|

तनहुँ : चितुवाको आक्रमण बढेसँगै तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको पासो बनाइएको छ। निर्माण गरिएको काठको पासो अहिले प्रभावकारी बन्दै गएको छ।

दैनिक जसो चितुवाको आक्रमणले बालबालिकाको ज्यान लिन थालेपछि चितुवा नियन्त्रणका लागि परम्परागत काठको पासो निर्माण गरिएको हो। एक महिनामा तीन वटा चितुवा परम्परागत खोरमा परी नियन्त्रणमा आएको छ।

कात्तिक १५ गतेदेखि मंसिरको १५ गतेसम्ममा दुई वटा पोथी र एउटा भाले चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकत केदार बरालले जानकारी दिए। उनका अनुसार कात्तिक २६ मंसिर ८ र १५ गते गरी तीन चितुवा नियन्त्रणमा आएको छ। 

नियन्त्रणमा आएका चितुवालाई एउटालाई रुपन्देहीको शंकरानगरस्थित प्राणी उद्यान, तिनैवटा चितुवा चितवन राष्ट्रिय निकुञ्ज र रुपन्देहीको बुटवलस्थित मणिमुकुन्दसेन मिनी चिडियाखानामा स्थानान्तरण गरिएको प्रमुख बरालले बताए। परम्परागत पासो अहिले प्रभावकारी बनेको उनको भनाई छ। भाले चितुवा भन्दा पोथी बढी हिंस्रक हुने प्रमुख डिभिजन वन अधिकृत बरालले बताए।

‘परम्परागत चितुवाको पासोले अहिले भानुवासीको त्रास कम गरेको छ। भानु नगरपालिका निवासी मनबहादुर रानाले निर्माण गरेको पासोमा आइतबार बिहान फेरि एउटा पोथी चितुवा नियन्त्रणमा आएको छ’ बरालले भने। आइतबार पासोमा परेको चितुवा करिव १० वर्ष र ५० किलोग्राम तौल भएको पोथी नियन्त्रणमा आएको उनलेब ताए। बालबालिकालाई आक्रमण गर्ने पोथी चितुवा नै नियन्त्रणमा आएको हुनसक्ने अनुमान उनको छ। 

काठको खोरमा परेको चितुवालाई वन कार्यालयको फलामे खोरमा सारेर चितवन राष्ट्रिय निकुन्जमा पठाइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। यस अघि पनि उक्त नगरपालिकामा राखिएका परम्परागत काठको खोरमा परेका २ वटा भाले र २ वटा पोथी चितुवा पासोमा परेका थिए। त्यस क्षेत्रमा चितुवा धेरै हुन सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरिएको छ।

चितुवाको आक्रमणमा परी भानु नगरपालिकाका ६ जना बालबालिकाको ज्यान गइसकेको छ भने ४ जना घाइते भएका छन्। नगरपालिका १, २, ३ र ४ नम्बर वडाका विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको पासो निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.