|

विश्वकपसहित सबै प्रतिष्ठित उपाधि जितिसकेका स्पेनिस मिडफिल्डर जाभी अलन्सोले सन्यास लिने समाचार अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुमा भाइरल बनेको छ। 

‘लिभरपुलका लिजेन्ड जाभी अलन्सोले यस सिजनको अन्त्यमा सन्यास घोषणा गर्ने तय भएको छ,’ बेलायती वेवसाइट द सनले लेखेको छ। मिरर, मेट्रो लगायतका चर्चित बेलायती वेवसाइटमा पनि यस समाचर प्राथमिकताका साथ छापिएको छ। 

जर्मन क्लब बार्यन म्युनिखसँगको उनको सम्झौता अवधि यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ। ३५ वर्षका अलन्सोले आफ्नो खेल जीवनमा १ पटक विश्वकप तथा २ पटक युरोकप जितेका छन्। उनले  युरोपेली क्लब फुटबलको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि दुई पटक जितेका छन्।

सन् २००४ मा रियल सोसिडाडबाट १०  दशमलव ५ मिलियन पाउन्डमा उनी लिभरपुल सरुवा भएका थिए। उनले पहिलो सिजनमै लिभरपुललाई च्याम्पियन्स लिग जिताए। इस्तानबुलमा भएको फाइनलमा उनले एसी मिलान विरुद्ध गोल गरेका थिए। आफ्नो पेनाल्टी प्रहार मिलानका डिडाले जोगाएपछि रिबाउन्डमा फर्किएको बललाई उनले जाली चुमाए।  यस गोलसँगै मिलानसँग बराबरी गरेको लिभरपुलले टाइब्रेकरमा खेल जितेर उपाधि चुमेको थियो। 

आफ्नो ५ वर्षे करियरका दौरान अलन्सो लिभरपुलमा निकै चर्चित थिए। सन् २००९ मा स्पेनिस क्लब रियाल म्याड्रिड आएका उनले ५ वर्षे म्याड्रिड बसाईका क्रममा सन् २०१२ मा स्पेनिस लालिगा र सन् २०१४ मा च्याम्पियन्स लिग जिते।

उनले स्पेनबाट सन् २००८ र २०१२ को युरोकप तथा सन् २०१० को विश्वकप फुटबलको उपाधि जिते। सन् २०१४ मा बार्यन म्युनिखमा आबद्ध भएका अलन्सोले सुरुआती दुई सिजन जर्मन बुन्डेसलिगा जितेका थिए। सन्यास लिनुअघि उनी बुन्डेसलिगा उपाधिमा ह्याट्रिक गर्न चाहन्छन्।

अलन्सो आफ्नो पुस्ताका निकै क्रियटिभ मिडफिल्डरमध्ये एक मानिन्छन्। उनी अहिले पनि म्युनिखका महत्वपूर्ण खेलाडी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.