|

सोलुखुम्बु : गुदेल हवाईमैदान निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा शुक्रबार उच्चस्तरीय छलफल भएको छ। सोलुखुम्बुका सांसद हेमकुमार राई (शुरीर)को नेतृत्वमा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीसहितको टोलिले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग छलफल गरेको हो।

इआईए रिपोर्टमाथि छलफल सकिएर पुरक रिपोर्टको अन्तिम तयारीमा रहेकाले एक साताभित्रै डिपिआरको काम सुरु गर्ने छलफलको निष्‍कर्ष रहेको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। पूरक रिपोर्टको टिप्पणीसमेत उठाईसकिएकाले सोमबारसम्म पर्यटन मन्त्रालयमा बुझाई सकिने बताइएको छ।

छलफलको क्रममा संघीय सांसद हेमकुमार राई (शुरवीर)ले चाडै डिपिआर तयार गरि निर्माणको काम सुरु गर्न आग्रह गरेका छन्। कोसीपारीका हजारौँ नागरिकको गुदेलबाट हवाईजहाज चढ्ने सपना साकार पार्न सम्बद्ध निकायसँग सांसद राईसहितको टोलीले माग गरेको छ।

यता, पर्यटनमन्त्री योगेश भट्टराई र प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत जतिसक्दो चाँडो काम सुरु गर्ने आश्वसन दिएको गाउँपालिका अध्यक्ष किराँतीले जानकारी दिए। सबैभन्दा धेरै विमानस्थल भएको जिल्लाको रुपमा परिचित सोलुखुम्बुको चार वटामध्ये दुईवटा विमानस्थल बन्द अवस्थामा छन्।

नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको स्याङ्बोचे र तल्लो क्षेत्रमा रहेको काँगेल डाँडा विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ। तर, भौगोलिक रूपमा निकै विकट र पर्यटकीय हिसाबले समेत महत्व बोकेको क्षेत्र गुदेलमा निर्माण हुने हवाई मैदान दिगो रूपमा सञ्चालन गर्न सकिने सरोकारवालाको दाबी छ।

गुदेल विमानस्थलमा आएका पर्यटक बुङ हुँदै सगरमाथा क्षेत्र जान सक्छन् भने कोशीपारिका दुई गाउँपालिकाका स्थानीयको लागि यो पायक पर्ने विमानस्थल बन्नेछ। महाकुलुङ क्षेत्रमा रहेको विभिन्न हिमश्रृंखला तथा तालहरू पर्यटकीय गन्तव्य भए पनि यातायात र प्रचारप्रसारको अभावले ओझेमा परेको छ। गुदेलमा निर्माण हुने विमानस्थल र सिधा सडक पहुँचपछि भने यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनेसमेत यहाँका स्थानीयले विश्वास लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.