|

काठमाडौं :  देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी एकैदिन आठजनाको मृत्यु भएको छ। ललितपुर, कपिलवस्तु, चितवन, काभ्रे, रुपन्देही, सर्लाही र नवलपरासी(पश्चिम)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

ललितपुर : ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.८ ख २८२६ नम्बरको टिपरमा बा.८७ प २२८५ नम्बरको स्कुटर बिहीबार राति ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटरका चालक मुगु घर भएका २५ वर्षीय पावल साउद र स्कुटरमा सवार ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने झापा घर भएकी १६ वर्षीय प्रतिमा केसीको उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको छ।

कपिलवस्तु : कृष्णनगर नगरपालिका-१ मडाहास्थित सडकमा कृष्णनगरबाट गणेशपुरतर्फ जाँदै गरेको लु.१ ह ३०५० नम्बरको अटो रिक्शाबाट खसेर गम्भीर घाइते भएका कृष्णनगर नगरपालिका-२ झण्डे नगर बस्ने ४६ वर्षीय श्यामसुन्दर चौहानलाई उपचारको लागि अनवर मेडिकल कृष्णनगरतर्फ लैजाने बाटोमै मृत्यु भएको छ। फरार रिक्शा चालकको प्रहरीले खोजी गरिरहेको छ।

चितवन : भरतपुर महानगरपालिका-१५ स्थित सडकमा ना.४० प ७३१३ नम्बरको मोटरसाइकल र लु.४ प ६६५० नम्बरको मोटरसाइकल बिहीबार साँझ एक-आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ना.४० प ७३१३ नम्बरको मोटरसाइकल चालक सोही महानगरपालिका बस्ने ३६ वर्षीय रामचन्द्र रेग्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका लु.४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२० बस्ने २५ वर्षीय मान बहादुर मर्स्याङगीको सोही अस्पतालमा उपचार भइरहेको छ।

काभ्रे : पाँचखाल नगरपालिका-८ त्रिपन्न किलोस्थित सडकमा प्रदेश नम्बर ३-०२-००५ प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी दाउन्ने गाउँपालिका-७ बस्ने ४५ वर्षीया निरमाया तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५० वर्षीय खुशिमान तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।

रुपन्देही : सैनामैना नगरपालिका-१० फायरलाईनस्थित सडकमा लु.१ ख ६४५९ नम्बरको ट्रकमा लु.५७ प ६५८५ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सैनामैना नगरपालिका-१ पर्रोहा बस्ने  ३४ वर्षीय केदारनाथ थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही : लालबन्दी नगरपालिका-१ तेलबालीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल  नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार राति घट्नास्थलमै मृत्यु भएको छ। ठक्कर  दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

नवलपरासी(पश्चिम) : बर्दघाट नगरपालिका-२ चिसापानीस्थित सडकमा ना.५ ख २२३४ नम्बरको बसले लु.१० प ७०६६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दघाट नगरपालिका-२ बस्ने २४ वर्षीय प्रबिन श्रेष्ठको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.