|

  • पेमा लामा

काभ्रे : कातिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानीको ब्यवस्थापन गर्दैमा बित्छ। खानेपानी लिनका लागि उनी घण्टौसम्म लाइनमा बस्छिन्। 

‘धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घण्टा देखि डेढ घण्टा लाग्छ।’ बुद्धमाया भन्छिन्,‘सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा छ त्यहाँ,’ ‘हामी गाउँभरीका धारा एउटै मात्र छ, यसमा कस्ले मात्रै थाप्‍ने?’ उनले थपिन्,‘यही कारण घरको एक जनाको काम भनेको खानेपानी ओसार्ने मात्रै हो।’ 

भूकम्पका कारण गाउँमा भएको पुरानो पँधेरो सुकेपछि पानीको हाहाकार बढेको स्थानीयबासी बताउँछन्।‘गाउँमा पानी नै छैन, खानेपानी पनि दिनभरी लगाएर बोकेर पु¥याउनु छ।’ परियारले भनिन्, ‘खानेपानी त यस्तो समस्या छ, वस्तुभाउलाई पानी ख्वाउन पनि समस्या छ।'

परियारको घरमा चार जना छन्। उनसँगै छोरीहरु र सासुआमा। श्रीमान् विदेशमा भएको कारण घर बनाउनलाई पानी ओसार्न मान्छे नै नपाएको बताइन् । खानेपानी त यहीबाट जेनतेन पुर्‍याइरहेकी छु।’ भूकम्पका कारण उनको घर भत्किएको छ। तर पानीको अभावकै कारण उनले घर बनाउन नपाएको गुनासो गरिन्।

‘घर बनाउनलाई त पानी तल खोलाबाट नै ओसार्नु पर्छ। त्यहाँबाट पानी ओसार्न ३ घण्टा लाग्छ।’ बुद्धमायाले भनिन्।  विमला परियारको समस्या पनि उस्तै छ। विमला पनि बुद्धमायासंगै खानेपानी ओसार्ने गर्छिन्। ‘खानेपानीको अभावका कारण घर बनाउन सक्ने अवस्था छैन,’ विमलाले भनिन् ‘जाडो छ, बस्‍ने घर छैन। बनाउनलाई पानी पनि छैन, कसरी घर बनाउने?’ 

पानीको अभावका कारण गाउँको पुनर्निर्माणमा असर गरेको छ। भूकम्पका कारण यस गाँउका अधिकांश घर क्षतिग्रस्त छन्। पानीको समस्या समाधान गर्न अहिले स्थानीय चौरीखोला पाथिभरा लिफ्टिङ्ग तथा खानेपानी सरसफाई उपभोक्ता समिति गठन गरिएको छ।

समस्या समाधानका लागि समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष यादवराज गिरीले जानकारी दिए। ‘हामीले त्यसको लागि प्रति घरधुरी ३ हजार ५ सयका दरले रकम उठाएर काम थालेका छौ,’ गिरीले भने,‘केही महिनापछि पानीको समस्या थोरै भएपनि सुल्झाउन सकिन्छ भन्नेमा आशावादी छौं।’ 

उक्त खानेपानी लिफ्टिङ्ग प्रविधिको लागि सहयोग गरिरहेका जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक रामप्रसाद बरालले भने ‘यहाँ अहिले २ सय घरधुरीका वासिन्दाले यही एउटा धाराको पानी उपभोग गर्नुपर्दा धेरै समस्या खेप्नु परेको छ।’ अब केही समयपछि त्यो समस्याबाट केही हदसम्म मुक्ती मिल्नेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.