|

ताप्लेजुङ : पाक्ने वेला भएका सुन्तला भटाभट झर्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका-२ का दुर्गा न्यौपाने चिन्तित बनेका छन्। दानामा औँसा परेर सुन्तलाको बोटै खाली हुन थालेपछि उनमा चिन्ता बढेको हो।

उनले विगत ८/१० वर्षदेखि व्यावसायिक सुन्तला खेती गरिरहेका छन्। करिब महिना दिनयता हरेक बोटबाट दैनिक एक किलोभन्दा बढी सुन्तला पहेँलो भएर झर्ने गरेको उनले बताए। उनले भने, ‘यसरी पाक्ने बेला भएको सुन्तला भटाभट झरिरहेको छ, कसरी औँसा नियन्त्रण गर्ने भन्ने चिन्ता छ।’

उनले गत वर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको सुनाए। तर, यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको उनले भनाइ छ। उनले भने, ‘कहिले असिनाले झार्छ, कहिले औँसा पर्छ।’ उनको बगैँचामा एक सयभन्दा बढी सुन्तलाका बोट छन्।

सुन्तलामा औँसा पर्ने समस्या उनको मात्रै होइन। बिक्रीका लागि बजारको बन्दोबस्ती गर्दै गरेका किसान बोटबाटै सुन्तला झर्न थालेपछि समस्यामा परेका छन्।

फुङ्लिङ नगरपालिकाका अधिकांश ठाउँमा सुन्तला झर्ने समस्या व्याप्त रहेको छ। ‘समय नै यस्तै होकी, माटो पो बिग्रेको होकी, सुन्तला पनि झरेरै सकिन लाग्यो, अलैँची पनि फल्दैन्’ अर्का कृषक गोमा न्यौपानेले भनिन्,‘ न सबै फ्याँक्नु न के गर्नु, हाम्रो आयश्रोत भनेको यीनै थिए। तर सबै काम लागेनन्।’

विगतका वर्षहरुमा १० मन (४० केजी) फल्ने अलैँची बगानमा यस वर्ष एक मन मात्रै अलैँची फलेको उनको भनाइ छ। यता दैनिक जसो अलैँचीको मूल्यमा पनि गिरावट आइरहेको छ। यस्तै किराका कारण सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा संक्रमण फैलिएको छ।

बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा भएकाले झरेका फल व्यवस्थित तरिकारे व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङकी प्राविधिक सहायक सिर्जना बलयकोटीले बताइन्।

औँसा नियन्त्रण चुनौतीपूर्ण बन्दै

कार्यालयले किसानलाई झरेका फल बाक्लो प्लास्टिकको थैलोमा जम्मा गरी थैलोको मुख हावा नछिर्ने गरी बन्द गरी त्यसमा रहेका औँसाका लार्भा मार्ने आह्वान गरेको छ। झरेका फलको औँसा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तला खेती लोप हुने जानकार बताउँछन्।

पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको अर्का कृषक दुर्गा न्यौपानेले बताए। दुई वर्षदेखि सुन्तला झर्ने समस्या देखिएको र रोग पहिचानमा ढिलाइ भएका कारण रोगथाम प्रभावकारी बन्न नसकेको उनले बताए।

रोकथामको उपाय के?

बर्सेनि बढ्दै गएको औँसा किराको प्रकोपलाई तत्काल नियन्त्रण गर्न नसके आगामी वर्ष सम्ममा जिल्लाका सबै स्थानमा यसको प्रकोप फैलने जोखीम रहेको कृषि प्राविधिकको प्रक्षेपण छ। त्यसैले सम्पूर्ण सरोकारवाला पक्षले औँसा किराको प्रकोप नियन्त्रणका लागि किरा लागेर झरेका फल नै व्यवस्थापन गर्नु उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन्।

‘यसको नियन्त्रणका लागि अहिलेको सिजन (फल झरिरहेको समय) मा झरेका फलहरुलाई संकलन गरि गहिरो खाल्डो खन्ने र त्यहाँ सुन्तलालाई राखी दुई फिट सम्म माटोले पुर्नुपर्छ’ कृषि प्राविधिक बयलकोटीले भनिन् ‘यसो गर्नाले त्यो लार्भा जमिनमा आउन पाउँदैन।’

उनका अनुसार यस किराको प्रकोपलाई विषदीको प्रयोग गरेरभन्दा जैविक माध्यमवाट प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। यस्तै झरेका सुन्तलालाई पानीमा किरा नष्ट हुनेगरि उमाल्नु पनि अर्को विकल्प हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.