|

काठमाडौं : हालै बजारमा आएको उपन्यास शून्य डिग्रीमा प्रोल्लास सिन्धुलीयले गाउँका सामान्य मान्छेको जीवनकथा लेखेका छन्। यो उपन्यासका मुख्य पात्र हुन्, रामदाइ।

अरुका लागि रामदाइ सामान्य हुन्। उनलाई प्रोल्लासले भने उपन्यासका प्रमुख पात्र बनाएका छन्। सोमबार बागबजारस्थित छापाखानामा उपन्यासका पात्र रामदाइका बारेमा उनले थाहाखबरसँग भने, 'यसको विगत के नै होला र जस्तो लाग्ने मान्छेलाई नजिकबाट नियाल्दा एकदमै असामान्य हुँदा रैछन्। उनको जीवन विशेष हुँदो रहेछ।'

पहिला मान्छेलाई कवितामा विम्ब बनाउने प्रोल्लासले उपन्यासमा सामान्य देखिने वास्तविक व्यक्तिबारे लेखिएको बताए। लामो कपालमाथि टोपी पहिरिएका प्रोल्लासले रामदाइबारे हाइलाइट्स लाइन भने - जिन्दगीसँग हार्न नजान्ने मान्छेको जीवनकथा हो, शून्य डिग्री।

शून्य डिग्रीको असामान्य जीवन

सिन्धुपाल्चोकमा जन्मेका रामदाइ लामो समय मकवानपुरमा बसे र अहिले काठमाडौंमा छन्। आम मान्छेका दृष्टिमा सामान्य लाग्ने रामदाइको जीवन कथा हो शून्य डिग्री। 'बाहिरबाट हेर्दा यो मान्छेको जिन्दगी के नै छ र? यसको जिन्दगीमा इन्ट्रेस्टिङ भन्ने चिजै छैन', प्रोल्लासले भने, 'के बुझ्नु?, के जान्नु? यसको बारेमा भनिने मान्छेको असामान्य कथा हो।'

रामदाइको जिन्दगी शून्यबाट सुरु भएर शून्यमै पुग्नुको निरन्तरता हो। तर उनको जिउने जीजिविषाले जतिपटक शून्यमा पुगे पनि माथि उठ्न लगाइरहन्छ। 'रामदाइ जस्तै परेपनि जिन्दगीसँग हार्न मान्दैन। उनको जीवन शून्यबाट सुरु हुन्छ फेरि शून्यमा पुग्छ। केही प्रगति गर्छ र फेरि शून्यमा झर्छ', सिन्धुलीयले भने, 'यो एक शून्यको तरंगको कथा हो।'

जीवनमा हुने हारसँगको प्रतिरोधले उनलाई माथि उठाएको छ। प्रोल्लासले उनपन्याबारे भने, 'रामदाइका बारेमा लेखिएको यो उपन्यास पढिसकेपछि सामान्य देखिने मान्छेको असामान्य जीवन देखिनेछ।'

उपन्यास कसै न कसैका जीवनी हुन्

उपन्यास काल्पनिक विषयमा लेखिने भएपनि शून्य डिग्रीका पात्र वास्तविक हुन्। यसका पात्रहरु अहिले पनि काठमाडौं, सिन्धुपाल्चोक र मकवानपुर लगायतका क्षेत्रमा भेटिन्छन्। यसबारे प्रोल्लास भन्छन्, 'हामी लेखकहरुले कथा, कविता उपन्यासमा लेख्ने भनेको सामान्य मान्छेकै कथा हो।' उनले लेखन अनुभव सुनाए, 'लेखनका क्रममा उपन्यास भन्दा पनि वायोग्राफी लेखिरहेको छु भनेर लेखेको थिए। रामदाइलाई पनि किताब पढ्दा खेरि आफ्नै वास्तविक कुरा हो भन्ने होस् भनेर स्वैरकाल्पनिक कुरा केही पनि हालिन।'

उपन्यासमा यस्तो गरिदिएको भए हुन्थ्यो भन्ने ठाउँ छन् भन्छन् प्रोल्लास। एक वास्तविक पात्रको जीवनी लेख्दा वास्तविक जीवनभन्दा बाहिर नजाने र बनावटी नबनाउने योजनामै उपन्यासमा काल्पनिकता नआएको उनले बताए।

उपन्यास लेख्नु पहिला प्रोल्लासले रामदाइबाट उनको बाल्यकालदेखिको जीवनयात्रा सुने। तिनको टिपोट गरे। पछि रामदाइलाई अघिअघि लगाएर सिन्धुपाल्चोक र मकवानपुरका उकाली ओराली अनि गाउँबस्ती डुले। रामदाइले पहिले सुनाएका जीवित पात्रहरुलाई भेटे। उनीहरुसँग कुरा गरे। उपन्यासका नकारात्मक रुपमा चित्रित गरिएका पात्रमध्ये केही पात्रका नाम भने परिवर्तन गरिएका प्रोल्लासले बताए। उनीहरुको व्यक्तिगत जीवनमा प्रभाव पर्ने भएर यस्तो गरिएको उनको धारणा छ।

