'एपेन्डिसाइटिस अचानक आइहाल्यो'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिति सुधार हुँदै गएको बताएका छन्। गत मंगलबार एपेन्डिसाइटिसको अपरेसनपछि पहिलो पटक भिडियो सन्देशमार्फत् सार्वजनिक भएका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

सामाजिक सञ्‍जाल ट्वीटरमार्फत् भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थिति सुधार हुँदै गएको बताएका छन्। उनले भिडियो सन्देशमा अस्पतालकै आईसियुबँट दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन हेरेको पनि बताएका छन्। 

'एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रुपमा त्यसै गरी आइलागेको हो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ', उनले भनेका छन्, 'त्यसमा मात्रै इन्फेक्सन भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यसकारण केही दिन हप्ता दश दिन उपचारको क्रम लाग्ने भयो।'

ओलीले आफ्नो स्वास्थ्य राम्ररी अघि बढिरहेको पनि उल्लेख गरेका छन्। 'मेजर अपरेसनपछि पनि मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ। सुधार भइराखेको छ। र, एउटा मेजर अप्रेसनपछि अब तपाईंहरुले मलाई देखि रहनु भएको छ', उनले भनेका छन्, 'एउटा मेजर अप्रेसनपछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु। र, समाचारहरु हेर्न सक्ने अवस्थामा छु।'

उनले आईसियुबाटै हिजो १३औं सागको उद्घाटन समारोह पनि हेरेको पनि जानकारी दिए। 'हुन सक्छ कि सक्दैन भन्ने द्विविधाबीच खेलकुद प्रतियोगिता भएकोमा मलाई खुसी लागेको छ', उनले भनेका छन्, 'राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागी भएकोमा धन्यवाद भन्‍न चाहन्छु। 

२ मिनेट ६ सेकेन्डको भिडियोमा प्रधानमन्त्रीले मेजर अपरेसनपछि पनि आफू उठेर बोल्न सक्ने भएको जानकारी दिएका छन्। ओलीले १३औं सागको उद्घाटन गरेकोमा  विद्यवादेवी भण्डारीलाई पनि धन्यवाद दिएका छन्। 

उनले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै मैत्रीपूर्ण खेलमार्फत् देशको इज्जत बढाउन पनि आग्रह गरेका छन्। 'अब मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु', उनले भनेका छन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.