राजनीतिक भेटघाट र जिल्ला दौडाहा

|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतापछि जिम्मेवारी बाँडफाँट गरिसकेको छ। दुई अध्यक्ष राखेको नेकपाले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइसकेको छ।

अर्का अध्यक्ष केपी शर्मा ओलीले पुरै कार्यकाल सरकार सम्हाल्ने सहमतिको आधारमा प्रचण्डलाई अधिकारसहितको कार्यकारी अध्यक्षको दिइएको हो ।

प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टीभित्र उनको सक्रियता दोब्बर भएको छ। प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमा रहेका बेलामा अध्यक्ष प्रचण्डले पार्टीमा सक्रियता बढाएका हुन्। त्यही अनुसार उनको देशदौडाहा पनि बढेको छ।

प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाईबाट बिहीबार मात्रै सरकारी निवास बालुबाटर फर्केका छन्। ओली अस्पतालमा रहँदा नेकपाभित्रका नेताहरुसँग विभिन्‍न चरणमा प्रचण्डले भेटघाट गरेका छन्। 

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा ओलीसँग रुष्ट भएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेका थिए।

प्रचण्डको अध्यक्षतमा गत बुधबार नेकपाको सचिवालय बैठकसमेत बसिसकेको छ। यसबीचमा उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमै पुगेर भेटेका छन्।

अध्यक्ष प्रचण्डले पूर्वएमालेका नेताहरुसँगको भेटलाई पनि बाक्लो पारेका छन्। यसलाई उनीहरुलाई आफ्नो पक्षमा ल्याउने सक्रियाताका रुपमा बुझिएको छ।

प्रचण्डले झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका छन्। उनीहरुसँग मात्रै नभइ पूर्व एमालेका अन्य केही नेतालाई समेत आफ्नो पकडमा ल्याउने कसरतसहित प्रचण्डको सक्रियता बढेको हो।

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थालाई देखाउँदै अध्यक्ष प्रचण्डले चीन भ्रमण स्थगन गरेको जनाएका थिए। चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणमा प्रचण्डको चीन भ्रमण तय भएको थियो।  भ्रमण स्थगित भएपछि उनी नेकपाभित्रै राजनीतिक छलफलमा केन्द्रित भएका छन्।

पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी बैठकको अध्यक्षता गर्ने, पार्टीलाई वैचारिक नेतृत्व दिने, संगठनात्मक रूपमा नेतृत्व गर्नेलगायतका अधिकार उनीसँग छ। प्रचण्डलाई कार्यकारी अधिकार दिए पनि ओलीले पार्टीमा आफ्नो अधिकार घटाएका छैनन्  

पार्टी र सरकारको अधिकार छुट्टाए पनि पार्टी बैठकको अध्यक्षता भने दुवै जनाले गर्ने नेकपाले निर्णय गरेको थियो। ओलीले पनि दुवैजना अध्यक्ष रहेको जनाउँदै बैठकको अध्यक्षता दुवैले गर्ने बताएका थिए।

नेकपाको मंसिर ४ गतेको बैठकले ओलीलाई सरकार र प्रचण्डलाई पार्टीको जिम्मेवारी दिएको थियो। सचिवालयको बैठकपछि दुवै नेता पार्टीभित्र शक्तिशाली बनेका छन्। कार्यकारी अधिकार प्रचण्डले पाए पनि वरीयतामा उनी दोस्रो स्थानमै छन्। 

प्रचण्डले आफ्नो राजनितिक इतिहासमा आफूलाई सधैँ कार्यकारी अधिकारमै राखेका छन्। तत्कालीन नेकपा (मशाल) को महामन्त्रीबाट सुरु भएको उनको कार्यकारी अधिकारमा पार्टी एकतापछि पूर्णविराम लागेको थियो ।

तत्कालीन एमालेसँग पार्टी एकता भएपछि प्रचण्डले आफ्नो कार्यकारी अधिकार गुमाएका थिए। उनीमाथि ओली हाबी भएका थिए। तर, मंसिर ४ गतेको बैठकले पुनः कार्यकारी अध्यक्षको भूमिका पाएका छन्। कार्यकारी अधिकार पाएपछि प्रचण्डले आफुलाई बल्ल अध्यक्षको 'फिल' भएको प्रतिक्रिया दिएका छन्।

नेकपाको विधानले ओली-प्रचण्ड दुवैलाई कार्यकारी अध्यक्ष तोकेको छ। प्रचण्डले अर्को सचिवालय बैठक २३ गते बोलाएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेकपाको आगामी सचिवालयको बैठक पनि अध्यक्ष प्रचण्डको अध्यक्षतमा बस्‍ने छ। नेकपाको आगामी बैठकमा उपनिर्वाचनको बिषयमा समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामको बिषयमा छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय लिनेसक्ने उनको भनाई छ।  

अब बस्‍ने स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका ओली र दाहाल दुवैले अध्यक्षता गर्ने बताइएको छ। स्थायी कमिटीको बैठक नबोलाएको भन्दै भीम रावललगायतका नेताहरुले पटक पटक दबाब दिइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.