|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेको रात्रिकालीन व्यापारको बजार व्यवस्थापन गर्ने तयारी गरेको छ। महानगरपालिकाले खुल्ला स्थानको खोजी गरिरहेको छ।

महानगरभित्रको जुनसुकै वडामा भएको खाली जग्गालाई उपयोग गरी सुनधारा, रत्नपार्क र काठमाडौं मल अगाडिका फुटपाथमा राखिने रात्रिकालीन पसललाई उक्त स्थानमा स्थानान्तरण गर्ने महानगरको तयारी छ।

फुटपाथमा रहेका रात्रिकालीन व्यापारीलाई व्यवस्थापन गर्नलाई महानगरपालिकाले एक कार्यदल गठन गरेको छ। हरि कुँवरको संयोजकत्वमा उक्त कार्यदलको निर्माण गरिएको छ। एक महिनाभित्र कार्यदलले रात्रिकालीन बजार व्यवस्थित तरिकाले सञ्चालन गर्नलाई प्रतिवेदन पेस गर्नेगरी समिति निर्माण गरिएको हो।

फुटपाथमा रहेको बजारले पैदलयात्री र कार्यालय समयपछाडि घर फर्कनेको लागि असहज भएकोले फुटपाथको व्यापार व्यवस्थापन गर्न लागेको काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। एक महिनाभित्र प्रतिवेदन तयार गरेर रात्रिकालीन बजार व्यवस्थापन गरिने उनले दाबी गरे।

रात्रिकालीन बजारको व्यवस्थापनको लागि महानगरपालिका गम्भीर भएर लागेको कुँवरले बताए। उनले भने, 'मध्यम वर्गीय परिवारले यस्तो व्यापार सञ्चालन गरेका छन्। उनीहरूको आम्दानीको स्रोतलाई पनि व्यवस्थापन गर्न महानगरपालिकाको दायित्व हुन्छ।' रात्रिकालीन बजार सञ्चालन हुनु भनेको सहर जिवित रहेको आभाष दिलाउनु उनको उनले प्रष्ट पारे।

वैकल्पिक स्थान दिएर फुटपाथको व्यापारीलाई हटाउने तयारी गरेको उनले कुँवरले जानकारी दिए। नगर प्रहरी, महानगरका विभिन्न विभागसँग सहकार्य गरी फुटपाथ व्यापारीलाई व्यवस्थापन गरिने उनको भनाइ छ। व्यस्त सडकका फुटपाथका व्यापारीलाई व्यवस्थापन गरि पैदल यात्रुको सहजताको लागि महानगरले यस्तो अभियान थाल्न लागेको उनले बताए।

‘फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको हो,’ उनले भने, ‘व्यापार व्यवसायका लागि होइन। त्यसैले फुटपाथ व्यापारलाई हटाउने काम प्रभावकारी रुपमा हुन सकेको छैन अबको एक महिनाबाट यो अभियान सुरु हुँदैछ।’

खुला स्थानको व्यवस्थापन गरी यातायातको पहुँच हुने ठाउँको व्यवस्था गरिने उनले बताए। 'व्यापारीको लागि महानगरले व्यापारीको सामान ओसार्नको लागि यातायातको साधनको व्यवस्थापन गर्छ,' उनले भने।

ग्राहकले पनि सहज रुपमा त्यस्तो बजारको उपयोग गर्न सकोस् भनेर यातायातको सहज रूपमा उपलब्ध हुने ठाउँको छनोट गर्न लागेको उनले जानकारी दिए। महानगरभित्रका कलंकी,रत्नपार्क,न्यूरोड,बालाजु,कालीमाटी,कोटेश्वर,बानेश्वर,गौशाला लगायतका क्षेत्रमा फुटपाथमा व्यापार हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.