|

रुकुम : जिल्लामा पछिल्लो समय व्यवसायिक रुपमा अलैचीको खेती गर्ने किसानहरु बढेका छन्। तर उत्पादनले उचित मुल्य नपाउँदा उनीहरु चिन्तित छन्। गत वर्ष २१ देखी २४ सय रुपैयाँ केजी सम्ममा बिक्री गरेका किसानहरुले यस वर्ष घटेर १२ देखी १३ सय रुपैयाँ प्रतिकेजी मुल्यमा अलैंची बिक्री गरेका छन्। 

जिल्लाका मुरु, चौखावाङ, चुनवाङ, स्यालापाखा र भलाक्चा लगायतका गाविसका किसानहरुले पछिल्लो समय व्यवसायीक रुपमा अलैची खेती गर्दै आएका छन्।अलैचीको मुल्य कम भएसंगै किसानहरु मर्कामा परेको स्थानीय बताउँछन्। उत्पादन भएको अलैची घरमै थन्किने अवस्था भएको मुरु–७, का लिले पुनले बताए। ३५ क्विन्टल अलैची उत्पादन भएको भएपनि राम्रो मुल्य नपाउँदा बजारमा बिक्रीका लागि नलगेको उनको भनाइ छ। 

रुकुममा उत्पादन भएको अलैचीको मुख्य बजार नेपालगन्ज, दाङ र भारत हो। यी बजारमा अलैचीको माग नभएको मुरु–२, रुकुमका ओविराम पुनले बताए  पुनले ३६ रोपनीमा अलैची लगाएका छन्। ‘कम दुःखमा पनि बढी आम्दानी हुने भएकाले सुरु गरेको हँु, बारीमै अलैची लिन आउने व्यापारीहरु अहिले पसलमै लिएर जाँदा पनि किन्दैनन्,' उनले भने।

राम्रो मुल्य नपाएपछि कृषकहरुले उत्पादित अलैची घरमै थन्काएर राखेका छन्। उनीहरु मुल्यवृद्धी हुने आशमा छन्। अलैचीको बजारीकरणका लागि सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ। यस वर्ष जिल्लाको १६ हेक्टर क्षेत्रफलमा भएको खेतीबाट १४ मेट्रिकटन अलैची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्राविधिक सहायक रेशम न्यौपानेले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.