ठगी गरेको पाए कारबाही गर्छौं : ट्राफिक महाशाखा

|
फाइल फोटो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि उपत्यकामा जोरविजोर प्रणाली लागू भएकाले आइतबार सवारी पाउनै मुस्किल थियो। साँझको ६:१५ बजे चिसो हावाले यात्रुलाई बस कुर्न गाह्रो भइरहेको थियो। करिब २० जना यात्रु कमलपोखरीअगाडि बस कुरिरहेका थिए।

यत्तिकैमा रत्नपार्कबाट बा१ज ५७८३ को माइक्रोबस हुइकिँदै आएर ठ्याक्कै कमलपोखरी चोकमा रोकियो। सहचालकले झ्याल नखोल्दै भने, ‘गौशाला, चावहिल ल ल आउनुस, आउनुस्। कार्डमा चाहिँ नो डिस्काउन्‍ट।’ गाडी नपाएकाले पनि होला उक्त माइक्रोबसमै सबै चढे।

माइक्रो बसमा यात्रा गरिरहेकी सिर्जना खड्काले रातोपुल पुगेपछि सहचालकलाई आज किन कार्डमा छुट छैन भनेर प्रश्न गरिन्। सहचालकले भने, ‘आज धेरै गाडी चलेका छैनन्। कार्ड डिस्काउन्ट हुँदैन भनेर अघि नै भनेको हो।’ सहचालकको भनाईमा अर्का एक यात्रुले मुस्कुराउँदै बोले, ‘आज धेरै पैसा कमाउला भनेर होला नि एक दिन कमाउन दिऊँ न त।’ सहचालक भने चुचचाप लागेर यात्रुलाई मात्रै बोलाइरहे।

मौका छोपेर ठगी

खड्काले सवारीसाधनले मौका छोपेर सर्वसाधारणलाई लुट्ने गरेको आरोप लगाइन्। ‘जुन बेला गाडी पाएको हुँदैन त्यो बेला चालक र सहचालकले मौका पारी जनतालाई लुट्ने गर्छन्,’ उनले भनिन्,‘विद्यार्थी कार्डमा छुट दिएन। यस्ता ठग्नेहरुलाई सम्‍बन्धित निकायले कारबाही गर्नु नि।’

यस विषयमा कुरा उठाउँदा सवारी चालकले गाडीबाट झार्ने धम्की दिने गरेको उनले सुनाइन्। उनले भनिन्,‘अब आउने २४ गते पनि जोर नम्बर प्रणालीमा गाडी चल्ने भनेका छन्। त्यो बेला नि कार्ड डिस्काउन्ट नहुने होला।’

ट्राफिक प्रहरी महाशाखाले साग गेमको अवसरमा ट्राफिक जामलाई व्यवस्थापन गर्न जोरविजोर प्रणाली लागू गरेको हो। आइतबार भने विजोर सवारीसाधन मात्र चलेका थिए।

कति दूरीको भाडा कति?

यातायात व्यवस्था विभागले २०७५ साल असोज महिनामा सार्वजनिक गरेको नयाँ भाडादरअनुसार ४ किमिको १४ रुपैयाँ, ५ किमिको १६ रुपैयाँ, ६ किमिको १७ रुपैयाँ भाडादर कायम गरिएको छ।

त्यस्तैगरी  ८ किमिको भाडा दर,१८ रुपैयाँ,१० किमिको २१ रुपैयाँ,१३ किमिको २३ रुपैयाँ,१६ किमिको २५ रुपैयाँ र १९ किमिको २६ रुपैयाँ भाडादर कायम गरिएको छ। तर, सवारी चालक र सहचालकले तोकिएको भन्‍दा बढी यात्रुबाट पैसा असुल्ने गरेका छन्।

छुट नदिने सवारीलाई कारबाही गर्छौं : महाशाखा

जोरविजोर प्रणालीमा सवारीसाधनले विद्यार्थीलाई कार्ड छुट नदिएको पाइएमा कारबाही गर्ने महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता रविकुमार पौड्यालले बताए। ‘जोरविजोर प्रणालीमा बस व्यवसायीसँग कार्डमा डिस्काउन्ट नदिने कुनै निर्णय भएको छैन,’ उनले भने, ‘विद्यार्थी, ज्‍येष्ठ नागरिक सबैले कार्डमा डिस्काउन्ट पाउँछन्।’ विद्यार्थीलाई ठगेको पाएमा सवारीसाधनलाई कारबाही गर्ने उनले बताए।

उनका अनुसार विद्यार्थी वा ज्येष्ठ नागरिका कार्ड देखाएपछि ३३ प्रतिशत भाडा छुट हुन्छ। पौड्यालले भने, ‘केही दिन अघि कार्ड डिस्काउन्ट नदिएको उजुरी हामीकहाँ आएको थियो। छुट नदिने सवारीलाई कारबाही गरिसक्यौँ।’ उनले सवारीसाधनले यात्रुलाई बढी भाडा असुले वा कार्डमा डिस्काउन्ट नदिए तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्न अनुरोध गरे।

उपत्यकामा सागको १५ गते उद्घाटनका दिन विजोर प्रणाली लागू गरिएको र सम्पन्न हुने २४ गतेका दिन भने जोर नम्बरका सवारीसाधन चल्ने पनि पौड्यालले बताए। यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र मात्रै लागू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.