बैंक ठूलो हुँदा मेघा परियोजना सञ्चा‍लन गर्न सहज

|

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूलाई प्रविधि क्षेत्रमा लगानी बढाउनको लागि नियामक निकायले ध्यानाकर्षण गराएको छ। शुक्रबार जनता बैंकलाई गाभेर ग्लोबर आइएमई बैंकको एकीकृत कारोबार सुरु गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूले प्रविधि क्षेत्रमा लगानी बढाउन आवश्‍यक रहेको बताएका छन्। त्यसैका लागि निजी क्षेत्रका छातासंगठनका प्रतिनिधिहरूले पनि बैंकमा रहेको रकम सुरक्षामा ध्यान दिनको लागि आग्रह गरेका हुन्। 

अर्थमन्त्री खतिवडाले २०६५/६६ मा बैंकिङ क्षेत्रमा शंकाकाे वातावरण बढ्न थालेपछि मर्जरलाई पनि ध्यान दिन थालिएको बताए। सोही समयमा विश्‍व बैंकको अध्ययनबाट ४५ बैंक तथा वित्तीय संस्थालाई खारेज गर्न भने पनि सुधार गर्न लागिपरेको उनको भनाइ छ।

बैंक ठूलो हुन अवसर र चुनौती दुवै भएको भन्दै ग्लोबल बैंक ठूलो भएर जनताको विश्‍वास दिलाउन सके पनि स्मार्ट हुन आवश्‍यक रहेको औँल्याए। देशको समग्र विकासका लागि अल्पकालीन लगानीबाट नहुने भन्दै उनले दीर्घकालीन लगानी गर्न ठूलो बैंक आवश्‍यक हुने बताए। व्याजदरमा पनि प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको भनाइ छ।

ठूलो बैंकले विदेशबाट ऋण लिएर पनि नेपालमा लगानी गर्न सहयोग पुग्ने उनको भनाइ थियो। नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले राष्ट्र बैंकको नीतिलाई दुई बैंकको मर्जरले सहयोग पुर्‍याएको बताए। उनले जनताको रकमलाई सुरक्षित राख्नको लागि प्रविधिमा लगानी बढाउन आवश्‍यक रहेको बताए। 

राष्ट्र बैंकले नाफाको तीन प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्ने व्यवस्था गरे पनि क्षमता विकासमा खर्च हुन नसकेको बताए। अहिले ६१ प्रतिशत जनतामा विकास बैंक र वाणिज्य बैंकको पहुँच रहेको उनको नेपालले जानकारी गराए। 

उद्योगी/व्यवसायीले बैंकको ब्‍याजदर धेरै भएको भन्दै गुनासो गरेको अवस्थामा नेपालले बैंक सञ्‍चालक नै उद्योगी व्यवसायी रहेकोले आफ्नै ढंगबाट समाधन गर्नका लागि आग्रह गरे। 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंक ठूलो हुँदा लागत घट्ने भएकोले ब्‍याजदर पनि कम गर्नको लागि आग्रह गरे। साइबर सुरक्षामा ध्यान दिन पनि उनको आग्रह थियो।

श्रेष्ठले सरकारको तर्फबाट व्यवसायीले पाउनुपर्ने पैसा तोकिएको समयमा नपाउँदा कुनै जरिवाना तिर्नु नपर्ने र सरकारलाई भ्याट तिर्न र बैंकको ब्‍याज तिर्न ढिला हुँदा जरिवाना तिर्नुपर्दा निजी क्षेत्र निरुत्साहित रहेको बताए। उनले समयमै पुँजीगत खर्च गरेर बैंकमा देखिएको तरलता अभाव कम गर्नका लागि पनि सरकारलाई आग्रह गरे। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संस्था ठूलो हुँदा जिम्मेवारी बढेको विषयमा पनि ध्यान दिनका लागि ग्लोबल बैंकलाई आग्रह गरे। ठूलो बैंक बन्दा उद्योगी व्यवसायीलाई निराश नबनाउने अपेक्षामा रहेको उनको भनाइ छ। कतिपय बैंकलाई सहुलियत कर्जा भन्ने विषयमा ध्यानन नै नभएको भन्दै उनले त्यसतर्फ ध्यान दिनको लागि आग्रह गरे। 

ग्लोबल बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको नीति पालना गर्दा बैंक सबैभन्दा ठूलो बैंक भएको अवस्थामा भविष्यमा हुनसक्ने चुनौतीमा सरकारले साथ दिनुपर्ने बताए। उनले अबका दिनमा बैंकले सहुलियत अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्। अहिले नेपाल बाहिर तीनवटा शाखा सञ्‍चालन गरेको अवस्थामा थप दुई देशमा शाखा सञ्‍चालनको तयारीमा रहेको उनको भनाइ थियो। 

एकीकृत कारोबार सुरु गरेसँगै ग्लाेबलले दुई खर्ब ६४ अर्ब रुपैयाँ खुद सम्पत्ति बनाएको छ। बैंकको चुक्तापुँजी १८ अर्ब ४३ करोड रुपैयाँ पुगेकाे छ भने एक खर्ब ८६ अर्ब कर्जा विस्तार गर्दा दुई खर्ब तीन अर्ब निक्षेप बटुलेको छ। सबैभन्दा ठूलाे बै‌ंक बनेसँगै यसका शाखा २९७ वटा र एटिएम बुथको संख्या २५४ पुगेको छ।  

अब बैंकको अध्यक्षमा चन्द्र ढकाल र बैंकको प्रमुख कार्यकारी अधिकृतमा यसअघि जनता बैंकमा रहेका परशुराम कुँवर क्षत्री छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.