'कमै मूल्‍यमा पनि काम नगरे चुलो बल्दैन'

|
हेटौंडाको बुद्धचोकमा हरेक दिन बिहानै जम्मा भएका श्रमिक

हेटौंडा : हेटौंडाको बुद्धचोकमा श्रमिकहरू एकाबिहानै जम्मा हुन्छन्। कामको खोजीमा दैनिक चोकमा आउने श्रमिकहरूले आफ्नो श्रमको मूल्‍य लिन बार्गेनिङ गरिरहनुपरेको हुन्‍छ।

हरेक दिन बिहान हेटौंडा बजारको मुख्य चोकमा करिब चारसय मजदुरको भिड लाग्छ। दिनहुँ काम खोज्ने र काम दिने पक्षबीच बजारका रुपमा रहेको उक्त सीमित घेरालाई मजदुरहरू 'लेवर चोक'भन्छन्।

त्यहाँ घर बनाउन ठेक्का लिने पक्ष, घरधनी, सिकर्मीदेखि घर बनाउन आवश्यक कच्चापदार्थ आपूर्तिकर्ताहरू निकै व्यस्त र तनाव अवस्थामा रहन्छन्। करिब एक घण्टाको व्यस्‍ततापछि उक्त चोक रित्तिन्छ। किनकि, श्रमिकहरू आआफ्नो कार्यस्थलमा जिम्मा लिएको काम गर्न जान्छन्। यो नै हेटौंडा क्षेत्रको सम्भवतः एक मात्र श्रम बजार हो।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका मजदुरका कैयौं समस्या छन्, जसलाई राज्यको नीतिले सम्बोधन गर्न सकिरहेको छैन। एकाबिहानै दैनिक रोजीरोटीका लागि आउने श्रमिकहरू निर्माण व्यवसायीसँग आफ्नो श्रमको मूल्य तोक्छन् र दिनभर काममा खटिन्छन्। कसैले त आफ्नो श्रमको मूल्य कम भन्यो भने मात्र पनि त्यो दिन उनीहरू घर फर्कनुको विकल्प हुँदैन।

श्रमको पसिना पानी बगेसरह

हेटौंडा बुद्धचोकमा भेटिएका पर्साका राजकुमार साह बिहान ४ बजे नै खाना बनाएर टिफिनमा हाल्छन् अनि बुद्धचोकमा कामको खोजीका लागि उपस्थिति हुन्छन्। कामको मूल्य मिले काममा जाने, नमिले डेरामा फर्किन बाध्य हुन्छन् साह।

साह भन्छन्, 'हाम्रो पसिना पानी बगेसरह निर्माण व्यवसायीका लागि हुन्छ। पैसा कम भयो भने ठेकेदारले भोलिदेखि काममा नआउन भन्छन्। त्यसैले बाध्य भएर जति दिए पनि काम गर्न बाध्य छौं।'

हचुवाको भरमा ज्‍याला

बाराको कलैयाबाट करिब ४ वर्षअघि हेटौंडा आएर घर बनाउने ठेकेदारी काम गरिरहेका रामलगन यादवले घरधनीसँगको बार्गेनिङअनुसार घर बनाएको ज्याला तय गरिने बताए। वर्गफुट वा हचुवाको भरमा भए पनि पैसा लिने गरी आफूहरूले काम गर्ने बताए।

उनले आफ्नो पकडमा रहेका निर्माण मजदुरलाई अन्यत्र जान नदिन ठूलै मिहिनेत गर्नुपर्छ।  ठेकेदार चित्त नबुझे मजदुरहरू अर्को ठेकेदारको खेमातिर पुग्छन्। र, उनीहरूले भनेबमोजिम निर्माणको काम गर्छन्।

लामो समयदेखि चल्दै आएको यस्तो बजारमा घरधनीलाई आकर्षित गरेर ठेक्का हत्याउन ठेकेदारहरू कम्मर कसेर लागिरहेका देखिन्छन्। उनीहरू घर निर्माण गरिदिने ज्याला, इँटा, ढुंगा, बालुवा, रड र सिमेन्टलगायत निर्माण सामग्री निर्माणस्थलमा ल्याउन घरधनीले कुनै प्रकारको दुःख गर्नु नपर्ने आश्वासन बाँड्छन् र कामको ठेक्का लिन्छन्।

श्रममा लैंगिक विभेद

श्रमका लागि पुरुष मात्र होइन, महिलाको पनि उत्तिकै सहभागिता छ। महिला पनि पुरुषसरह दिनभर खटिन्छन्। तर, जति ज्याला पुरुषले पाउँछन्, त्यही काम महिलाले गर्दा कम ज्याला पाउने श्रमिक महिलाको गुनासो छ।

हेटौंडाकी पार्वती बर्तौला श्रमिक महिला हुन्। उनी दैनिक ज्याला/मजदुरी गर्दै घरको दैनिकी चलाउँदै आएकी छिन्। तर, उनले दैनिकरूपमा पाउने ज्याला भने पुरुषको भन्दा कम हुने उनले बताइन्। सँगै र एकै प्रकारका काम गर्ने पुरुषको भन्दा एकदेखि दुई सय रुपैयाँ कम ज्याला पाउने गरेको उनी बताउँछिन्।

आफूसँगै काम गर्ने पुरुषले सात सय रुपैयाँ पाउँदा आफूले ६ सय रुपैयाँ मात्र पाउने गरेको बर्तौलाले बताइन्। पुरुषले भन्दा बढी काम गरे पनि महिलाको कामको मूल्यांकन हुँदैन। 'काम नगरे साँझ चुलो बाल्न सकिँदैन। त्यसैले कम पैसामा भए पनि काम गर्न बाध्य छौं,’ उनले भनिन्।

  असंगठित क्षेत्रका यी मजदुरहरूले निर्माणस्थलमा हुने दुर्घटनाको क्षतिपूर्तिसमेत पाउँदैनन्। हेटौंडाका श्रमिक राजु आचार्यका अनुसार यदि निर्माणस्थानमा श्रमिकलाई केही भइहाले श्रमिकहरू आफैंले १०/२० रुपैयाँ उठाएर उपचारका लागि खर्च निकाल्ने गरेको बताए। यस्ता कार्यका लागि निर्माण व्यवसायीले सहयोग गर्ने नगरेको आचार्यले गुनासो गरे।

अधिकांश भारतीय मजदुर

त्यहाँ कामको खोजीमा आउनेमध्ये अधिकांश भारतीय मूलका मजदुर हुन्छन्। रक्सौल, मोतीहारी र घोडासनलगायत ठाउँबाट भारतीय मजदुर बढी आउने गरेका देखिन्छन्। राज्यले योगदानमा आधारित पेन्सन प्रणाली लागू गरे पनि यहाँका यी मजदुरलाई भने यो नीतिले समेट्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.