|

धनगढी : माघको चिसोमा पनि बिहान साढे पाँच बजे उठ्छिन् जानकी। नित्यकर्म गरेर तीन वर्ष पुग्नै लागेको छोरालाई खाजा बनाउँछिन्। छोरालाई खाजा खुवाएर ई रिक्साको अगाडिको सिटमा सुताउँछिन्। त्यसपछि हुन्छ उनको धनगढी बजारको यात्रा।

धनगढीकी जानकी महरा रातो रङको ई रिक्साको अगाडिको सिटमा फलामको डन्डीले बच्चा नलड्ने गरी बनाएको एंगलमा छोरा सुताउँछिन्। त्यसमाथि तातोपानी र दूधको थर्मस छ। दिनभरको यात्रा बोराडाँडीदेखि भन्सार, भन्सारदेखि क्याम्पसरोड अनि हसनपुर हुँदै तारानगर उत्तरबेहडी ओहोरदोहोर गरिरहन्छिन् उनी।

धनगढी उपमहानगरपालिका ४ बोराडाँडीमा भाडामा बस्ने जानकी डँडेल्धुराको जोगबुडा गाविसको कटालबाट तराई झरेको सात वर्ष भयो । पहाडी भूभागमा जन्मिएर तराई आउनेबित्तिकै उनले ड्राइभिङ सिक्ने चाहना गरिन्।

जोगबुडाकै महेश महरा बसका चालक हुन्। उनीसँग विवाह भएपछि जानकी तराई झरिन्। श्रीमान्कै प्रेरणाले धनगढीमा रहेको दिवस ड्राइभिङ सेन्टरमा 'फोरह्विल' गाडी चलाउन सिकेकी उनले चालक अनुमतिपत्र लिएको पनि चार वर्ष भइसकेको छ। लाइसेन्स लिएपछि जानकीको जोश निरन्तर बढ्दै गयो।
धनगढीको सिड्लिङ जोन स्कुल र बालबाटिका मन्टेस्सरी स्कुलको भ्यान चलाइसकेकी छन् उनले। अहिले उनी मयूर बोर्डिङ स्कुलको भ्यान चलाउँछिन्। 'सात/आठ हजार रुपैयाँमात्र तलब आउने र त्यसबाट घर धान्नै समस्या हुन थालेपछि ई रिक्सा चलाउन थालेकी हुँ', उनीले भनिन्।

बिहान ६ देखि साढे ८ बजेसम्म ई रिक्सा चलाउँछिन् उनी। साढे ८ बजेदेखि १० बजेसम्म स्कुलको भ्यान र त्यसपछि १० देखि साढे दुई बजेसम्म पुनः ई रिक्सा चलाउने उनी घर पुग्दा रातको आठनौ बजिसक्छ। जानकीका श्रीमान् महेश पनि सुदूरपश्चिम यातायातको बसका चालक हुन्। केही महिनाअघि महेशको खुट्टामा बसको सिसा खसेर गहिरो चोट लागेको छ। उनको धनगढीमा उपचार हुन नसकेर आफन्तले काठमाडौं लगेका छन्।

'श्रीमान्को उपचारका लागि खर्च पठाउनुपर्छ, घुँडामुनिको नसा काटिएको छ, धनगढीको अस्पतालमा गरेको अपरेसनले राम्रो नभएपछि काठमाडौं पठाउनुपरेको हो', जानकीले भनिन्। सासूससुरा जोगबुढामै बस्छन्। 'गरे असम्भव केही छैन। यस्तो गर्नुको विकल्प पनि देख्दिनँ', उनले भनिन्। जानकीको दिउँसोको खाना बजारमै हुन्छ। छोरालाई पनि बजारमै खाना खुवाउँछिन्। 'कहिलेकहीं छोराले अब म रिक्सामा जान्नँ भन्छ । बल्लबल्ल भुलाउनुपर्छ', उनले भनिन्।

- अन्नपूर्ण पोस्टबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.