|

  • रमेश रावल

कालिकोट : जिल्लाको गेला गाविसमा सञ्चालित 'महिला बचत तथा ऋण सहकारी संस्था' गाउँमा समस्या पर्दा साथी बनेको छ। गाउँमा कसैले ब्यवसाय गर्दा होस् वा बिरामी पर्दा सहकारी सबैको साथी बनेको छ।

२०७१ माघ महिनादेखि सुरु भएको महिला बचत तथा ऋण सहकारी संस्थाले ९ लाखभन्दा बढी बचत गरेको छ।

बचत रकमबाट गाउँका कोही बिरामी पर्दा वा कसैले ब्यवसाय गर्न सस्तो ब्याजमा ऋण उपलब्ध गराइरहेको महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष निर्मला शाहीले बताइन्।

‘कसैले ब्यवसाय गर्न चाहे वा दुःखी बिरामी हुदाँ न्यून ब्याजमा ऋण उपलब्ध गराउछौं’ उनले भनिन्, ‘त्यसैले यो सहकारी हाम्रो समस्यामा साथी बनेको छ।’

सुरुमा गाविसका १८ जना महिला मिलेर बनाएको यो सहकारीमा हाल २ सय ८८ जना महिला सदस्य छन्। सुरुमा थोरै महिला मिलेर स्थापना गर्दा महिला के गर्लान्? भनेर पुरुषहरुले हेय भावले हेरे पनि अहिले त्यस्तो छैन।

सहकारीकी सदस्य शिवा शाही भन्छिन्- ‘पहिला सहकारी स्थापना गर्दा महिलाले के काम गर्लान् भनेर पुरुषहरुले हेप्ने गरेका थिए। आज तिनै पुरुषहरुले सहकारीबाट ऋण लिएर ब्यवसाय गर्दा खुसी लाग्छ।’

एक हजार रुपैयाँको १५ रुपैयाँ ब्याजमा ऋण उपलब्ध गराउने यो सहकारीले गाउँमा नै सस्तो मूल्यको सहकारी पसल पनि खोल्ने तयारी गरेको छ। पसलबाट दैनिक उपभोग्य बस्तुको बिक्री बितरण गरिने सहकारीकी सदस्य धनपुरा शाहीले बताइन्।

सहकारी गठन भएको १ वर्षमा नै सेयर सदस्यबाट मासिक १ सय रुपैयाँ उठाएर ठूलो बचत तथा ऋण सहकारी संस्था बनाउन सफल भएकोमा महिला विकास कार्यालयले समेत सहकारीलाई सम्मान गरेको छ।

निमित्त महिला विकास अधिकृत सविता राणा भन्छिन्- ‘गाउँका साधारण महिलाहरुले विवेकले बचत तथा ऋण सहकारी संचालन गरेर गाउँको सेवा पुर्‍याएकोमा सम्मान समेत गरेका छौं। यो प्रसंसनीय काम हो ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.