|

काठमाडौं : प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहमा भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। ३७ जिल्लाको ५२ पदमा भएको निर्वाचनमा अहिलेसम्म एक प्रदेशसभा र अधिकांश वडाध्यक्षको मत परिणाम आइसकेको छ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको मत परिणामअनुसार सत्तारूढ दल नेकपालाई नै धक्का पुगेको देखिन्छ। तर, शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेसले सरकारले सभ्य रूपमा निर्वाचन गराउन नसकेको भन्दै विज्ञप्ति प्रकाशित गरेको छ।

धाधली भएको भन्दै कांग्रेसको विज्ञप्ति

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘निवार्चन स्वतन्त्र, निष्पक्ष, भय र धाधलीरहित रुपमा सम्पन्न गर्ने जिम्मेवारी सरकारको हो। नेपाली कांग्रेसले विगतमा आफ्नो पराजय आँकलन गरिरहँदासमेत निष्पक्षरूपमा सम्पन्न गरायो।

तर,  वर्तमान सरकारले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र धाधलीरहित गर्न दुखद भएको र निर्वाचनमा सरकारी सवारीसधानको प्रयोग, सत्ता संरक्षणका लागि भौतिक आक्रमण, अनेक भय र प्रलोनप्रति घोर आपत्ति जनाउँछ।’

कांग्रेसको नजरमा सम्रमा उपनिर्वाचनमा सरकारले पूर्ण रुपमा असहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ। यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारले आफ्नो पार्टी विजयी गराउन सरकारी दुरुपयोग गरेको बेलामा निर्वाचन आयोग, मतदाताहरूले गरेको सहयोगको आभार प्रकट गरेका छन्।

किन आत्तियो कांग्रेस?

उपनिवार्चनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्तिएर विज्ञप्ति प्रकाशित गरेको भए पनि नतिजा कांग्रेसकै पक्षमा बलियो देखिएको छ। त्यसको दरिलो उदाहरणका रुपमा प्रदेशसभाअन्‍तर्गतको भक्तपुर १ (क) लाई लिन सकिन्छ।

पार्टी एकतापछि नेकपा र कांग्रेसबीच भएको निर्वाचनमा कांग्रेस विजयी भएको छ। सो क्षेत्रमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनी १३ हजार ४ सय ४८ मत ल्याएर विजयी भए। नेकपाका उम्मेदवार  डिपी ढकालले ११ हजार २ सय ६ मत मात्र ल्याए। भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तर पराजित गरे।

यो क्षेत्रमा यसअघि तत्कालीन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ विजयी भएका थिए। निर्वाचित सांसदको निधनपछि अहिले उपनिर्वाचन भएको हो। नेकपाले अहिले उम्मेदवार बनाएका ढकाल वाम गठबन्धनतर्फबाट उम्मेद्वार बनेका थिए।

प्रचण्डको गृहजिल्लामै नेकपा पराजित

यस्तै, नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा भएको तीनवटा वडामा समेत नेकपा पराजित भएको छ। समग्रमा ४३ स्थानमा भएको  वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाले २२ वडा र कांग्रेस १२ वटा वडामा विजयी भइसकेको छ भने बाँकीको मतगणना जारी छ। समग्रमा उपनिर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बलियो नतिजा आएको भन्न सकिन्छ।

नेकपालाई सोचेजस्तो नतिजा आएन 

उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत आउन सकको छैन। ४३ वडामध्ये अहिलेसम्म  २२ वडामा मात्रै नेकपा विजयी भएको छ। भक्तपुरमा भएको प्रदेशसभाको निर्वाचनमा पनि नेकपा पराजित भएको छ। धरान उपमहानगरपालिकामा समेत नेकपाले सोचेजस्तो मत ल्याउन सकेको छैन।

धरानमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग मतान्तर बढाउँदै लगेको छ। सुरुवाती गणनामा मात्र लिड गर्ने अवसर पाएको नेकपा यो समाचार तयार पार्दासम्मको पछिल्लो मतपरिणामअनुसार कांग्रेससँग ७ सय ४५ को मतले पछि परेको छ।

धरानको अहिलेसम्म १४, १६, १७, १८, १९ र २० वडाको १६ हजार १ सय ६८ मत गणना भइसकेको छ। नेपाली कांग्रेसका तिलक राईले ७ हजार ९ सय १५ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ७ हजार १ सय ७० मत ल्याएका छन्।

पार्टी एकता भएको लामो समय बितिसक्दासमेत नेकपाको पार्टी एकताको विषय जनमानसम्म पुग्न नसकेको आँकलन गर्न थालिएको छ। पूर्व एमाले र माओवादीबीच पार्टी एकता भएको लामो सयम बितिसक्दासमेत नेकपा कमजोर देखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.