'चेली'हरुलाई पनि खुवाउँथे शक्तिवर्द्धक औषधि

|

इटहरी : डेढ दशकअघि सुनसरीको चतरा आएका थिए कृष्णदास गिरी। सिद्धबाबालगायत नामबाट चिनिने कृष्ण गिरी यतिबेला गम्भीर फौजदारी मुद्दाका आरोप खेपिरहेका छन्। आफ्नै महिला अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबाविरुद्ध प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

पीडित महिलाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा दायर गरेको उजुरीका आधारमा सुनसरी प्रहरीले अनुसन्धान अघि बढाएको हो। सिआईबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी पठाएपछि जिल्ला प्रहरी दबाबमा परेर सिद्धबाबाविरुद्ध अनुसन्धान गर्न बाध्य भएको हो।

महिलालाई लिएर योपटक मात्रै होइन, विगतमा पनि सिद्धबाबाको चरित्र शंकास्पद देखिएको थियो। चार वर्षअघि इटहरीस्थित बालग्रामका दुई बालिकालाई पढाउने बहानामा आश्रममै यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। दुर्व्यवहारमा परेकी बालिका चार महिना नपुग्दै भागेर बालग्रामस्थित घरमा आएपछि घटना बाहिरिएको थियो।

त्यो घटना बाहिर आउने भएपछि केही शक्तिशालीको प्रभावमा तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत् ‘भारतीय आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ बनाएर भारत पठाएपछि घटना सामसुम भएको थियो।

आयुर्वेदका जानकारसमेत रहेका गिरीले शक्तिबर्द्धक जडिबुटी खाने गर्दथे। आफू मात्र होइन, प्रसादको नाममा आफ्ना चेलीलाईसमेत विभिन्‍न औषधि दूधमा मिसाएर दिने गरेको आश्रममै बसेकी एक युवती सुनाउँछिन्।

'कृष्णदास आयुर्वेदका जानकार थिए, आश्रममा आउनेलाई आफूतर्फ आकर्षित गर्ने गुण उनमा थियो र छ पनि,'नाम नखुलाउने सर्तमा उनले भनिन्, 'खोई कुन किसिमको शक्ति थियो कुन्‍नि?, ऊप्रति धेरै मान्छे आकर्षित भइहाल्थे।'

आश्रममा महिलासँग सम्बन्धित विषयकै कारण परिवारसँग पनि उनको विवाद थियो। विभिन्‍न चेली (अनुयायी) सँगको विवादमा उनले आफ्नै भाइ एनकुमार गिरीलाई कुटेका थिए। नेपालका चेली मात्रै होइन, गिरीले राजस्थानका एक मारवाडी दम्पत्तिको पनि सम्बन्ध बिगारिदिएका थिए। मारवाडी समुदायकी ती महिला र गिरीबीचको सम्बन्ध थाहा पाएपछि पतिले उनलाई छाडेका थिए।

दुइटा नागरिकता र अनि चेक बाउन्स जस्ता फौजदारी काण्डमासमेत गिरी मुछिएका छन्। तर, यी प्रकरणमा उजुरी परेर पनि प्रहरी आफैंले मुद्दा सामसुम बनायो। अर्थातन् यी प्रकरण थाहा पाएर पनि प्रहरीले अनुसन्धान नै गरेन।

सिँचाइको जग्गामा विशाल महल

सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने प्रख्यात धार्मिकस्थल चतरा मन्दिरको आडैमा बस्दै आएका कृष्णदासको काण्ड यतिमै सीमित छैन। बिनाअनुमति सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरको पश्चिम किनारको १३ बिघा जग्गामा रातारात आठ करोड लागतको १२८ कोठे भवन बनाएका छन्।

सप्तकोशी नदीबाट विस्थापित भएका जनतालाई सुनसरी-मोरङ सिँचाइ परियोजनाले डोजर लगाएरै लखेटेको थियो। चतराको नहरमा बसेका कोशी विस्थापितका परिवारलाई पाँच वर्षअघि डोजरसहित बल प्रयोग गरेर हटाए पनि गिरीले साधुको भेषमा नक्सा पास नगरी भवन ठड्याएका छन्। राज्यले थाहा पाएर पनि उनको यो गैरकानुनी हर्कतमाथि हात हाल्न सकेको छैन।

