|
फोटो : गोली प्रहारपछि भयभित युवतीहरु\ AP

एजेन्सी : अमेरिकी अश्वेत नागरिक अधिकार आन्दोलनका एक सशक्त प्रणेता तथा नामाकरण संस्कारका इसाई दीक्षागुरु (बाप्टिस्ट मिनिस्टर) मार्टिन लुथर किङ्ग जुनियरको वार्षिक स्मृति दिवश हिंसाको चपेटामा परेको छ। 

'एमएलके डे परेड' भनी परिचित यस स्मृति दिवसका दिन अमेरिकामा राष्ट्रिय बिदा दिइन्छ। राष्ट्रिय बिदाका दिन मियामीको लिबर्टि सिटीको निकटस्थ मार्टिन लुथर किङ्ग जुनियर मेमोरियल पार्कमा स्मृति दिवस मनाउन शान्तिपूर्वक भेला भएका सयौँ नागरिकमाथि अचानक जथाभावी गोली प्रहार हुँदा कोलाहल र हाहाकार मच्चिन गयो। 

गोली प्रहारको आवाज आउनासाथ भेला भएका मानिसहरू भयभित भै यत्रतत्र भागाभाग गर्न बाध्य भए। यस गोलीकाण्डमा परी ११ देखि ३० वर्ष उमेरका आठजना घाइते भएका मियामी प्रहरीले जनाएको छ। 

घटनास्थलबाट तत्कालै केहीलाई नियन्त्रणमा लिइएकोमा दुईजना शङ्कास्पद ब्यक्तिलाई सोधपुछ गरिरहेको मियामी प्रहरी गुप्तचर विभागका अधिकारी डेनियल फेरिनले बताए।

स्थानीय पत्रिका दि मियामी हेराल्डले जनाएअनुसार यस 'एमएलके डे परेड' वार्षिक स्मृति दिवस सन् १९७० देखि नै मनाइँदै आएको छ। यस दिवसका दिन मानिसहरू एमएलके मेमोरिएल पार्क तथा वरपरका सडकमा जम्मा भै पहिला नागरिक अधिकारका अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरको स्मरण गर्ने, उनलाई श्रद्धाञ्जलि दिने, तत्पश्चात् त्यस जमानाका पुराना सङ्गीत सुन्ने, बार्बेक्यू खानाको परिकारको स्वाद लिनेजस्ता मनोरन्जनमा रमाई बिदाको दिन व्यथित गर्ने गर्छन्।

फोटो : १९६३ मा वासिङ्टनमा आयोजित सभामा हजारौंलाई सम्बोधन गर्दै मार्टिन लुथर किङ्ग

मार्टिन लुथर किङ्ग जुनियर एक इसाई दीक्षा गुरु अर्थात् तथा इसाई नामाकरण संस्कार (न्वारान) का धर्मगुरु (बाप्टिस्ट मिनिस्टर) र सामाजिक अभियन्ता थिए। सन् १९५० को मध्यदेखि मृत्यु पर्यन्त उनले अमेरिकामा अश्वेत नागरिक अधिकार आन्दोलनको नेतृत्व गरे। सन् १९६८ मा बौलाहाजस्तो एकजना श्वेत सन्काहा व्यक्तिले गोली प्रहार गरी उनको हत्या गरेको थियो। 

हिंसामा कहिले पनि विश्वास नराख्ने तथा वक्तृत्व कलामा निपुण किङ्गसँग जनतालाई आफ्नो भाषणमार्फत् जनतालाई उत्तेजित पार्ने एक प्रकारको अनौठो शक्ति थियो। सन् १९२९ जनवरी १५ मा जर्जिया राज्यको प्रान्तीय राजधानी एट्लान्टामा जन्मिएका किङ्ग पछि गएर इसाई नामाकरण संस्कार (न्वारान) का धर्मगुरु (बाप्टिस्ट मिनिस्टर) र नागरिक अभियन्ता भए।

उनले अमेरिकी अश्वेत तथा श्वेत नागरिकहरूबीच अन्तर्जातीय सम्बन्धमा विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९५० देखि आफ्नो मृत्यु पर्यन्त नागरिक अधिकार आन्दोलनको नेतृत्व गरे।  आन्दोलनकै क्रममा उनले गरेका थुप्रै प्रयासहरूमध्ये साउदर्न क्रिश्चियन लिडरसिप कन्फरेन्स नामक एक सङ्गठनको स्थापना पनि पर्दछ। अमेरिकामा तत्कालीन कानुनीस्तरबाटै गरिने जातीय रङ्गभेद (काला हब्सी र रैथाने अमेरिकीबीच गरिने भेदभाव) को जमेर विरोध गर्ने आन्दोलनको अगुवाई गरेका हुँदा अफ्रिकी मूलका लाखौँ अमेरिकी नागरिकहरू उनका अनुयायी थिए। 

उनले नेतृत्व गरेको सामाजिक आन्दोलन सफल हुँदै गई सन् १९६४ मा सबै नागरिकलाई समान अधिकार दिलाउने कानुन (सिभिल राइट्स एक्ट–१९६४) तथा अश्वेत नागरिकले पनि अन्य अमेरिकी नागरिक सरह मतदान गर्न पाउने अधिकार (भोटिङ्ग राइट्स एक्ट–१९६५) लागू भएको थियो। सन् १९६४ मा किङ्ग नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुनुका साथै उनी अन्य धेरै उल्लेखनीय पुरस्कारका विजेता बने। 

यसरी मार्टिन लुथर किङ्ग जुनियरलाई आज पनि अफ्रिकी मूलका करोडौँ अमेरिकी नागरिकले काला जातिलाई समान हक र न्याय दिलाउने प्रभावशाली तथा जनउत्प्रेरक ऐतिहासिक नेता मानी श्रद्धा गर्दै उनको वार्षिक स्मृति दिवस मनाउँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.