|

सल्यान : शारदा नगरपालिका-१, शान्तिनगरका बादी समुदायका महिला च्याउखेतीतर्फ आकर्षित भएका छन। बादी समुदायको बसोबास रहेको शान्तिनगरका महिला च्याउखेतीतर्फ आर्कषित हुन थालेका हुन्।

शारदा नदी किनारमा बालुवा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका महिला च्याउखेतीलाई व्यावसायिक बनाउँदै आएका छन्। कम लगानी र परिश्रममा राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीमा आकर्षित भएको उनीहरूको भनाइ छ। उनीहरूले उत्पादन गरेको च्याउ स्थानीय बजारमा २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

मजदुरीबाट मात्र परिवार धान्न गाह्रो भएपछि च्याउ खेतीतर्फ लागेको पुष्पा बादीले बताइन्। उनले भनिन्, ‘दिनभर शारदा नदी किनारमा बालुवा गिट्टी संकलन गरेर बचेको समयमा च्याउ खेतीमा लगाउने गरेका छौँ।’ च्याउबाट एकै सिजनमा ४० हजारसम्म कमाउन थालेको बादीको भनाइ छ। उनका अनुसार आफूहरूको आम्दानी देखेर अन्य समुदायका महिलाले समेत च्याउखेती गर्न थालेको छन्।

सुनीता बादीले घरमै च्याउका ४० पोका राखेको बताइन्। मजदुरी गर्ने, गिट्टी कुट्ने र बालुवा संकलन गर्ने कामले घरखर्च चलाउन धौ-धौ भएपछि च्याउ खेतीमा लागेको उनको भनाइ छ। उनले भनिन्, ‘केही वर्ष सामूहिक च्याउखेती गर्‍यौँ, आफ्नै जग्गा नहुँदा फस्टाएन, त्यसैले छुट्टिएर घरघरमा च्याउखेती गर्ने निर्णयमा पुगेका हौँ। अहिले राम्रै आम्दानी भइरहेको छ।’

उनले सिजनमा ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन्। च्याउ खेती गर्न थालेपछि घरखर्च टार्न र छोराछोरी पढाउन सजिलो भएको उनको भनाइ छ।

आफ्नै जग्गा नहुँदा ठूलो परिणाममा च्याउखेती गर्न नसकिएको बादी महिलाको गुनासो छ। जनता आवास कार्यक्रममार्फत निर्माण गरिएका दुई कोठे भवनमध्ये एउटा कोठामा च्याउखेती गर्ने गरिएको स्थानीय निर्मला बादीले बताइन्।

स्थानीय देवी बादीले च्याउबाट आम्दानी हुन थालेपछि सामूहिक रूपमा केही रकम बचत गर्दै आइरहेको बताइन्। राज्यले किसानहरूलाई अनुदानभन्दा बजारीकरणको वातावरण बनाइदिए च्याउ खेतीतर्फ किसानहरूको आकर्षण झनै बढ्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.