उपन्यास लेखनमा प्रोल्लासले ६ वर्ष लगाए। उपन्यास लेखन मात्रै मिसन थिएन उनको। रामदाइ र आफ्नो समय मिलाएर उनीहरु रामदाइका स्मृतिलाई पछ्याउदै सिन्धुपाल्चोक र मकवानपुर पुग्थे। बीचमा रामदाइ लामोसमय बिरामी परेर पनि उपन्यास लेखन ढिला भएको प्रोल्लासले बताए। यति गर्दा पनि ६६ वर्षीय रामदाइको जीवन पूर्ण रुपमा नआएको उनको भनाइ छ। उनले भने, '६६ वर्षका रामदाइका जीवनका सबै कुरा लेखेर सकिएनन्। मान्छेले भोगिरहेको जीवनका कुराहरु गर्न नसकिदो रहेछ।' 

प्रोल्लास यो उपन्यास नभएर जीवनी भएको बताउँछन्। उनले भूमिका लेख्ने बेलाको कुरा सम्झिए, 'रामदाइ अलअलि सेलिब्रेटी टाइपका मान्छे हुन्थे भने म यो पुस्तकको घोष्ट राइटर हुन्थे। उनको नाउँमा यो पुस्तक लेखिसिध्याएर मैले लेख्नुपर्ने हुन्थ्यो 'यो पुस्तक लेखनमा सघाउनुहुने श्री प्रोल्लास सिन्धुलीयलाई धन्यवाद!''

तर, शून्य डिग्रीमा यो लाइन पढ्न पाइन्न। बायोग्राफी भन्दा पनि उपन्यासकै रुपमा प्रकाशित होस् भनेर भूमिकामा उक्त कुरा नलेखिएको प्रोल्लासले बताए।

सानासँगको प्रेम

शून्य डिग्रीबाट उपन्यसकारको परिचय जोडेका प्रोल्लास कविका रुपमा परिचित थिए। उनको उपन्यास प्रकाशित भइसकेपछि 'तपाई कवि कि उपन्यासकार?' भनेर धेरैले सोधिसकेको उनले बताए।

प्रोल्लास भन्छन् 'म दुबै हुँ।' कवितामा उनी साना कुरालाई विम्ब बनाएर सुन्दर कविता लेख्छन्। उनले कविता लेखन स्कुले जीवनबाट नै सुरु गरेका थिए। कविता संग्रह, बाल कथा, लघुकथा संग्रह प्रकाशन गरिसकेका सिन्धुलीय प्रज्ञा प्रतिष्ठानले २०७२ सालमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका थिए। उनका यस्तै स-साना भनिएका विषयमा कविता लेख्छन्। उपन्यासकारका रुपमा फेरिएको उनको परिचयमा पनि साना विषयलाई लेख्ने बानी भने उही रह्यो।

उनले भने, 'लेख्दैजादा सानो विषयमा पनि लेख्न सकिन्छ। कवितामा पनि त्यस्तै गर्छु। उपन्यास लेखनमा पनि त्यही फ्याक्टरले काम गरेको हो।' प्रोल्लासले सानो स्वरमा भने, 'लेख्नका लागि डाँडाकाँडा जाने हिमाल जाने, त्याँ गएर एक महिना बसेर अनुसन्धान गर्नु भन्दा पनि हाम्रै छेउछाउको सान्सानो कुरामा पनि लेख्न चाह्यो भने सक्छौं भन्ने लाग्छ।'

आफ्नै समकालीन श्रष्टाहरु ठूलाठूला कुराका विषयमा साहित्य सिर्जना गरिरहेका बेला आफू साना विषयमा लाग्दाका चुनौती पनि रहेछ। प्रोल्लास भन्छन्, ' जोखिम भनेको समय, परिस्थिति, मान्छेहरु एउटाको पछि लागेर दौडिरहेका हुन्छन्। आफू त्यसमा पछाडि परिन्छ। एउटा चाहीँ ठूलो विषयबाट हिरो भइरहेको हुन्छ तर मलाई त्यसको ठीक विपरित लेखिरहेको हुन्छु।'

कहिलेकाहीँ सानो विषयमा पनि के लेखेको भन्ने लागेपनि यसले आत्मसन्तुष्टी मिल्ने गरेको प्रोल्लासको अनुभव छ। उनी भन्छन्, 'अरुले नलेखेका विषयमा लेख्नुले आत्मसन्तुष्टी भने दिन्छ।' कवितामा स-साना विम्बलाई सुन्दरसँग प्रस्तुत गर्ने प्रोल्लासलाई साना कुरासँगको सुन्दर प्रेमले 'शून्य डिग्री' मा पुर्‍यायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.