा मात्र बेहोर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.