|

सिन्धुपाल्चोकः २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनासहितको ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्धामा आइपुग्नै लाग्दासमेत सरकारले तोकेका ‘हण्ड्रेड डेस्टीनेशन्स’मा संघीय सरकारको ध्यान पुगेको छैन।

भ्रमण बर्ष-२०२० का लागि संघीय सरकारले ताेकेका एक सय गन्तव्य सूचीमा सिन्धुपाल्चोकका तीन गन्तव्य पनि छनाेट गरिएकाे छ। तर संघीय सरकारले गन्तव्य क्षेत्रकाे विकासमा खासै ध्यान नदिएको स्थानीय सरकारका प्रतिनिधिहरुले गुनासो गरेका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘हण्ड्रेड डेस्टीनेशन्स’मा जिल्लाको भोटेकोसी-सुनकोसी नदीमा ‌र्‍याफ्टिङ र बन्जी जम्पलाई एउटा गन्तब्य मानेको छ। सरकारी छनोटमा पर्यटकीय क्षेत्र हेलम्बु र पाँचपोखरीलाई पनि समावेश भएकाे छ। ती ‘एक सय गन्तब्य’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यनुसार सरकारले ५० करोड रुपैयाँ पनि छुट्याएको छ। तर, पनि छानिएका अधिकाशं पर्यटकीय गन्तव्यस्थल अझै तंग्रिन सकेका छैनन्।

अझै हुन सकेनन् व्यवस्थित, पर्यटक आगमनमा कमी
पर्यटन वर्ष-२०२० आउन एक महिना मात्रै बाँकी रहँदापनि जिल्लामा छानिएका तीन ‘डेस्टीनेशन्स’ पुनर्निर्माण र प्रवर्द्धन अभावमा अझै व्यवस्थित बन्न नसकेका हुन्।

एकै क्षेत्रमा पर्ने हेलम्बु र पाँचपोखरीमा वि.स‌ं. २०७२ सालको भुकम्पअघि बार्षिक करीब ३६ हजार स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्थे। हेलम्बुको बस्तीदेखि पाँचपोखरीको विभिन्न धार्मिकस्थल अवलोकन पर्यटककाे राेजाइमा परेका थिए। 

तर, भूकम्पले ध्वस्त भएकाे यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाहरु पुनर्निर्माण हुन नसक्दा गत वर्षसम्म बार्षिक करिब १० हजार पर्यटक मात्रै आउने गरेका थिए।

स‌ंघीय सरकारले खासै चासाे नदेखाएपछि हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पर्ने सो क्षेत्रमा स्थानीय सरकारले नै पर्यटन प्रवर्द्धनमा ध्यान दिन थालेकाे छ । आफ्ना प्राचीन महत्वका मन्दिर, गुम्बा, घ्याङ पुनर्निर्माण गर्न थाले पनि यो पर्याप्त हुन सकेको छैन। स्थानीय सरकारसँग पुग्दाे बजेट नहुँदा अधिकांश सम्पदाहरु अझै पनि भग्नावशेषकै रुपमा छन्।

सरकारले कुनै ठोस कदम चालेन : जनप्रतिनिधि
ह्योल्मो जातीको उद्गमस्थल मानिने तार्केघ्याङ, पद्मसम्भव (गुरु रिन्पोछे) को गुफा, चिरीगुम्बा, मेलम्चीघ्याङ, महादेव पाइला, आमायांग्री, पाँचपोखरी लगाएतका स्थान पर्यटकको प्रमुख गन्तव्यका रुपमा चिनिन्छन्। तिब्बती महायोगी मिलारेपा र अति प्राचिन गुम्बामा हुने महत्वपूर्ण पुजामा आउने पर्यटक प्रशस्त छन्। 

‘तर, ती स्थानमा पर्यटक पुग्ने वातावरण अझै बन्न सकेको छैन्,’ हेलम्बु गाउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने –‘त्यसको लागि सरकारले कुनै ठोस कदम चालेको छैन।’ 

चीनको विशाल ग्रेटवालपछि विश्वकै दोस्रो ठुलो ‘हिमालयन ग्रेट वाल’ बनाइरहेको हेलम्बुले धार्मिक पर्यटनसँग जोडेर पर्यटकीय पदमार्ग र योजना बनाइरहेको छ। ह्योल्मो भुमी हेलम्बुको शेर्माथान्, मेलम्चीघ्याङ हुँदै पाँचपोखरीमा पर्यटकको लागि  होटेल, रिर्सोट पूर्णरूपमा व्यवस्थित र पर्याप्त बनिसकेका छैनन्। ‘सडक सञ्जाल जोडिएपनि अन्य तयारी भने धेरै नै बाँकी छन्, पर्यटन बर्ष २०२० हल्ला मात्रै जस्तो बनेको छ,’ गाउँपालिकाका अध्यक्ष शेर्पाले भने। 

पूर्वाधार निर्माण नहुँदा अस्तित्व संकटमा
गुरु रेन्पोछे पदमसंम्भव, महायोगी मिलारेपादेखि थुप्रै लामाको गुफा रहेको हेलम्बु र महादेवले खेती गरेको मानिने पाँचपोखरी, ढुपरेन्जेन् भीर, ठुलो ढुंगा, अमिलो पानी सबै अलपत्रजस्तै छन्। 

‘यसको प्रचारप्रसार र उत्कृष्ट गन्तव्य उभ्याउने कुनै बलियो अभ्यास भएको छैन’, पाँचपोखरी थाङपाल गाउपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले भने –‘पर्यटन  बर्ष २०२० दैलोमा आइपुग्दा पनि यसको हल्ला मात्रै पिट्ने काम भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.