|

बागलुङ : बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यको लागि शनिबार सम्पन्न उप निर्वाचनमा १० उम्मेदवार मैदानमा थिए। दुई स्वतन्त्रसहित ८ राजनीतिक दलहरूका तर्फबाट उम्मेदवार बनेका मध्ये २ जनाको मात्रै जमानत रकम जोगिएको छ।

साझा वाम गठबन्धनबाट उम्मेदवार बनेर बिजयी भएका खिमबिक्रम शाही र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जित शेरचनले मात्रै जमानत जोगाए। बाँकी आठै जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको ३ प्रतिशत ल्याउनै पर्छ। निर्वाचन ऐनमा उल्लेख भएअनुसार जम्मा सदर मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत जफत हुन्छ। 

जमानत जोगाएका बिजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए। मत परिणाम अनुसार तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार बिकले ३१६ मत प्राप्त गरे तर जमानत जोगिएन्। उनको भन्दा बदर मत संख्या धेरै रहेको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन्। 

३५ हजार १८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४ सय मत खसेको थियो। जस मध्ये २० हजार ९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागलुङकै बडिगाड गाउँपालिका२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन र उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका डलबहादुर रानाले ४१२ मत प्राप्त गरेका छन्। 

वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरिलाल रानाले ६ मत प्राप्त गरे भने १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १ हजार ७४२ जना मतदाता रहेको वडामा १ हजार १३४ मत खसेको थियो।  

वामको त्रास राहतमा परिणत

मनोनयन दर्ताका बेला पार्टीले गरेको वाम तालमेलबाट असन्तुष्ट रहेका नेकपाका नेता शेरमान घर्तीले उम्मेदवारी दर्ता गराए। प्राविधिक कारणले समयमा उनको उम्मेदवारी फिर्ता हुन नसक्दा कायम रह्यो। पछि पत्रकार सम्मेलन गरेर छुट्टै जिल्लाको मागसहितको शर्तमा उनले खिमबिक्रम शाहीलाई सघाए। तर उनको चुनाव चिन्हको व्यापक प्रचार भइरहेको हल्ला आयो। चुनाव चिन्हको दुरुपयोग र पार्टीको निर्णय बिपरितका कार्य गरेको भनेर नेकपाले दुई नेता तुलशीराम अर्याल र ददिराम अर्याललाई कारवाही गर्‍यो। 

कारवाही पछि शेरमानले पाएको चुनाव चिन्ह क्लिपको खुलेयाम प्रचारमा लागेका उनीहरूले एकसय भोट समेत उक्त चिन्हमा पार्न सकेनन्। पश्चिमा प्रभावशाली मानिएका दाजुभाइ खुलेआम प्रचारमा लागेपछि नेकपा-राजमो गठबन्धनलाई टाउको दुखाइको विषय बनेको थियो। तर गठबन्धनले आन्तरिक रुपमा आँकलन गरेको मत भन्दा निकै कम मत क्लिप चिन्हमा गएपछि अहिले नेकपाका नेताहरू राहतको महशुस गरेका छन्। अर्याल दाजुभाईले निर्वाचन आचार संहिता बिपरित टि–सर्ट, टोपी बनाएर लागेको प्रचारले समेत मात्रै ९५ मत बटुल्यो। 

वडामा दोस्रो भएका प्रदेशमा तेस्रो

प्रदेसभा सदस्यको लागि भएको उप निर्वाचनमा मत परिणम अनुसार तेस्रो बनेका  समाजवादी पार्टीका अशोककुमार बिक २०७४ को आम निर्वाचनमा ढोरपाटन नगरपालिका १ को वडाअध्यक्षका उप बिजेता हुन्। नेपाली कांग्रेसबाट दुई वर्ष अघि वडा अध्यक्षमा चुनाव लडेका बिक तत्कालीन माओवादी केन्द्रका चित्रबहादुर भण्डारीसँग पराजित भएका थिए। 

भण्डारीले २५० मत ल्याउँदा बिकले १९१ मत ल्याएर उप–विजेता बने। ६६२ मत खस्दा १९१ लाएका बिकले २१ हजार ४ सय मत खस्दा भने ३१६ मत प्राप्त गरे।प्रतिशतका हिसावमा यो निकै थोरै मत हो। बिचार फेरेर मैदानमा उत्रिएका बिकले उनी आफैँले आँकलन गरेको जति मत समेत पाएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.