|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पछिल्लो एक वर्षभित्रै २ सयभन्दा बढी घरेलु तथा साना उद्योग थपिएका छन्। आर्थिक वर्ष २०७५÷७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीले जनाएको छ।

यसैगरी सोही अवधिमा १सय ३४ वटा व्यवसायिक फर्म दर्ता भएको कार्यालयकी उद्यम विकास सहजकर्ता सिता कुँवरले जानकारी दिए। आर्थिक वर्ष २०७४र७५ मा २८४ वटा उद्योग र ११३ वटा वाणिज्य फर्म दर्ता भएका थिए। स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको, बजार अनुगमनको प्रभाव र ब्यवसाय गर्नेहरु समेत सचेत भएकाले नयाँ आर्थिक वर्ष सुरु भएयता दर्ता हुने क्रम बढेको कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले बताए।

साउन १ गतेदेखि यता ६९ वाणिज्य फर्म र २३ वटा उद्योग दर्ता भएका छन्। गत आर्थिक वर्षमा १३ वटा उद्योग र ३१ वटा वाणिज्य फर्म खारेज भएका छन्। २५० वटा उद्योग र ४९१ बणिज्य फर्म नविकरण भएको छ। उद्योग तथा वाणिज्य फर्म दर्ता र नविकरण वापत ४७ लाख तीस हजार ८५० रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्ष ३२ लाख ७७ हजार ७९५ रुपैया राजस्व संकलन गरेको थियो। जिल्लाभर एक हजार ८४६ वाणिज्य फर्म र दुई हजार ४४ उद्योग सञ्चालनमा छन्।

पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामुलक उद्योग दर्ता बढेको छ। बिमा, बैङ्क कर्जा र अनुदान सुबिधाका लागि ब्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ। बर्षौदेखि ग्रामिण क्षेत्रमा सञ्चालन हुदै आएका उद्योग तथा फर्महरु समेत दर्ता हुन थालेका कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।
महिलाको नाममा उद्योग र वाणिज्य फर्म दर्ता गर्न छुट सुबिधा छ।

जतिसुकै पुँजी भएपनि महिला सञ्चालक भएको फर्म दर्ता शूल्क २ सय रुपैयाँ लिइने र उद्योग दर्तामा कुल राजस्वको ३५ प्रतिशत छुट दिने व्यवस्था छ। गत वर्ष फागुन देखि असार मसान्तसम्म नविकरण गर्न छुटेका फर्म तथा उद्योगको नविकरणको सुबिधा दिएको थियो। यसैगरी कार्यालयले ८२ जनालाई उद्यमशिलता विकास तालिम दिएको छ।

१९४ जनालाई स्थानीय तहहरु समेतको सहकार्यमा सिलाई कटाई, सवारी चालक, ब्युटीपार्लर, कम्प्युटर हार्डवयर र आधारभूत, वायरीङ सम्बन्धी सिपमुलक तालिम दिइएको थियो। गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत पहिले सिर्जना भएका उद्यमीको क्षमता विकास र नयाँ उद्यमी उत्पादनका लागि तालिमहरु सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.