कपिलवस्तु : जिल्लामा पहिलोपटक विवाह पञ्चमी महोत्वस धुमधामका साथ मनाइएको छ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र सीताबीच विवाह भएको दिनको सम्झनामा हरेक वर्ष जानकी मन्दिरमा विवाह पंचमी पर्व मनाउने गरिए तापनि पहिलो पटक कपिलवस्तुमा पनि महोत्सव मनाइएको हो।
सदरमुकाम तौलिहवास्थित बालमन्दिरबाट वाजा गाजाका साथ राजा दशरथ, रामलक्षण र हनुमानको रथ तौलिहवा नगर परिक्रमा गरी पुनः बाल मन्दिरमा प्रभु श्रीरामको बिबाह उत्सव कार्यक्रमको आयोजना गरिएको छ। सोही स्थानमा वैदिक परम्पराअनुसार राम र सीता बीच वैवाहिक कार्यक्रम सम्पन्न गरिएको आयोजक समितिका अध्यक्ष बृजेश भट्टराईले बताए।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जिल्लाका विभिन्न भागका साथै भारतको विभिन्न स्थानवाट सयौं श्रद्धालु तौलिहवा पुगेका छन्। राष्ट्रिय हिन्दु परिषद् नेपाल र दुर्गा पूजा समिति कपिलवस्तुको संयुक्त आयोजनामा विवाह पञ्चमी महोत्सव संचालन गरिएको हो।
कार्यक्रममा राष्ट्रिय हिन्दु परिषद् भारतका रजनी ठकुरज, भारतका लागी नेपाली पूर्व राजदूत दीपकुमार उपाध्याय, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह, दानबहादुर चौधरी, रविन्द्र मिश्र, वीरेन्द्र चौधरी, सुधाकर पाण्डेय, राजु अर्याल लगायतको सहभागिता रहेको थियो।
जिल्लामा पहिलो पटक विवाह महोत्सव मनाइएकाले सदरमुकाममा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न विद्यालयका विद्यार्थी, सुरक्षाकर्मीलगायतले समेत रथसहितको र्यालीमा सहभागिता जनाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।