|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराध नियन्त्रणका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। उनले बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एशिया क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रममा विज्ञान र प्रविधिको दुरुपयोगबाट अपराध नियन्त्रणमा चुनौती थपिएको पनि बताए। 

‘नेपालमा संविधान कार्यान्वयनपछि शान्ति स्थापना गर्न कानून कार्यान्वयन गर्ने निकायको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने– ‘त्यसैले पनि अपराध नियन्त्रण, शान्ति स्थायित्व कायम गर्न सरकार जस्तोसुकै सहयोग गर्न तयार छ।’ 

उनले अपराध नियन्त्रण र आंतकवाद नियन्त्रणमा इन्टरपोलले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमा इन्टरपोलको सम्मेलन गर्नु गौरवको विषय भएको पनि बताए। पछिल्लो समयमा देखिएको चुनौतीलाई एउटा देशले मात्र समाधान गर्न नसक्ने अवस्था रहेकोले इन्टरपोलको महत्व झनै रहेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अन्तरदेशीय अपराध र आंतकवाद नियन्त्रणका लागि नेपाल सधैं प्रतिबद्ध रहेको बताए। उनले भने– ‘अन्तरदेशीय अपराध र आंतकवाद अहिलेको पछिल्लो सुरक्षा चुनौती हुन्, त्यसलाई नियन्त्रण गर्न सधैं तयार छौं।’

उनले अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा पनि गरेका थिए। उनले यो सम्मेलनले व्यवसायिक र उच्च प्रविधीको प्रयोगबाट हुने अपराध नियन्त्रणका लागि उचित योजना तर्जुमा गर्ने विश्वास पनि व्यक्त गरेका थिए।

इन्टरपोलका अध्यक्ष मेङ्ग हग्वेईले विश्वमा देखा परेको सुरक्षा चुनौतीलाई सहकार्य गरेर नियन्त्रण गर्न आवश्यक रहेको बताएका थिए। उनले भने– ‘इन्टरपोलका सदस्य राष्ट्रहरुले बलियो एकता कायम गरेर काम गरेमा अपराध नियन्त्रण गर्न सकिन्छ।’

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रणमा नयाँ चुनौतीहरु थपिएकोले सहकार्य अझै बलियो बनाएर अघि बढ्नुपर्ने बताए। उनले नेपाल प्रहरीको काम सन्तोषजनक भएको पनि जानकारी गराए।

‘हामीले अब मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सिमा सुरक्षा तथा व्यवस्थापन, सिमावर्ती अपराधहरु, आतंकवाद, साईबर अपराध, वन्यजन्तु सम्बन्धि अपराधका विषयमा छलफल गर्नुपर्दछ’, उनले भने– ‘अपराध नियन्त्रणका लागि यो सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास लिएको छु।’

तीन दिनसम्म चल्ने सम्मेलनमा इन्टरपोलमा आवद्ध एशीयाली २६ वटा मुलुक र ३ वटा पर्यवेक्षक मुलुकका गरी १ सय १७ जना सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ। 

इन्टरपोल अपराध नियन्त्रणका लागि गठन गरिएको विश्वको सबैभन्दा ठूलो प्रहरीहरुको अन्तराष्ट्रिय संगठन हो। इन्टरपोलमा १ सय ९० भन्दा बढि देशका प्रहरी संगठनहरु आवद्ध रहेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.