|

चाहना चुकुल हो। चुक्ली पनि यसको मित हो। चाहनाको चुकुल र चुक्ली बुझ्न नसक्नेहरूले सुकुल र फजुल छुट्याउन सक्दैनन्। भावनाको भकारी हुन्छ र चाकरी पनि। भावनाको भकारी र चाकरी खुट्याउन नसक्नेहरूले भिखारी र शिकारी चिन्न सक्दैनन्। म घोत्लिन्छु। म सोचमा डुब्छु। चिन्तनमा रमाउँछु। नौटङ्की देख्दा रिसाउँछु। फेरि चाहना र भावनालाई मिसाउँछु। चुल्ठो र पुल्ठो सल्काउने कि बाट्ने? पुनः चुर्लुम्म हुन्छु- चिन्तनमा।

अनुशासन सेती झैँ लुक्नु हुँदैन, खहरे खोला झैँ सुक्नु पनि हुँदैन। यो त माछापुच्छ्रे र सगरमाथा जस्तै आकर्षक र टक्रक्कै देखिने सफेद पहिचानको हुनुपर्दछ। बौद्धिक क्षमता र वैचारिक ज्ञान पाताले छाँगो झैँ रहस्यमय र सिल्करोडको यात्रा झैँ कठिन हुनु हुँदैन। यो त सूर्य किरण जस्तो सबै ठाउँमा एकै किसिमले परेर ताप दिने हुनुपर्दछ

म मेचीको कन्काईको चञ्चलता बोकेर सिरेटो छिचोल्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु, महाकालीको गाम्भीर्य लिएर हुस्सु र कुहिरोको चिसो दहमा पौडने आँट गर्दछु। राजधानीको कहालीलाग्दो प्रदूषणमा पनि पौँठेजोरी खेल्ने हिम्मत राख्छु। म शीतमा शीतलता भेट्छु। तुषारोमा तुक देख्छु। हिउँमा बिउ देख्छु। सरल हिमाल मनपराउँछु। टाकुरामा पनि अङ्कुरा उम्रन्छ भन्ने ठान्दछु। चुली-चुलीमा पनि मिलिजुली बस्ने कुरा सोच्दछु। म तरेली र परेलीमा बयली खेल्न ज्यादै मनपराउँछु।

अनुशासन सेती झैँ लुक्नु हुँदैन, खहरे खोला झैँ सुक्नु पनि हुँदैन। यो त माछापुच्छ्रे र सगरमाथा जस्तै आकर्षक र टक्रक्कै देखिने सफेद पहिचानको हुनुपर्दछ। बौद्धिक क्षमता र वैचारिक ज्ञान पाताले छाँगो झैँ रहस्यमय र सिल्करोडको यात्रा झैँ कठिन हुनु हुँदैन। यो त सूर्य किरण जस्तो सबै ठाउँमा एकै किसिमले परेर ताप दिने हुनुपर्दछ। सिर्जना क्षमता लवाइ खवाइमा र आलोचनामा मात्रै होइन, बानी व्यवहार र यथार्थमा हुनुपर्दछ। कार्यकुशलता कुना-कुनामा गुना गर्ने विवेकसित होइन, छिनाझम्टीमा उपायको 'प्याकेज' दिने विवेकीसँग पो हुन्छ! प्यारो बन्ने माध्यम घुमाउरो धापलाई बनाउनु हुँदैन, व्यावहारिक छापलाई बनाउनुपर्दछ। चाहनाका खात लाग्छन्। चाहनापूर्तिका क्रममा जीत हुँदा अनुहारमा मात देखिनुहुन्न। हारका समयमा मुहारमा रात पनि पर्नुहुन्न। सामाजिक आहतमा राहतको व्यवस्था होस् वा राजनैतिक विपतमा जनताको अभिमत नै किन नहोस्, समयसापेक्ष गतिशीलता अपरिहार्य हुन्छ। गतिशीलता न कसैको छिर्केनीमा ढल्छ, न कसैको आक्रोश र आवेगमा रोकिन्छ। यो त अविरल हुनुपर्दछ- परिवर्तनका लागि। सबै सहभागी हुन सक्ने सरल हुनुपर्दछ। फेरि पनि गतिशीलता 'न हाँसको चाल न कुखुराको चाल'को हुनुहुँदैन। छल मिसिएको गतिशीलताले बलिदानीपूर्ण परीक्षाहरूमा फेल बनाउनु नौलो होइन। बलले धकेलिएको गतिशीलतामा झेल देखिनु पनि कुनै अचम्मको कुरा होइन। नौलो र अचम्मको कुरा त मेलसँगैको गतिशीलतामा हुने स्वार्थपूर्ण चलखेल पो हुन्छ।

