स्थानीय भन्छन् : करको दायरा बढाएकाले असर पर्‍यो

|

कृष्ण बहाब भट्टराई/रमेश पराजुली

सुनसरी/काठमाडौँ : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सबै ठाउँको सार्वजनिक भइसकेको छ। विभिन्न कारणले ३७ जिल्लामा रिक्त भएको ५२ पदका लागि निर्वाचन भएको छ। उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोचेजस्तो मत ल्याउन सकेन। 

कम्युनिष्ट पार्टीको लालकिल्ला मानिएको सुनसरीको धरान महानगरपालिकामा समेत कम्युनिष्ट पार्टी पराजित भयो। नेकपाका उम्मेदवारलाई प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे। 
कांग्रेसबाट विजयी भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक ०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए। 

३ हजार बढी मतले विजयी

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए। भने अहिले निर्वाचित भएका तिलकले १६ हजार १ सय २ मत ल्याएर पराजित भएका थिए। सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका तिलकले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछिको निर्वाचनमा आफ्नो ऐतिहासिक जित दर्ता गरेका छन्। 

०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा करिब ५ हजारको मतअन्तरले पराजित भएका तिलक अहिलेको चुनावमा पार्टी एकतापछि पनि करिब ३ हजार मतले विजयी भएका छन्। 

पराजयपछि नेकपामा तहल्‍का

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि आफ्नो जित सुनिश्चित गर्दै आएको नेकपाले आफ्नो गढमा पराजय व्यहोरेपछि नेकपाभित्र तहल्का पैदा भएको छ। तत्कालीन एमालेसँग मात्रै पराजित भएका कांग्रेसका तिलकले दुई पार्टीबीचको एकतापछि समेत आफ्नो जित दर्ता गरेपछि कांगेसले ऐतिहासिक जित दर्ता गरेको छ। 

अघिल्लो निर्वाचनको अंकगणितीय श्रपमा तुलना गर्दा पार्टी एकतापछि ३२ हजार १ सय ५५ मत नेकपाको हुन आउँछ। भने कांग्रेसको १६ हजार १ सय २ मत मात्रै देखिन्छ। तर, पार्टी एकता भएपछि भएको निर्वाचनमा नेकपाले अप्रत्यासित हार व्यहोरेको छ। 

२०१५ को आम निर्वाचनपछि अप्रत्यासित हार 
धरानलाई कम्युनिष्टको आफ्नो बलियो क्षेत्रको रुपमा दर्ज गर्दै आएको थियो। तर, २०१५ सालमा भएको आम निर्वाचनपछि हालसम्म धरानमा कम्युनिष्टले पराजय व्यहोरेको थिएन। धरान मात्रै नभएर कम्युनिष्टको पकट क्षेत्रको रुपमा आएपछि इटहरीलाई पनि एउटै क्षेत्रमा राखिएको थियो।

०१५ सालको पहिलो आम निर्वाचनमा नेपाल कांग्रेसको दिक्षायाम चौधरीले जितेपछि अहिलेसम्म कांग्रेसले सो क्षेत्रमा जित्न सकेको थिएन। त्यसैले कम्युनिष्ट पार्टीले सो क्षेत्रलाई आफ्नो गढको रुपमा लिएको थियो। 

पञ्चायती व्यवस्थामा समेत प्रगतिशील वामपन्‍थीहरूले जनपक्षीय नाममा निर्वाचन जित्दै आएको थियो। २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। तत्कालीन एमालेको अध्यक्ष मनमोहनको क्षेत्रमा समेत पार्टी एकतापछि पनि नेकपाले आफ्नो शाख जोगाउन सकेन।

२०४८ पछिका स्थानीय चुनावमा कम्युनिष्ट पार्टीले मात्रै जित्दै आएको थियो। २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङबो र २०७४ मा तारा सुब्बाले कम्युनिष्टबाट निर्वाचित भएका थिए।

सरकारको नराम्रो कामले पराजित बनायो : प्रकाश  राई
सरकारले राम्रो काम गर्न नसकेको कारणले गर्दा नै धरानमा समेत पराजितको परिणाम देखापरेको नेकपाका उम्मेदवार प्रकाश राई बताउँछन्। ‘केन्द्रीय सरकारबाट जनप्रेमी काम हुन नसकेपछि जनतामा नराम्रो छाप पर्‍यो, त्यसको प्रतिफल जनताले यहाँको निर्वाचनमा देखाए’ उनले भने ।

कम्युनिष्टको गुटमा समेत आफ्नो अप्रत्यासित हारको कारण पार्टीभित्र छलफल गरेपछि मात्र कारण भन्न सकिने निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेकपा जिल्ला सचिव रमेश बस्नेत बताउँछन्।

‘केन्द्रीय नेतृत्वको पार्टीलाई भन्दा फरक पार्टीलाई मत धराने जनताले दिँदै आएका छन्’ उनले भने, ‘यत्ति कारणले नै चुनाव हारेको हैन, पार्टीभित्र गहन छलफल गरेर यसबारेमा सत्य बाहिर ल्याएरै छाड्छौँ।’