नसरीको हरिपुरबाट मधेसी टाइगर नामको हतियारधारी समूहले २०६४ कात्तिकमा खेदाएका ५८ परिवारमध्ये ४२ परिवार आयोजनाको चतरास्थित त्यही नहरको डिलमा बसेका थिए। तिनीहरू सबैलाई बल प्रयोग गरेर प्रहरीले उठाएको थियो। आयोजनाले आफ्नो जग्गा प्रयोग गर्न जनतालाई उठाएपछि खाली ठाउँमा आएर बसेका जोगी भेषका गिरीप्रति नतमस्तक भयो।

सुरुवातमा बाल सन्तसँग बस्दै गिरीले बराह क्षेत्रस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको १३ बिघा जग्गा आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बाहनामा कब्जा गरे। २०६४ सालमा उनले चतराको सोइल कन्जरभेटिभ क्षेत्रमा सुरुमा ‘आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न’ भनेर २३ घरपरिवारलाई विस्थापित गराएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर ‘भैंसी पूजा’ गर्नसमेत लगाए।

२०६४ सालमा बस्‍न सुरु गरेका गिरीले २०७४ सालसम्म आइपुग्दा १३६ कोठे आलिसान भवन बनाउन सफल भए। सहसचिवस्तरको कर्मचारीले नेतृत्व गर्ने सुनसरी-मोरङ सिँचाइ परियोजनाको मुख टाल्न १३६ कोठे भवन मुलुककै उच्चपदस्थ व्यक्ति अर्थात् राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उद्घाटन गर्न लगाए।

यस्ता छन् गिरीविरुद्ध 'पेण्डिङ’ का मुद्दा

गम्भीर फौजदारी मुद्दा भएकाले यसपटक भने बलात्कारको आरोपमा कृष्ण गिरी प्रहरीको नियन्त्रणमा छन्। यसअघि पनि जेल जानसक्ने गरी मुद्दा परे पनि गिरीविरुद्ध ती मुद्दामा छानबिन अझै हुन सकेको छैन।

गिरीले सुनसरीमा रहँदा आफूले जग्गा मासेपछि नाताले भाइ पर्ने कृपाध्वज गिरीलाई झिक्न नमिल्ने खाताको पाँच लाख रुपैयाँको चेक दिएका थिए। २०७१ पुस ११ गते मेगा बैंकको खाता नम्बर ००१००५०२०९०१४ र २०४३७७७५ नम्बरको चेकमा आवश्यक रकम नभएपछि कृपाध्वजले काठमाडौं जिल्ला अदालतमा ‘चेक अनादर मुद्दा’ हालेका थिए। उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ।

विनपमय अधिकार पत्र ऐन २०३४ अनुसार चेक अनादारको मुद्दामा गिरी तीन महिनासम्म जेल चलान हुन सक्छन्। ऐनले चेक रकमको व्याजसहित ३ हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ। ऐनको दफा १०७ क मा बैंकमा निक्षेप नभएको वा पर्याप्त छैन भन्‍ने जानी जानी कुनै व्यक्तिले चेक काटेमा तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

चेक अनादार मात्र होइन, गिरीलाई दोहोरो नागरिकतासमेतको उजुरी परेको छ। गिरीले सोलुखुम्बुबाट कृष्णबहादुर गिरी र सुनसरीबाट वैष्णव कृष्णदासको नामबाट नागरिकता लिएका छन्।

सोलुखुम्बुबाट लिएको २२२७/५९५ नम्बरको नागरिकतामा जन्ममिति २०३० साल मंसिर १० गते उल्लेख छ। यसैगरी, २०६५ साल पुस १७ गते सनुसरीबाट लिएको ०६९००४/१३२८०८ नम्बरको नागरिकतामा जन्ममिति २०३१ साल फागुन १९ रेहको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.