|

 

यो छातीभित्र अमिट, मिठो गाउँकै स्नेह बोकी

खोज्दै आएँ प्रगतिपथ यो पाइला नै नरोकी

साथीसङ्गी कुन लहडमा जिन्दगी कल्पँदै छन्

मेरा आफ्ना दिन विगतका यादमा अल्झँदै छन्। 

 

खेल्दै हुर्केँ म रनवनका पालुवा सुम्सुम्याई

निष्फिक्री ती कुसुमलहरा कानमाथि सजाई

भाका थप्दै प्रकृतिरसका गीत ती गुन्गुनाई

ल्यायो कसले अमरपुरमा, आज छोरी बनाई?

 

त्यो कालिञ्चोक शिखर अहा! बग्छ चीसो बतास

हाँस्दै फुल्छन् सहज हिउँमा स्निग्ध सेता गुराँस 

तामाकोशी अझ रगतका बूँदमा बग्छ मेरो

रस्तीबस्ती र बनपहरा स्वर्गको एक फेरो।

 

मेरो जन्मस्थल छ पहिलो, झुल्कँदो घाम जस्तै

मेरै माटो छ शितल सदा जूनको ताप जस्तै

सारा पीडा र दुखहरुमा शान्ति भेट्छु जहाँ म

यस्तो चोखो, सरस, ममता, पाउँला खै कहाँ म?

 

त्यो गौरीशंकर हिमगिरी दोलखाको सिरानी

च्छोरोल्पाको मन, नयनमा छैन कोही बिरानी

उस्तै चोखो अमर रसिलो प्रेमको फूलबारी

मेरो सुस्पा, सजल मनमा सम्झनाको छहारी।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.