|

पोखरा : १३ औं संस्करणको साग खेलकुदअन्तर्गत ह्याण्डबल खेल शुरु भएको छ। आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन्। उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन्। त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरिन्। कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे। बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन्। त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए। हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे। उमासिका र चानिकले समान १ गोलको योगदान दिए।

विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन्। त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए। श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन्। लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन्।

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो। तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए। टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए। उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे। नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो।

नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए। श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए।  

भारतसँग माल्दिभ्स  ४१–९ गोलले स्तब्ध

त्यस्तै, साग अन्तरगतकै दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४१–९ को फरक गोल अन्तरले हरायो। भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे। भारतका लागि खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४ गोल गरे।

ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे। प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गरे।

उता, माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे। हालिमिथ हान्साले २ गोलको योगदान गरिन्। धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे।

भारतीय मेनिका र दीपशिखालाई रेफ्रीले पहेंलो कार्ड देखाए। निधि शर्मा, स्वर्णिमा जैसवाल ज्योति शुक्ला, उमा र सान्थिया कुमारले दुई मिनेट खेल्न पाएनन्।

त्यस्तै, माल्दिभ्सका एैसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमदले पहेंलो कार्ड पाए। फाथिमाथ फैरुजा आदम, जुलैखा इब्राहिम र राफाह इब्राहिमले दुई मिनेट खेल्न पाएनन्। खेलको १६ मिनेटमा माल्दिभ्सकी नास्फा अमिराले रेडकार्ड खाँदै मैदानबाट बाहिरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.