नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाएका छन्।
सोमबार सानेपामा कांग्रेस नेता स्वर्गी भीमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन्।
पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउँदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसविरुद्ध प्रयोग गरेको पनि आरोप लगाए।
कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखी निर्वाचनमा धाँधली गरेको सभापति देउवाले बताए। कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतअन्तरले हराउँदै विजयी भएकी छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए।
निर्वाचनको नतिजाले जनता सरकार सँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत निर्वाचन परिणामले दिएको पौडेलले बताए।
कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताए। उता कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्ने बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।