साग उद्घाटनका दिन भयो भनाभन ! डायलाइसिसबारे अझै अन्योल

|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्किएका छन्।

संक्रमणको जोखिम टार्न चिकित्सकले अझै केही दिन ओलीलाई अस्पतालमै राख्‍न चाहेका थिए। तर प्रधानमन्त्री ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई डिस्चार्ज गरिएको हो।

एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण फैलिएपछि प्रधानमन्त्री ओलीको मंसिर १० गते शल्यक्रिया गरिएको थियो। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमै प्रधानमन्त्री ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो। 

संक्रमणको हिसाबले एकदमै जोखिममा रहेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले जटिल अवस्थामा सफल उपचार गरेर अस्पतालबाट सरकारी निवास वालुवाटार पठाएका हुन्। तर ओलीलाई अझै एक हप्ता बाहिर ननिस्कन र धेरै भेटघाट नगर्ने सर्त चिकित्सकहरुले राखेका छन्।

सचिवालय  र मेडिकल टिमबीच विवाद 

१० दिनसम्म अस्पतालमा राख्ने क्रममा प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले उच्च निगरानीमा राखेका थिए। प्रत्यारोपणका विरामीलाई एकदमै जोखिम मानिने उच्चखालको संक्रमणबाट पनि चिकित्सकहरुले उनलाई यस पटक बचाउन सफल भए।

तर अझै पनि ओलीलाई संक्रमणको जोखिमबाट जोगाउनु पर्ने उनको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। अस्पतालमा हुदाँ चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई भेटघाटमा कडाइ गरेका थिए।

चिकित्सकहरुले प्रधानमन्त्रीको इच्छाएको व्यक्ति बाहेक भेट्न पाउने व्यक्तिहरुको सूची नै टाँसेर राखेका थिए। प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुलाई पनि भेट्न नदिएपछि विवाद भएको थियो। सचिवालयका सदस्यहरुले यसलाई लिएर पटक पटक विवाद गरेका थिए।

सघन उपचार कक्ष (आईसीयू) मा उपचारका बेला पटक-पटक गएर जबरजस्ती भेट्न खोजेपछि सचिवालयसका सदस्यहरु प्रति चिकित्सकहरुले असन्तुष्टि जनाएका थिए। दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनका दिन चिकित्सक र  सचिवालयको टिमबीच भनाभनसम्मकै अवस्था सिर्जना भएको थियो।

‘साग गेमको उद्घाटन प्रधानमनन्त्रीलाई लाइभ देखाउने तयारीमा सचिवालय रहेछ। तर उहाँहरुले मेडिकल टिमसँग सल्लाह नै गर्नु भएको थिएन', उनले भने, 'एक्कासी भिडियो लिने बेला मात्रै नर्सले सोधेपछि डाक्टर सायमी सरले चिकित्सकीय आचारसंहिताबारे बताउनु परेको थियो।‘

प्रधानमन्त्री ओली पनि तयारै नभइ हतार हतार लाइभमा प्रस्तुत हुन नचाहेपछि त्यो कार्यक्रम तत्काल स्थगित भएको थियो। अन्तत सल्लाहकारकै सुझावअनुसार प्रधानमन्त्री ओलीले ट्याबमा साग उद्घाटन कार्यक्रम हेरेको बताइएको थियो। त्यही क्रममा उनले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको भिडियो सन्देश सचिवालयले सार्वजनिक गरेको थियो।

यस्तै चिकित्सकहरुले प्रधानमन्त्रीको उपचारको सूचना बाहिर ल्याउन चाहे पनि सचिवालयले रोकेको चिकित्सकहरु नै बताउँछन्। तर केही समयपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे नढाँट्न आग्रहसहित सत्य बताउन आग्रह गरेका थिए। त्यसपछि चिकित्सकहरुले विशेष पत्रकार सम्मेलन नै गरेका थिए।

१० दिन प्रधानमन्त्रीको उपचार गरेको मनमोहन कार्डियो सेन्टरले हरेक दिन उपचारबारे बुलेटिन निकालेको थियो। तर मिर्गौलाको डायलाइसिसबारे मनमोहन सेन्टरले केही पनि बोलेन। डायलाइसिसको कुरा सार्वजनिक नगर्न प्रधानमन्त्रीकै सचिवालयका सदस्यहरुले दबाब दिएको चिकित्सकहरुले गुनासो गरेका छन्। 

