|

बैतडी : बालबालिका नियमित रुपमा विद्यालय उपस्थित गराउने उद्देश्यले बैतडीका प्रत्येक सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन हुने भएको छ। नेपाल सरकारको नीति अनुसार सबै विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन हुने भएको हो।  

शिशु कक्षादेखि कक्षा ५ का सम्मका विद्यार्थीलाई दिवाखाजा कार्यक्रमअन्तर्गत खाजा उपलब्ध गराइने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।

जिल्लाभरिका ५३८ वटा सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन हुने इकाई प्रमुख अवस्थीको भनाई छ। प्रति विद्यार्थी १५ रुपैयाँका दरले दिवाखाजा कार्यक्रम सञ्चालनका लागि सम्बन्धित पालिकामार्फत विद्यालयको खातामा पैसा जाने शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ। 

आधारभूत तहका विद्यार्थी कुपोषित नहोउन र उनीहरुको शारीरिक र मानसिक विकाससँगसँगै होस भन्ने हेतुले यो कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको उनले बताए। विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। उनले  भने,' विद्यार्थीलाई १८० दिन विद्यालयमै दिवाखाजाको व्यवस्था गर्ने गरेर तयारी भइरहेको छ।' 

दिवाखाजा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन जिल्लास्तरका सरोकारवालासँग छलफल सकिएको र अब पालिकास्तरमा छलफल गरी चाँडै दिवाखाजा कार्यक्रम सञ्चालनमा ल्याउने जनाइएको छ। यसअघि पनि बैतडीका केही विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालनमा रहेकोमा अवका दिनमा सबै विद्यालयमा सो कार्यक्रम विस्तार गरिएको हो।

दिवाखाजा कार्यक्रमले बालबालिका नियमित रुपमा विद्यालय आउने विश्वास समेत गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.