१२औँ सागमा भारतीयसँग हारिन्, १३औं सागमा भारतीयलाई हराइन्

|

इलाम : इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२औं दक्षिण एसियाली खेल (साग) मा स्वर्ण जित्ने सपना अधुरै रहेको थियो।

६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २-० अंकले नै पराजित हुँदै रजतमा सीमित भएकी थिइन्।

तर घरेलु भूमिमै भएको १३ औं सागमा उनको त्यो सपना पूरा भयो। यो सागमा देशका लागि ३६ औं र उसुको लागि ५ औं स्वर्ण पदक उनले जिताउन सफल भइन्। 

'१२औं सागमा फाइनलमा पुगेर हार्नुपर्दा सारै दुःख लागेको थियो। १३ औंमा कुनै हालतमा स्वर्ण जित्ने संकल्प गरेँ,’ उनी सम्झन्छिन्‘ भारतीयसँग पराजित हुँदा अर्को संस्करणमा भारतीयलाई नै हराउँछु भन्‍ने कसम मनमा थियो। पहिलो खेलमै हराएँ, यो नै पहिलो खुशी थियो।'

जुनीले भारतीयलाई त हराइन् नै, देशका लागि यो सागमा स्वर्ण जित्ने सपना पनि पूरा गरिन्। लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको सान्सो ५६ केजी तौल समूहमा प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २-० ले हराउँदै स्वर्ण पदक पक्का गरिन्। जुनीले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २-० ले हराएकी थिइन्। 

उसुमा जुनीको यात्रा

इलामको देउमाई नगरपालिका-३ की स्थायी बासिन्दा उनले उसु खेल्न थालेको ८ वर्ष हुँदैछ। उसु खेल्न सुरु गरेको १ वर्षमै उनले छैटौं राष्ट्रिय खेलमा पूर्वाञ्चल टिमबाट प्रतिनिधित्व गर्ने मौका पाइन्। 

पहिलो अवसरमै आफूलाई अव्वल प्रमाणित गर्दै राष्ट्रिय खेलाडी झरना गुरुङलाई पराजित गरेर रजत पदक प्राप्त गरिन्। ‘उसु खेल्न सुरु गरेको वर्ष नै छैटौँ खेलकुदमा रजत पाएपछि हौसला बढ्यो,’ उनी भन्छिन् ‘ म सक्छु भन्‍ने आँट पलायो। त्यसपछिका खेलमा अझ मेहनत गर्दै सागमा खेल्ने सपना थियो। त्यो पनि ४ वर्षपछि पूरा भयो तर स्वर्ण जित्न नसक्दा नमज्जा लागेको थियो।’

१२ औं सागको त्यो रजत

४ वर्षसम्म भएका विभिन्‍न राष्ट्रिय स्तरको प्रतियोगितामा क्षमता प्रमाणित गरेपछि उनले १२ औं सागमा अवसर पाइन्। तर आफ्नो तौल समूह नभएपछि माथिल्लो समूहमा खेल्नुपर्ने समस्या उनीसामू तेर्सियो। 

‘५६ केजीमा खेल्दै आएकी थिएँ, सागमा तौलमा भिड्ने प्रतिद्वन्द्वी नभएपछि ६० केजीमै भिडेँ’, उनी भन्छिन्, ‘हिम्मत नहारी सहभागी भएँ। अन्तर्राष्ट्रियस्तरमा प्रमाणित गर्ने अवसर पनि त्यही प्रतियोगितामै मिल्यो।’ 

पाकिस्तान र श्रीलंकन खेलाडीलाई पराजित गरेकी जुनी फाइनलमा भारतीय अरुणनपमा देवीसँग पराजित भइन्। २०७२ सालबाट नेपाल पुलिसमा असई (प्रहरी सहायक निरीक्षक) को तालिमका क्रममा १२औं सागमा रजत पदक जितेकी थिइन्। 

प्रहरी तालिम र साग तालिमसँगै अघि बढाएकी उनका लागि पदक जित्‍नु नै सौभाग्य सावित भयो। पदक पाएको ५ महिनापछि उनी नेपाल पुलिसको असई बन्‍न सफल भइन्।

सातौ र आठौ राष्ट्रिय खेलकुदमा आफ्नो तौल समूहमा स्वर्ण जित्‍न सफल भइन्। आठौँ खेलकुदमा देखाएको प्रदर्शनको आधारमा १३ औं सागमा सहभागिताको अवसर उनले पाएकी हुन्।

बाँच्‍ने आधार बनोस्

अरु खेलाडीले झैँ खेलेर मात्रै जीवन धान्‍न कठिन रहेको जुनीको धारणा छ। ‘विभागमा हुनेको त जागिर हुन्छ। जीउन सकिन्छ, अरुलाई त खेलेर नै जीवन धान्‍न कठिन छ,’ उनी भन्छिन्, ‘पदक विजेता र अरु खेलाडीलाई सरकारले बाँच्ने आधार तय गरिदिनुपर्छ। सरकारले साथ दिएमा सागमा मात्रै होइन, ओलम्पिकमा पनि पदक असम्भव छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.