१८ बैंक तथा वित्तीय संस्था मिल्दा ग्लोबल बन्यो नेपालकै ठूलो बैंक

|

काठमाडौं : विगतकाे कमर्ज एण्ड ट्रष्ट बैंक, अहिले जनता बैंक र ग्लोबल आइएमइ बैंक गाभिएपछि ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ। तीन वाणिज्य बैंकका साथै १० वटा विकास बैंक र पाँचवटा फाइनान्स मिलेर पुँजी, निक्षेप कर्जालगायतका सूचकाङ्कका आधारमा सबैभन्दा ठूलो बैंक बनेकाे ग्लाेबल आइएमईले आजबाट एकीकृत कारोबार शुरू गर्दैछ।

कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेपछि २०६९ असार २५ गते ग्लोबलले लर्डबुद्ध र आइएमई फाइनान्स पनि आफूमा गाभेकाे थियो।  २०७४ असार २५ मा रिलायबल डेभलपमेन्ट बैंकलाई  गाभेपछि पनि याे बैंकले लगातार धेरै विकास बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्‍यो।

गभर्नर डा. चिरञ्‍जीवी नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बिग मर्जरको योजना अघि बढाएका थिए। चुक्तापुँजी वृद्धिको योजनामा पूर्ण सफल बनेका नेपालले बिग मर्जरको सवालमा भने एक जोडी बै‌ंकलाई मात्रै गाभ्न सफल भएका छन्। गभर्नर नेपालको कार्यकाल आगामी चैतबाट सकिँदै छ। 

ग्लोबल बन्यो देशको सबैभन्दा ठूलो बैंक

जनता बैंकसँग गाभिएर कारोबार शरू गरेसँगै ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। ठूलो बैंक बनाउनको लागि तीन वाणिज्य बैंकसहित अन्य १५ विकास बैंक र वित्त संस्था ग्लोवल आइएमई बैंकमा गाभिएका छन्। 

मर्जरपछि ग्लाेबलले दुई खर्ब ६४ अर्ब रुपैयाँ खुद सम्पत्ती बनाएको छ। बैंकको चुक्तापुँजी १८ अर्ब ४३ करोड रुपैयाँ पुगेकाे छ भने एक खर्ब ८६ अर्ब कर्जा विस्तार गर्दा दुई खर्ब तीन अर्ब निक्षेप बटुलेको छ। सबै भन्दा ठूलाे बै‌ंक बनेसँगै यसका शाखा २९७ वटा र एटिएम बुथको संख्या २५४ पुगेको छ।  

ठूलो बैंक बन्दा कस्तो लाभ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो बैंक बनेसँगै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताएका छन्। उनले ग्लोबल आइएमई बैंकलाई शुभकामना दिँदै भनेका छन् – 'ठूलो बैंक बनेसँगै पुँजी अभिवृद्धि एवं कारोबारमा सुविधा र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सहयाेग पुग्ने छ।' सुविधा र सहुलियत अभिवृद्धि गर्न प्रधानमन्त्री ओलीले बैंकलाई आग्रह गरेका छन्। 

अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला पूर्वाधारमा वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बताएका छन्। यस अघि ठूला पूर्वाधार परियोजनामा लगानी जुटाउन निकै धेरै बैंक तथा वित्तीय संस्था जुटाउनु पर्ने अवस्था समेत पछिल्लाे मर्जरले समाधान गरिदिएकाे बताए।  

बैंकलाई सुरक्षित र कुशल बनाउन पनि सहयोग पुग्ने खतिवडाको भनाइ छ। गभर्नर नेपाल चाँही बैंक मर्ज हुँदा प्रतिस्पर्धा गर्न र गुणस्तरीय सेवा दिन सहयोग पुग्ने बताउँछन्।  बैंक ठूलो भएपछि लागत कम हुने र प्रतिस्पधी क्षमता बढ्ने, जसले गर्दा थोरै लागतमा गुणस्तरीय सेवा दिन सकिने नेपालको भनाइ छ। 

बैंकका अध्‍यक्ष चन्द्रप्रसाद ढकाल बैंकले आवश्‍यक कर्जा विस्तार गर्न सक्षम हनुका साथै ठूला पूर्वाधारमा लगानी गर्न सक्ने भएकोले पनि सरकारको समृद्ध नेपाल अभियानमा सहयोग पुग्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.