|

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका प्रमुख उदय बरबरिया विकास निर्माणको काम छाडेर खाडी मुलुक दुबई भ्रमणमा पुगेका छन्।

सरकारी बजेटमा नगरप्रमुख बरबरिया निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झासमेत साथै लिएर १० दिने दुबई भ्रमणमा गएका हुन्। उनीहरू मंसिर १२ गते नै काठमाडौंबाट दुबईका लागि प्रस्थान गरेका हुन्। भ्रमण सकेर मंसिर २१ गते नेपाल फर्किने बताइएको छ।

अहिले नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्र कर्णलाई कार्यालयको निमित्त अधिकृतको जिम्मेवारी दिइएको छ। उनले निमित्तको जिम्मेवारी दिए पनि उनीहरूको भ्रमण कस्तो हो भन्‍ने आफूलाई थाहा नभएको बताए। उनले भने, ‘प्रधानमन्त्री कार्यालयबाट अनुमति लिएर भ्रमणमा गएको मात्र थाहा छ।’

नगरप्रमुख बरबरिया जनतालाई समस्यामा पारेर मोजमस्तीका लागि दुबई भ्रमणमा गएको स्थानीय कांग्रेस नेता सुधिरकुमार गोइतले आरोप लगाए। उनले प्रमुख बरबरिया पछिल्लो समय भ्रष्टाचारमा लागेको आरोप पनि लगाए।

‘वृद्ध-वृद्धाका लागि रकम अभाव भयो भनेर रकम बाँडिएको छैन’, उनले प्रश्न गरे, ‘तर, दुबई भ्रमणका लागि कहाँबाट रकम आयो? जनताले दुबई भ्रमण गर्नलाई त जिताएको हैन?’ उनले नगर प्रमुख बरबरिया दुबई भ्रमणमा सरकारी बजेटको दुरुपयोग गरेको भन्दै छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे।

चालु आर्थिक वर्षका लागि यो नगरपालिकाले बजेटसमेत ल्याउन सकेका छैन। बजेट स्वीकृत गर्न नसकेपछि नगरपालिका कालोसूचीमा परेको छ। नगरपालिका कालोसूचीमा परेको अवस्थामा नगरप्रमुख बरबरिया खाडी मुलुकको भ्रमणको नाममा बजेटको दुरुपयोग गर्दा स्थानीय बुद्धिजीविहरू चिन्तित छन्।

वृद्धभत्ताका लागि आन्दोलन

नगरप्रमुख बरबरिया भत्ता नदिएर भ्रमणका लागि दुबई पुगेको भन्दै वृद्ध-वृद्धाहरू आक्रोशित बनेका छन्। भ्रमणमा निस्केको थाहा पाएपछि मंसिर १२ गते नै उनीहरूले नगरपालिका कार्यालयअगाडि प्रदर्शनसमेत गरेका थिए। नगरपालिकाको नौवटै वडाका सयौँ वृद्धवृद्धाहरू आठ महिनादेखि भत्ता नपाएको भन्दै प्रमुख बरबरियाविरुद्ध नाराबाजी गरेका थिए।

निमित्त अधिकृतको जिम्मेवारी पाएका कर्णले चार महिनाको वृद्धभत्ता सबैको खातामा जम्मा गरिदिएको जानकारी दिए। उनले रकम अपुग भएकाले चार महिनाको तत्काल रकम वृद्ध-वृद्धाहरूको खातामा पठाएको र बाँकी रकमका लागि मन्त्रालयमा पत्राचार गरेको बताए। उनले मन्त्रालयबाट रकम आएलगत्तै वितरण गरिने पनि बताए।

गर्भवतीको भत्ता कटौती

गर्भवत्ती महिलाको भत्तासमेत नगरपालिकाले कटौती गरेको छ। गर्भवतीलाई मासिक १ हजार रुपैयाँ भत्ता दिनुपर्ने हो। तर, नगरपालिकाले गर्भवती महिलालाई मात्र पाँच सय रुपैयाँ भत्ता वितरण गर्दै आएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कपिलदेव अधिकारीले गर्भवतीलाई रकम अभाव भएका कारण पाँच सय रुपैयाँका दरले मात्र भत्ता वितरण गरेको स्वीकारे।

भत्ता त एक हजार दिनुपर्ने हो नी भन्ने जिज्ञासामा उनले भने, ‘वास्तावमा एक हजार भत्ता दिनुपर्ने हो। म आउनु अघि नै रकम अभाव भएको भन्दै पाँच सयका दरमे मात्र बाँड्ने निर्णय गरेको थियो। सोहीबमोजिम वितरण गरिएको छ।’

पाँच सय रुपैयाँ मात्र भत्ता दिने निर्णय गरे पनि मासिक रूपमा दिने गरिइको छैन। पाँच महिनादेखि गर्भवती महिलाले भत्ता पाएका छैनन्। स्वास्थ्य शाखा प्रमुख अधिकारीले पनि रकम अभावले साउनदेखि भत्ता वितरण नभएको स्वीकार गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.