|

धनगढी : पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि कुनै पनि अवस्थामा अतिक्रमण हुन नदिने बताए।

प्रेस संगठनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको बताएका हुन्। ती क्षेत्रमा भइरहेको भारतीय अतिक्रमण हटाउन राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए।

‘सर्व दलित र सर्वपक्षीय बैठकमा यस विषयमा राष्ट्रिय सहमति भइसकेको छ’ उनले भने, 'लिम्पियाधुरा नै महाकालीको मुहान हो। यसमा समस्या छैन।’ नेताहरू र विज्ञहरू पनि यसमा एक मत रहेको उनले स्पष्ट पारे। भारतसँग संवादको माध्यमबाट समस्याको समाधान खोजिने उनले बताए।

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको बित्तीय सम्मेलन उद्घाटन गर्न बिहीबार धनगढी पुगेका अध्यक्ष दाहालले अहिले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने समय नभएको बताएका छन्। 

‘पहिला राजनीतिक र कूटनीतिक संवादबाट समाधान गर्ने कोसिस गर्नुपर्छ' उनले भने, ‘सुरुमा नै अन्तर्राष्ट्रिय करण गर्ने भनेर भन्दा समस्या थप जटिल बन्न सक्छ।' 
राजनीतिक र कूटनीतिक पहलबाट पनि समस्याको समाधान नभएपछि के गर्ने भन्ने विषय त्यही बेलामा छलफल गर्नुपर्ने बताए। 

‘राजनीतिक र कूटनीतिक पहल गर्दा पनि समस्याको समाधान भएन भने के गर्ने भन्ने कुरा पछि सोचौला' उनले भने, 'अहिल्यै अन्तर्राष्ट्रिय करण भन्ने शब्द प्रयोग गरेर समस्यालाई जटिल बनाउँनु हुँदैन।' अध्यक्ष दाहालले आफ्नो देशको भूमि फिर्ता लिन जे पनि गर्नुपर्ने स्थिति आउन सक्ने बताए।

‘सैद्धान्तिक रूपमा आफ्नो देशको भूमि फिर्ता लिन जे पनि गर्नुपर्छ। जसरी भएपछि फिर्ता लिनु पर्छ’ उनले भने।

पूर्व विदेश सचिवको आलोचना

 भारतका पूर्व विदेश सचिव श्याम शरणले कूटनीतिक मर्यादाविपरित अभिव्यक्ति दिएको अध्यक्ष दाहालले बताएका छन्। सीमा क्षेत्रको विषयमा उनले दिएको अभिव्यक्ति जायज नभएको उनको भनाइ थियो।

‘श्याम शरण जस्तो एउटा कुटनीतिक परिपक्व व्यक्तिले यस किसिमको भाषा प्रयोग गर्ने कुरा कहिँ कतै सोभनीय छैन’ प्रचण्डले भने, ‘हामीले अरू कुनै राजनीतिकरण गर्न खोजेका छैनौं। नेपालको भूमि नेपालको हो भनेका छौँ।’ 

सन् २००४ देखि २००६ सम्म विदेश सचिव रहेको शरण नेपालका लागि भारतीय राजदूत रहेका थिए। शरणले कूटनीतिक मर्यादाविपरित कूटनीतिक प्रयासलाई राजनीतिकरण गर्‍यो भन्ने आरोप लगाएको दाहालले बताए।

आफूहरूको कूटनीतिक प्रयासलाई राजनीतिकरण गर्‍यो भन्नु उनको दृष्टि दोष रहेको उनको भनाइ थियो। ‘नेपाल राष्ट्र कालापानीको प्रश्नमा एक छ’ दाहालले भने, 'हामीले राजनीतिक संवादबाट हल गर्ने कुरा गरेका छौँ। यसलाई राजनीतिकरण भएको देख्ने उहाँको दृष्टि दोष हो।'

यस्तो छ चीन नजानुको कारण 

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा मंसिर २४ गते चीन जाने कार्यक्रम स्थगन हुनुको करण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा आएको खराबी रहेको उनले बताए। म अहिले कुनै कूटनीतिक कारणले चीन जाने कार्यक्रम रोकेको होइन अध्यक्ष दाहालले भने, 'टू प्लस वान बारे मैले धारणf व्यक्त गरेँ। त्यो व्यक्त गरेका कारण चीन भ्रमण स्थगित भएको पनि होइन।' 

प्रधानमन्त्री अस्पतालमा भएका कारण आफू चीन नगएको स्पष्ट पारे। ‘डक्टरहरूले घाउ सन्चो हुन्। एक–डेढ महिना लाग्छ भनेका छन्’ उनले भने, ‘एउटा अध्यक्ष अस्पतालमा भएको बेला अर्काे अध्यक्ष अध्ययन भ्रमणमा जाने कुरा त्यति सहज र स्वभाविक हुँदैन।’  अध्यक्ष दाहालले भ्रमण हाललाई स्थगित मात्रै गरिएको बताए।

के हो टू प्लस वान?

