|

उदयपुर : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा प्रदेश-१ कै ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ।

बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा बसपार्कमा अहिले सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले निर्माण सुरु गरेको हो। बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै नमुना बसपार्कको रूपमा निर्माण हुन लागेको छ।

यसअघि नै बसपार्कमा टिकट काउन्टर हाउसको निर्माण भए पनि अहिले बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतीक्षालय निर्माण कार्य सुरु भएको आयोजनाका इन्जिनियर ब्रह्मदेव चौधरीले जानकारी दिए।

‘शहरी विकास मन्त्रालयले बसपार्क निर्माण गर्न रकम विनियोजन गरेपछि नक्सांकन गरेर निर्माण तथा व्यवस्थापन कार्य अगाडि बढाइएको छ' आयोजनाका प्रमुख चौधरीले भने ‘रमण आइएसएलवी जेभिले ठेक्का लिएर निर्माण सुरु गरेको छ।’

निर्माण कम्पनीले करिब १५ करोडको लागतमा काउन्टर र  प्रशासनिक भवन निर्माणको जिम्मा पाएको छ। सम्झौता भएको ३० महिनाभित्र बसपार्क निर्माण सम्पन्न गरि सक्ने गरी गत असारमा आयोजना कार्यालय र निर्माण कम्पनीबीच सम्झौता भएको थियो।

सुनसरीको चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत र सगरमाथा राजमार्गमा सञ्चालन हुने सवारीका साधनलाई समेत आगामी दिनमा पार्किङ गर्ने लक्ष्यका साथ बसपार्क निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.