|

पाँचथर : सुन्तलाको पकेट क्षेत्र मानिएको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा सुन्तला महोत्सव आयोजना गरिएको छ।

सुन्तला उत्पादक किसानलाई व्यवसायीक बनाउनका लागि थप उत्साह प्रदान गर्न र सुन्तला खेतीमा आधुनिकीकरण भित्र्याउँदै सुन्तलाको व्यवसायिक प्रवर्द्धनमा टेवा पुर्‍याउन महोत्सव आयोजना गरिएको आयोजक मिक्लाजुङ गाउँपालिका ५ ले जनाएको छ।

महोत्सवमा सुन्तलाका स्टलहरू राखिएका छन्। महोत्सवलाई १ नं. प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति सीता थेबे (प्रमिला) ले सम्बोधन गर्नेछिन्। महोत्सव तीन दिनसम्म चल्नेछ।

कुरुम्बामा व्यवसायिक रुपमै सुन्ताला खेती गर्ने झण्डै ६० घरपरिवार छन्। एक/दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान भने अधिक छन्। सडक सञ्जालले कुरुम्बालाई जोडेपछि त्यहाँ उत्पादित सुन्तलाको बजार तराई हुने गरेको छ।

व्यापारी आएर किसानले लगाएको सुन्तलाको बगान नै किन्ने गरेका छन्। केही दशकयता मुख्य आम्दानीको श्रोत नै कुरुम्बाका किसानको सुन्तला रहेको महोत्सव आयोजना गरेको मिक्लाजुङ ५, का अध्यक्ष अविशन लावतीले बताए।

जिल्लामा मिक्लाजुङ गाउँपालिकाकाको कुरुम्बासँगै, कुम्मायक गाउँपालिकाको रानीगाउँ, स्याबरुम्बा, फाल्गुनन्द गाउँपालिकाको आङ्सराङ, चिलिङ्देन, फाक्तेप, याङ्वरक गाउँपालिकाको नाँगी, थर्पु, फिदिम नगरपालिकाको नांगिन, याङ्नाम लगायत क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको छ।

जिल्लाको अधिकांश क्षेत्रमै सामान्यतः सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाँचथर-ताप्लेजुङले जनाएको छ। ज्ञान केन्द्र प्रमुख सागर विष्टले यस वर्ष सुन्तला उत्पादन जिल्लामा बढी भएको समेत बताए। उनका अनुसार ७ हजार ६७५ टन सुन्तला यसवर्ष उत्पादन भएको छ। जबकि गतवर्ष ३ सय टन कमी अर्थात् ७ हजार ३७५ टन सुन्तला उत्पादन भएको थियो।

उत्पादन बढी हुनुको कारण भने सुन्तला रोपणको क्षेत्रफल बढ्नु हो। गत वर्ष किसानले ६६९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेकोमा बढाएर ६९१ हेक्टर क्षेत्रफलमा खेती गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.