२०४७ सालदेखि जित्दै आएको तत्कालीन एमालेले यस क्षेत्रमा जित्दै आएको ठाउँमा यति ठूलो पराजयले पार्टी एकताभित्र समेत शंकाको भाव पैदा भएको उनको ठम्याई छ। ‘पटकपटकको निर्वाचनमा रणनीतिक तरिकाले अघि बढ्ने भए पनि यसपटक नेकपा त्यहीँ चुकेको छ, केन्द्रीय नेतृत्वको ठीक उल्टो पार्टीलाई नेतृत्व दिने धराने जनताले यो पटक पनि त्यस्तै व्यवहार देखाएका छन्’ उनले भने।

कांग्रेसको मतले मात्र जितेका हैनौँ : तिलक राई
नवनिर्वाचित महानगर प्रमुख तिलक राईले आफू स्वयंले कांग्रेसको मतले मात्रै नजितेको बताएका छन्। ‘यो काग्रेसको मात्र होइन, जनताको जित हो। मलाई कम्युनिष्ट साथीहरूले पनि मत दिएर जिताएका छन्’ उनले भने। 

कांग्रेससहित कम्युनिस्ट मतादाताको भोटले जितेको राइले प्रतिक्रिया दिए। आफू सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

स्थानीय भन्छन् : करको दायरा बढाएकाले असर पर्‍यो

तत्कालीन स्थानीय निर्वाचनमा कार्यपालिका र नगरसभामै बहुमत ल्याएको नेकपा हारको अर्को कारण देखिएको स्थानीयहरूको चर्चा छ। बहुमत ल्याएको अवस्था जनताले अत्याधिक कर र विकाशको विषयमा चुप बसेको आरोप अहिले उपमहानगरको नेतृत्वलाई लागेको छ।

करको दर बढाएको कारण पनि बजारक्षेत्रमा नेकपाको मत कम आएको स्थानीय व्यवसायी मातृका नेपाल बताउँछन्। स्थानीय सरकारले करको दर बढाएकै बजार क्षेत्रबाट मत नआएकै कारणले गर्दा पनि नेकपाले हार व्यहोरेको उनको भनाइ छ। 

उपनिर्वाचनमा धरानको ग्रामीण इलाकामा राम्रै मत ल्याएको नेकपाले बजार क्षेत्रमा विरासत जोगाउन सकेको छैन। बजार क्षेत्रमा पर्ने वडाहरु १, २, ३, ८, ९, १०, ११, १२, १३, १४, १६, १८, १९ वडामा नेकपा कांग्रेसभन्दापछि परेको छ।

तर, साविकको विष्णुपादकुका र पाँचकन्यामा नेकपाले आफ्नो विरासत कायमै राखेको छ। साविकको विष्णुपादुका रहेको २० नं. वडा र साविकको पाँचकञ्या रहेको ४, ५ र ६ वडामा नेकपाले कांग्रेसलाईपछि पारेको छ। त्यस्तै, १७ र १५ नं. मा पनि नेकपाले कांग्रेसलाई झिनो मतलेपछि पारेका छन्। समग्र रुपमा हेर्दा कम्युनिष्ट पार्टीलाई ग्रामिण क्षेत्रको मत यतावत नै आएपनि बजार क्षेत्रबाट घात भएको देखिन्छ। 

कम्युनिष्ट नेताका दम्भ, जनमतलाई व्यक्तिगत फाईदाका लागि दुरुपयोग, कम्युनिष्ट नेताहरुमा बढ्दो सामन्त प्रवृति, कम्युनिस्टको संरक्षण पाएका कर्मचारीको चरम भ्रष्टाचार, विकासमा धरानको ओरालो गति जस्ता कारणले पनि नेकपाले निर्वाचनमा हारेको स्थानीयको भनाई छ। 

को हुन् तिलक राई?
नेपाली कांग्रेसभित्र धरानमा एक प्रचलित नाम हो तिलक राई। वि.स. २०३१ कात्तिक २ मा जन्मेका हुन्। २०४७ सालबाट तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका राईले नेपाली कांग्रेसका परिचित नेता बन्न सफल भए। 

०४७ सालबाट राजनीति सुरु गरेका राई २०५७ मा धरानको तरुण दल अध्यक्ष भए। त्यसको ५ वर्षपछि नेपाली कांग्रेस धरानको नगर सचिव बने। त्यस्तै, ०७२ मा नगर सभापति भएका थिए। धरानमा राईले ०५४ सालमा भएको निर्वाचनमा धरान १८ को सदस्य पदमा चुनाव हारेका थिए। त्यसपछि २०७४ सालमा भएको निर्वाचनमा समेत सोही महानगरपालिकामा पराजय व्यहोरेका थिए। र, अहिले सोही ठाउँमा सफल भएका छन्। 

राजनीतिसँग आफ्नो जातीय संस्था किरात राई यायोख्यामा समेत सक्रिय भएर लागे। उनी सो संस्थाको केन्द्रीय अध्यक्षसमेत बने। गल्फमा सौखिन राई नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष बनेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.