नेकपाका अध्यक्ष दाहालले यस अघि नै नेपाल, भारत र चीन बीचको सम्बन्धमा ‘टू प्लस वान’ को अवधारणाले फेरि लिपुलेक काण्ड दोहोरिन सक्ने खतरा औल्याउँदै यी दुई छिमेकीसँगको नेपालको सम्बन्ध त्रिदेशीय नै हुनुपर्नेमा जोड दिएका थिए।

धेरैले प्रचण्डको चीन भ्रमण स्थगित हुनुमा यही अभिव्यक्त भएको बताए पनि स्वयं प्रचण्डले भने ‘टू प्लस वान’को प्रसंग फरक भएको बताए। ‘मैले पहिलेदेखि नै त्रिपक्षीय साझेदारीमा जाँदा यहाँको समृद्धिमा टेवा पुग्न भनेको थिए’ उनले भने, ‘चीन सकारात्मक थियो। तर, भारतले अहिल्यै सहज आएको छैन कि भन्ने जवाफ दियो।’

पछिल्लो पटक भारतको गोवामा सम्पन्न भएको बिमस्टेक सम्मेलनमा भारतका प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई पुन : त्रिदेशीय साझेदारीको विषयमा जानकारी गराएको र त्यहाँ छलफल समेत भएको दाहालले स्पष्ट पारे। ‘त्यस बेला यो प्रस्ताव ठिक छ। यसलाई अगाडि बढाउनु पर्छ भन्नु भएको थियो’ दाहालले भने। 

चिनिया राष्ट्रपति भारतको चेन्नेइबाट आउने क्रममा टू प्लस वानको विषय आएको हुँदा यो टू प्लस वान नभई थ्री नै भएको उनले बताए। ‘जनसंख्या धेरै-थोरै जे भए पनि सार्वभौमिकता र स्वतन्त्रताको हिसाबले हामी समान छौँ। नेपालीको लागि टू प्लस वान होइन थ्री नै हो’ उनले भने।

नेपाल दूत भएर भारत जाने

सरकारले नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाललाई सरकारको दूत बनाएर भारत पठाउने विषयमा छलफल भइरहेको दाहालले बताए। यस विषयमा सामान्य छलफल समेत भइरहेको उनले जानकारी दिए। 

‘वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाएर तपाइँ सरकारको दूतको रूपमा विशेष कुरा गर्न जानु पर्‍यो भन्ने प्रस्ताव गरिएको हो। त्यसको लागि आवश्यक पर्ने प्रक्रिया समेत अघि बढिरहेका छ।’

भारत को को जाने र कहिले जाने भन्ने विषयमा विस्तृत छलफल नभइरहेको दाहालले बताए। उनले भने, ‘भारत सरकारसँग हुनुपर्ने  पत्राचार, उच्च लेभलसँग हुनु पर्ने भेटघाटको सुनिश्चितता गर्न बाँकी छ।’ 

सबैतिर भ्रष्टाचार छैन 

अध्यक्ष दाहालले पछिल्लो समय सबैतिर भ्रष्टाचार भइरहेको भन्ने सत्य नभएको बताएका छन्। ‘कयौँ ठाउँमा त्यस्ता अनियमितता भएका छैनन् भन्ने मेरो भनाइ होइन। तर एकपक्षीय भएर एक आँखाले मात्रै हेरेर पुग्दैन’ उनले भने, 'जनतको तहमा बिकासले गति पनि लिएको छ।’

केही सुधार गर्नुपर्ने कुराहरू रहे पनि भ्रष्टाचार मात्रै भयो भन्नु प्रतिगामी कोणको तर्क रहेको उनले आरोप लगाए। ‘विकास नै भएन। केही पनि भएन। २५० वर्षसम्म बरु राजा महाराजहरूले गरेका थिए जस्तो गरी प्रचार हुने गरेको छ’ दाहालले गुनासो पोखे।

सरकार पुनर्गठनपछि उत्साह

पछिल्लो पटक मन्त्रिपरिषदमा केही हेरफेर भए पनि नागरिकमा थप उत्साह छाएको प्रचण्डको भनाइ थियो। नयाँ व्यक्तिले नयाँ जिम्मेवारी पाउँदा कार्यसम्पादन पनि राम्रो हुने उनले विश्वास व्यक्त गरे। ‘सरकार पुनर्गठनपछि जनता थप उत्साहित भएका छन्। पार्टीले पनि विश्वास गरेको छ सरकारले पनि विश्वास गरेको छ’ उनले भने।

उपनिर्वाचनको समीक्षा

अध्यक्ष दाहालले भर्खरै सम्पन्न उपनिर्वाचनका विषयमा पार्टीले समीक्षा गरिरहेको बताए। ‘सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गर्न जनाएको छ’ उनले भने, ‘आगामी २३ गते स्थानीय तहदेखिको हामी समीक्षा गर्छाै।’

निर्वाचन परिणाम सन्तुलित नै रहेको अध्यक्ष दाहालले बताए। अध्यक्ष दाहालसँगै बित्तीय सम्मेलनको उद्घाटनको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव धनगढी पुगिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.