अध्यक्ष पदमा साहेवाला र पनेरु भिड्दै

|

भद्रपुर : झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिवबाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा खडकबहादुर लिम्बू, एशोसिएट्स—वस्तुगत उपाध्यक्षमा प्रज्जवल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पङ्कजकुमार शर्मा र कोषाध्यक्षमा भास्कर शर्मा निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै कांग्रेस प्यानलबाट महिला सदस्यहरू  कमला दुवाडी, शिला तामाङ र सीता ढकाल निर्विरोध निर्वाचित भएकी छिन्।

त्यसैसरि खुल्ला सदस्यहरूमा राजकुमार राई, गोपीप्रसाद न्यौपाने, भोजराज सेढाई, रमेश श्रेष्ठ र रवि शंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार सुरज कसेरा साहले खुल्ला सदस्य पदको मनोनयन दर्ता फिर्ता लिएपछि राप्रपाका राईसहित खुल्ला सदस्य पाँच जना निर्वाचित भएका हुन।

यी निर्वाचित पदहरूमा राप्रपा र नेकपाले सहमति जनाएको कारणले उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका अधिकृत सुरज खत्रीले जानकारी दिए। निर्वाचित हुने पदहरूमा कांग्रेसको वर्चस्व रहेको छ।

अध्यक्ष पदमा साहेवाला र पनेरु भिड्दै

तीन वर्षीय कार्यकालको नयाँ नेतृत्व चयनका लागि जिल्ला संघको कार्यालयमा बुधबार भएको उम्मेदवार मनोनयन दर्तामा अध्यक्ष, उद्योग सचिव र सात सदस्य पदमा उम्मेदवारी परेको छ।

कांग्रेसका प्यानलबाट अध्यक्षमा अजय साहेवाला र राप्रपा प्यानलबाट नवराज पनेरुले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। युवा व्यवसायी साहेवाला कांग्रेसका सक्रिय कार्यकर्तासँगै संघका वर्तमान उद्योग सचिव हुन्।

संघका वर्तमान अध्यक्षसमेत रहेका पनेरु राप्रपाका क्षेत्रीय सभापति हुन्। त्यस्तै उद्योग सचिवमा कांग्रेस प्यानलबाट सञ्जय श्रेष्ठ र नेकपा प्यानलबाट लक्ष्मण जमरकट्टेलले उम्मेदवारी दिएका छन्। श्रेष्ठ र जमरकट्टेल संघको जिल्ला कार्य समिति सदस्य हुन्।

कांग्रेससँग तालमेल मिलेन

शुक्रवार हुने संघको निर्वाचनका लागि उम्मेदवार उठाउने विषयमा नेकपा र कांग्रेसले संयुक्त प्यानल बनाएर निर्वाचन लडने कसरत गरेको थियो। बुधवार अन्तिम समयमा आएर नेकपाले वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स—वस्तुगत उपाध्यक्ष र सचिव पद दिनुपर्छ अडान राखेका थिए। नेकपाले मेजर तीन पदको अडानलाई अस्वीकार गर्दै कांग्रेसले एक्लै निर्वाचन लड्ने योजना बनाएर उम्मेदवार दर्ता गराएका थिए।

कांग्रेसले नेकपालाई महासचिवबाहेक अन्य दुई वटा मेजर पद दिन तयार भएको कार्यकर्ताहरू बताउँछन्। कांग्रेसले आफ्नै प्यानल बनाएर चुनावमा लड्ने भएपछि नेकपाले राप्रपा आन्तरिक रूपमा सघाउने पार्टी स्रोतले जनाएको छ। कांग्रेसले सबै पदमा उम्मेदवार दिएका छन् भने राप्रपाले अध्यक्षमा पनेरु, जिल्ला कार्यालयबाट प्रत्यक्ष सदस्यमा निर्वाचित हुने सदस्य पदमा अभिषेक ढुङ्गानाले उम्मेदवारी दिएका छन् भने, नेकपाबाट उद्योग सचिवमा जमरकट्टेलले मात्र उम्मेदवारी दिएका छन्।

१८२ जना मतदाता

संघमा १८२ जना मतदाता रहेको छ। वस्तुगततर्फ ३३, एसोसिएट ५, अध्यक्ष, निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष गरी ९, बुद्ध शान्ति शाखाबाट १७, कमल शाखाबाट १६, गौरीगञ्ज शाखाबाट १७ र जिल्ला कार्यालयबाट सदस्यता लिएका निर्वाचित ३७ जनाले मतदान गर्नेछन्। वस्तुगतको एक भोट बराबर दुई र एसोसिएटको एक भोट बराबर पाँच मत गणना हुने विधानमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.