डायलाइससिसबारे अझै अन्योल

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गत भदौदेखि गम्भीर समस्या देखिएको छ। मिर्गौलाको कार्यक्षमतामा कमी हुँदै गएपछि उनी नियमित उपचारमा छन्। त्यही क्रममा उनले सिंगापुरमा मिर्गौलाको आयु बढाउनका लागि ६ पटकसम्म प्लाज्मा फेरोसिस गरेका थिए। तर त्यसले काम नगरेपछि नेपालमै डायलाइसिस थालिएको छ।

तर गत कात्तिक देखि त उनको प्रत्यारोपण गरेको मिर्गौलाको प्राकृतिकरुपमा कार्य क्षमतामा कमी आएपछि डायलासिस गर्नु परेको थियो।

गत कात्तिक १३,१४ र ३०  गते  धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र मंसिर ८ गते महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ। मनमोहन सेन्टरमा १० दिनबीचमा प्रधानमन्त्री ओलीको पाँच पटक डायलाइसिस गरिएको बताइएको छ।

तर डायलाइसिस गर्ने अस्पतालबारे उल्झन देखिएको छ। डायलाइसिसका क्रममा धपेडी नहोस् भनेर प्रधानमन्त्री निवास बालुवाटारमै त्यससम्बन्धी सुविधा व्यवस्था गर्ने तयारी भइरहेको खबर आए पनि त्यसको निचोडमा पुगिनसकेको बताइएको छ।

प्रधानमन्त्रीको सल्लाहकारको टिमले बालुवाटारमै डायलाइसिस मेशिन राख्ने इच्छा देखाए पनि मेडिकल टिमले भने त्यो उपयुक्त हुनेमा आशंका ब्यक्त गरेकोछ।

उपचारमा संलग्‍न एक चिकित्सकले भने, ‘बालुवाटारमा मेशिन राखेर गर्न त सकिन्छ तर त्यहाँ संक्रमणको उच्च जोखिम हुन्छ। डायलाइसिसमा रहेका विरामीलाई संक्रमण हुने डर हुन्छ। अर्कातिर डायलाइसिसका बेला अन्य विशेषज्ञ चिकित्सक उपलब्ध हुनुपर्छ।'

चिकित्सकहरुले डायालाइसिस गर्दा गर्दै मुटुमा वा अन्य अंगमा समस्या देखिने भएकाले बालुवाटारमा भन्दा अस्पतालमै डायलाइसिस गर्नु राम्रो हुने सुझाव दिइसकेका छन्। 

ग्राण्डी जाने कि?

मनमोहनबाट डिस्चार्ज भएर निस्कने बेला चिकित्सकहरुले अबको डायलासिसका लागि प्रधानमन्त्रीलाई ग्राण्डीमा जानुहुन्छ कि यतै आउनुहुन्छ?  भनेर सोधेका थिए। प्रधानमन्त्री ओलीले ‘खोई ग्राण्डी जाने बाटो अप्ठ्यारो छ, सल्लाह गरौँला ‘ भन्‍ने जवाफ दिएको एक चिकित्सकले बताए।

प्रधानमन्त्री ओली मनमोहन कार्डियो सेन्टरमा अबको उपचार र डायलाइसिसका लागि आएमा त्यससम्बन्धी व्यवस्था अहिले जस्तै गर्न सकिने सेन्टरले जनाएको छ।१० दिनसम्म उपचार गराएका ओलीको डायलाइसिसको लागि सेन्टरले शिक्षण अस्पतालबाट डायलाइसिस मेसिन लगेको थियो। यदि प्रधानमन्त्री ओली त्यहीँ उपचार गर्न गएमा सेन्टर आफैँले डायलाइसिस मेसिन फिट गर्ने तयारी गरेको छ।

तत्काल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छ। उनको स्वास्थ्यमा समस्या नआउन्जेल मनमोहनका चिकित्सकहरुले बालुवाटार नै पुगेर ‘फलोअप’  गर्ने भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.