|
फाइल फोटो

काठमाडौं : संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारूढ दलकै सांसदले आशंका व्यक्त गरेका छन्।

राजधानी काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयकसम्बन्धी छलफलमा सहभागी सत्तारूढ दलका सांसदले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुने विषयमा नै आशंका व्यक्त गरेका हुन्।

नेकपाकी सांसद बिन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्दर्भमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद अधिवेशनमा पेस हुन नसकेको नागरिकता विधेयकमा सहजै सहमति जुट्ने सम्भावना आफूले नदेखेको बताइन्।

उनले नेपालीसंग विवाह गरेर आउने विदेशी नागरिक महिला वा पुरुषको हकमा सात वर्षपछि अंगीकृत नागरिकता प्रदान गरिने र तत्कालका लागि परिचयपत्र प्रदान गर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा नागरिकता विधेयक संसदीय समितिमा थन्किरहेको बताए। आगामी अधिवेशनमा पनि नागरिकता विधेयक पेस हुनेमा उनले आशंका व्यक्त गरिन्।

कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका सत्तारूढ दलकै सांसद कृष्णभक्त पोख्रेलले नागरिकता विधेयक संसदमा पेस हुन नसक्नुको दोष अरूलाई दिन नमिल्ने भन्दै आगामी अधिवेशनमा पेस गर्ने गरि तयारी गर्न सम्बन्धित समितिका सभापतिलाई आग्रह गरे।

राज्य व्यवस्था तथा शुसासन समितिका सभापति शशी श्रेष्ठलाई सम्बोधन गर्दै यथास्थितिमा विधेयक अघि बढाउन अनुरोध गरे। उनले भने, 'हामी सबै सत्तारूढ पार्टीकै छौँ। हामीले कसलाई भन्ने हो? हामीसँग बहुमत छ। हामीले देखाउने ठाउँ छैन। हामीतिरै फर्कनुपर्छ, हामी। कतैतिर फर्केर हुँदैन। हामीसँग कानुन पास गर्ने बहुमत छ। सबै ताकत लगाएर पास गर्नुपर्छ।'

उनले बाबु पत्ता नलागेका आमाले आफ्नो सन्तानलाई नागरिकता दिने विषय कुनै पनि कानुनले रोक्न नसक्ने भन्दै नागरिकताबाट बञ्चित गर्ने र नागरिकता नभएकै कारण जन्मदर्ता नगर्ने जस्ता प्रवृत्ति रोकिनुपर्ने धारणा राखे।

सांसदले नागरिकता र जन्मदर्ता सम्बन्धमा भएको व्यवस्था पनि कार्यान्वयन हुन नसक्दा आफूहरू वर्षौंदेखि नागरिकताका लागि अदालत धाउन बाध्य भएको भन्दै पीडितहरूले सहज अनागरिक हुने अवस्थाको अन्त्य कहिले हुन्छ भनी प्रश्न गरेका थिए।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा शुसासन समितिमा एक वर्षदेखि छलफल भए पनि नागरिकता विधेयकमा सहमति जुट्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.