|

 काठमाडौं : त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ।

कूल बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म  एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छ्यौट गरिएको छ। गत असार मसान्तसम्ममा  ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उनले जानकारी दिए।

आव २०७३/०७४ सम्मको बेरुजु र १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको उनले प्रस्तुत गरेको बजेटमा छ। त्रिविले २०७५ चैतमसान्तसम्म एक अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छ्यौट गरेको थियो। 

रजिष्ट्रार उप्रेतीले आव २०७३/०७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए। त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ। 

त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ। आव २०६९/०७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा  १३ करोड पेश्की फर्छ्यौट भएको थियो। 

रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छ्यौटको कार्यलाई प्राथमिकतामा राखिने बताए। त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ। 

त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ। लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छ्यौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ। त्रिविका ९५ इकाइमध्ये १७ वटाले लेखापरीक्षण गराउन बाँकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.