नेपालले पत्र पठायो, भारतले जवाफ नै दिएन

|

काठमाडौः भारतीय पक्षले नेपालको सीमा मिचेको कुराले देशभरको माहोल तातेको छ। कयौँ वर्षदेखि भारतले नेपलको हजारौँ हेक्टर भूमि अतिक्रमण गरेको विषयमा नेपाल सरकारले कुटनीतिक माध्यमबाट छलफल गर्न चाहे पनि भारतीय पक्षले त्यसको बेवास्ता गरेको हो।

भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभाग आफ्नो नक्सामा राखेपछि दुवै देशबीचको विवाद जनस्तरसम्म पुगेको छ। यसले नेपालमा भारतविरोधी भावना अझै चुल्याइरहेको छ।

नेपालले भारतलाई औपचारिक छलफलका लागि पत्राचार गरेको तीन हप्ता बितिसक्दा पनि त्यसबारे छलफलका लागि औपचारिक जानकारीसमेत नगराएको पररष्ट्र मन्त्रालयका प्रवक्ता डा. भरतराज पौडेलले बताए।

सीमा विवादबारे भारतसँग कुटनीतिकमाध्यमबाट छलफलको लागि पत्राचार गरिएको उनले बताए। ‘हामीले भारतलाई छलफलका लागि पत्राचार गरेका छौँ, तर, त्यसबारे भारतले कुनै जवाफ फर्काएको छैन,’ उनले भने, ‘भारतले नेपालको पत्रको जवाफ पठाएपछि छलफल अघि बढ्छ।’

परराष्ट मन्त्रालयले भारतलाई सीमा समस्यामा छलफल गर्नका लागि आग्रह गर्दासमेत बेवास्ता गरिरहेको छ। भारतले हालै आफ्नो नक्सामा पारेको नेपाली भूभाग जवरजस्ती आफ्नै भएको दाबी गर्दै आएको छ। प्रधानमन्त्रीले सर्वपक्षीय बैठक डाकेपछि परराष्ट्रमार्फत् सरकारले पहल अघि बढाएपनि भारत यसमा अनिच्छुक देखिएको हो।

सीमा विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभाग एक इन्च नछोड्ने बताउँदै कालापानीबाट तत्काल भारतीय सेना फिर्ता लैजान निर्देशन दिएपछि दुवै देशको कूटनीतिक क्षेत्र तरंगित भएको थियो। भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूभाग आफ्नै भएको जिकिर उत्तराखण्डका मुख्यमन्त्रीले गरेका छन्। तर उनले यसबारेमा नेपालसँग वार्तामा बस्न सकिने पनि बताएका छन्। 

प्रधानमन्त्री ओलीको निर्णयानुसार विशेष दूतकारूपमा छलफलका लागि जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय पक्षले समय नदिएपछि रोकिएका छन्। सीमा विवादको विषयलाई भारतले खासै चासो नदिनुमा नेपाल सरकारकै कमजोरी रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत आरोप लागाउँदै आएको छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको राष्टवाद कालापानीमा गएर लम्पसार परेको प्रतिक्रिया दिइसकेका छन्। ओलीकै पहलमा बालुवाटारमा एक महिनाअघि बसेको बैठकले भारतले जारी गरेको नक्सा कुनै पनि हालतमा स्वीकार्य नहुने निष्कर्श निकालेको थियो। पोखरामा चुनावी अभियानका क्रममा देउवाले प्रधानमन्त्रीको राष्ट्रवादमाथि संगीन प्रहार गरेका थिए। 

भारतले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा राखेपछि ओलीमाथि कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने गम्भीर आरोप लगाएका थिए । उनले ओलीकै सहमतीमा भारतले नयाँ नक्सा जारी गरेकोसम्म भन्न भ्याएका थिए । ओलीमाथि देउवाको आरोप थियो, ‘ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार पर्यो ।’ 

सीमा विवादबारेमा सरकारले भारतसँग खुलेर पहलकमदी लिन नसकेको कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्त बताउँछिन् । ‘सरकारले सीमा विवाद टुंग्याउन कूटनीतिक पहल गर्ने बताए थियो', उनले भनिन्, 'तर अहिलेसम्म भारतसँग छलफलसमेत गर्न सकेको छैन।’

सीमा समस्यामा मात्रै नभएर सरकार आफ्ना अन्य जिम्मेवारीसमेत पूरा गर्नबाट पनि चुकेो आरोप उनले लगाइन्। दुईतिहाइको बहुमत प्राप्त सरकारको बेलामा सीमा विवाद, भ्रष्टाचार, विकृति, विसंगती झन् मौलाउँदै गएको ठहर उनले गरेकी छन्।

सरकारले प्रभावकारी पहल गर्न नसक्दा नयाँ नक्साबाट उत्पन्न विवादबारेमा छलफलमा भारतले वास्तै नगरेकाे सत्ता बाहिरका दलहरूले बताउँदै आएका छन्। कूटनीतिक माध्यममार्फत् नेपालले वार्ताकाे प्रस्ताव गरेकाे थियाे। नेपाली पक्षले वार्ताका लागि भारतले नयाँ नक्सामा राखेको भूभागको प्रमाण तयार पारिसकेकाे बताएकाे छ। नेपालीले तिरो तिरेको रसिद, आमनिर्वाचन र जनगणना लगायतका अभिलेख र दस्तावेजहरू प्रमाणका रुपमा बटुलिएको छ।

नेपालको भूभाग चीनतर्फबाट पनि मिचिएको चर्चा छ। तर चीनले यस कुरामा असहमति जनाइरहेको छ। भारतले नयाँ नक्सा जारी गरेपछि सीमा विवादले नयाँ रूप लिएको हो। भारतले लिपुलेक-लिम्पियाधुरामा ३७ हजार हेक्टरसहित करिब ६० हजार ६ हेक्टर नेपाली भूमि मिचेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.