|

म्याग्दी : प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा एकवर्षमा नेपालका ६९ जिल्लाका बिरामीले स्नान गरेका छन्।

विभिन्न रोगको उपचार हुने कुण्डमा गत आर्थिक वर्ष ०७५/७६ मा ६९ जिल्लाका करिब १९ हजार बिरामीले ७ देखि १० दिनसम्म डुबेर स्वास्थ्यलाभ प्राप्त गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

 प्रयाप्त पूर्वाधार, बिरामीको सुरक्षा, कर्मचारीको न्यानो स्वागत सहितको सेवाका कारण विगतका बर्षको तुलनामा बिरामीको संख्या ह्वात्तै बढेको कुण्ड व्यवस्थापन समितिका महासचिव कृष्ण खड्काले बताए।

‘बिरामीको सुरक्षाका लागि सिसिक्यामेरा जडान गरिएको छ,‘पूर्वाधारले समेत बिरामीको चाप बढ्न थालेको छ’ खड्काले भने।

 कुण्डमा स्नान गर्ने आउने बिरामी पहिलोपटक भन्दा पटकपटक आएका अत्याधिक रहेको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ। कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन्।

समूहमै आउँछन् विदेशी

पछिल्लो समय होटल व्‍यवसायसमेत फस्टाउन थालेपछि विदेशीले समेत हप्तादिनसम्म स्नान गरेर फर्किने गरेको अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। ‘नियमित आउने विदेशीको संख्या पनि बढ्न थालेको छ,‘समूहमै आउन थालेका छन्’ शाक्यले भने।

विदेशका ठूला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर आउने विदेशीमा भारतको सिक्किमसहितका राज्यबाट ३४ जना, बंगलादेश २, जापान २, स्पेन १ लगायत विभिन्न सार्क राष्ट्रबाट एकहप्तासम्म स्नान गरेर फर्किएको अध्यक्ष शाक्यले बताए।

उनले एकदिने अवलोकनमा करिब २० हजारको हाराहारीमा बिरामी आएको बताए। परिवारको सहयोगमा कुण्डमा आएका धेरै बिरामी घर फर्किने बेलामा आफ्नै खुट्टाले टेकेर जाने गरेका धेरै दृश्‍य देखेको शाक्यको भनाइ छ।

५७ डिग्रीको तातोपानी

४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहानबाट आउने वीरेनुन र गन्ध (सल्फर) तत्व सहितको  गन्धक आफैँमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ।

धेरै स्नान गर्न आउनेमा बागलुङ

ठूला अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट आएका कुण्ड व्यवस्थापन समितिको तथ्यांक रहेको छ।

व्यवस्थापन समितिको तथ्यांकअनुसार बागलुङबाट एक वर्षमा  ६ हजार २१४ जना बिरामी उपचारका लागि तातोपानी कुण्डमा डुबेर स्नान गर्नका लागि आएका छन्।

त्यसैगरी म्याग्दीबाट ४ हजार ९२८, कास्कीबाट १६ सय ९७, पर्वतबाट १२ सय ६१, रुपन्देहीबाट ७ सय ७६, काठमाडौं र  भक्तपुरबाट  ९८२, मुस्ताङबाट  ४२१, नवलपरासी पूर्व र पश्चिमबाट  ३७७, चितवनबाट  ४२६, तनहुँबाट १९१, गुल्मीबाट १२३, नुवाकोटबाट ६९, स्याङ्जाबाट ६०,मनाङबाट ११, गोर्खाबाट २७, प्युठानबाट  २८ लगाएतका जिल्लाहरुबाट आएका छन्।

कुण्डमा स्नान गर्नेमा  ११ हजार ५७१ जना महिला र ६ हजार ६९६ जना पुरुष रहेका छन्। पछिल्लो समयमा जुम्ला, जाजरकोट, पर्सा, सिराह, सर्लाही, रौतहट, महोत्तरीबाट समेत बिरामी आउन थालेका कुण्ड व्यवस्थापन समितिका कर्मचारी मेखी खत्रीले जानकारी दिइन्।

विभिन्न रोग निको हुने विश्वास

तातोपानी कुण्डमा डुबेर स्नान गर्दा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, नशा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुने जनविश्वास रहेको छ।

जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको बिरामीको भनाइ छ। शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारका खुसी थपेको छ।

नेपालकै उत्कृष्ट तातोपानी कुण्ड

नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्‍यवस्थापन समितिको भ्रमणको रोजाइमा समेत परेको म्याग्दीको तातोापनी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो।

विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम संख्यामा बिरामी पुग्ने गरेको अवस्थामा सिंगा तातोपानी कुण्डमा भने बाह्रै महिना बिरामी आउने गरेका छन्। कुण्डको व्‍यवस्थापन, पूर्वाधार, बिरामीको चाप नेपालमै पहिलो र उत्कृष्ट भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले दाबी गरेको छ।

कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्डलाई स्थानीयको मिहिनेतमा बिरामीको उपचार केन्द्र बनेको छ। म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयले चार दशकसम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोग गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए।

स्थानीयले बिहान बेलुकी स्नान गृहको रूपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ। वि.स २०४२ सालमा फेलापरेको तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेका अध्यक्ष शाक्यको भनाइ रहेको छ।

घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृतिम रूपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको अवस्था छ।

बढ्दो आकर्षण

वीरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृत्रिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौँसम्म स्नान गर्न सकिने सुविधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको कुण्ड व्‍यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

उनका अनुसार एक दिनमा दुई पटक डेढ/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म ब्ल्यांकेट, कम्बल आदि न्याना कपडा ओढेर शरीरबाट खलखल पसिना निकाल्ने गरिएको छ।

तातोपानी पिउनुलाई स्वास्थ्यव्रर्द्धक मानिएको छ। कुण्डमा नेपालका भिआइपीसमेत पुगेर स्नान गर्ने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.