ग्रामीण गोरेटाहरू रूपान्तरणका गतिका प्रतीक्षामा छन्। सहरी सडकहरू सभ्यताको संस्कृति निर्माणको आशामा टोलाएका छन्। समानताका सनातन भनाइ मूर्च्छित हुने अवस्था बनिसकेको छैन। अझै कति हिमाली चेलीहरू झुमा बनेर चलनको सीमा नाघ्न सकिरहेका छैनन्। त्यो पीडामा हिउँ विक्षिप्त बन्यो होला, हिमाल झोक्रायो होला तर चेलीहरू परम्पराको ठिँगुरामा बाँधिए झैँ देउकी बन्न विवश छन्। परम्परा थाक्ने बेला भइसक्यो होला, संस्कृति रोइसक्यो होला। परम्परा चिराचिरा बन्ने छाँट देखिँदैन। सभ्यताको आवश्यकता महसुस गर्ने काठमाडौँमै पनि कुमारीको नाममा छोरीहरूका चाहना निमोठिएको छ। भावना भाँचिएको छ। सभ्यता पनि झस्किसक्यो होला तैपनि सभ्यता पुग्न सकेको छैन बाध्यतासम्म। यसर्थ, संस्कृतिको आकृति बदल्नका लागि विकल्पको अति नै आवश्यकता पर्दछ। चलनलाई सकारात्मक बनाउनका लागि एकआपसमा मिलन अभियान सञ्चालन गर्नुपर्दछ। परम्पराको प्रचलनलाई उपयोगी बनाउन नयाँ शिराबाट सक्रिय हुनुपर्दछ। सभ्यताको आवश्यकतालाई वास्तविकतासित जोड्नुपर्छ।

पहाडी छोराहरू लाहुरे बन्न बाध्य छन्। 'बहादुर'को जिन्दगी बिताउन विवश छन्। आदिवासीहरू भर्तीका लागि विदेशिएका छन्। राजधानीकै कति नेपाली छोराहरू फोहोरमै जन्मन, हुर्कन र मर्नबाट छुटकारा पाउने अवस्थामा छैनन्। अर्थात् नेपाली जनजीवन सङ्कटग्रस्त छ। मुक्तिको जुक्ति निकाल्नुपर्ने शक्तिहरू मस्तीमा छन्। गर्नुपर्ने जनताको भक्ति, उल्टो पो भएको छ!

जनचाहना स्वास्थ्य, शिक्षा र सुरक्षामा निर्लिप्त छ। आधारभूत आवश्यकताको परिपूर्तिका लागि चाहना राख्नु बढी होइन। यद्यपि, चाहना महत्त्वाकाङ्क्षी हुँदै हुँदैन भन्नेचाहिँ होइन। चुलो चिसो बनाउनेलाई धूलो बनाउने चाहना, गरिबीको सर्जमिन गर्ने आङहरूले स्वाङ पार्नेहरूका टाङ खुस्काउने चाहना, झुपडीहरूको खुपडी खाने कपटीहरूलाई फिटीफिटी पार्नुपर्दछ भन्ने चाहना परिवर्तनका मसला हुन्। अर्थात् गाँस, बास र कपासका चाहना स्वाभाविक चाहना हुन्। स्वाभाविकतालाई अति ठान्नु भनेको खतिको बाटो समात्नु हो। दासत्वबाट मुक्ति खोज्नु अन्यथा होइन, यसबाट पर भाग्नु मनासिव पनि छैन। पलायनको बाटो रोज्नु कुनै पनि मानेमा न्यायोचित तरिका होइन, यसले जनचाहनालाई घायल बनाउँछ।

शासकको पनि आफ्नै चाहना हुन्छ- कुनै पनि बहानामा सत्ता जोगाउने। राम्रा राम्रा कुरा गरेर चाम्रो-चाम्रो भएर धोकाको छुरा हान्नु र स्पष्टीकरणमा चरण-चरणको विज्ञप्ति निकाल्नु शासकको विशेष चाहनायुक्त गतिविधि हुन्।

निराशाको पक्षपोषण, वितृष्णाको शृङ्खलामा सामेल स्वागतयोग्य कुरा होइन। आरोप लगाउनका लागि गरिने पूर्वाग्रही चाहनाको जलपले वास्तविक चाहना लोप गराउँछ। विसङ्गतयुक्त चाहनामा सकारात्मक पाटो खोज्नु खोटो तरिका हो। मोटो बुद्धिले छोटो कार्य गर्न प्रेरित गर्छ। मोटो बुद्धिको चाहना पनि नकारात्मक हुन्छ। अर्थात् खोचे थाप्ने र वितृष्णा थप्ने सबै नकारात्मक चाहनाको कोटिमा पर्दछन्। त्यसो त हरेक विषयमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। विवेकीहरूले सकारात्मक पाटो समात्छन्। चिन्तनशील विवेकीहरूले पक्षपोषण गर्दछन्। स्वाभाविक रूपमा जनचाहना उच्च हुन्छन्। हुनु पनि पर्दछ।

शासकको पनि आफ्नै चाहना हुन्छ- कुनै पनि बहानामा सत्ता जोगाउने। राम्रा राम्रा कुरा गरेर चाम्रो-चाम्रो भएर धोकाको छुरा हान्नु र स्पष्टीकरणमा चरण-चरणको विज्ञप्ति निकाल्नु शासकको विशेष चाहनायुक्त गतिविधि हुन्। थोरै गर्ने, धेरैको प्रचार गर्ने, सधैँ आफ्नै मात्र दरकार देख्ने, जनचाहनाको सरोकारमा कम ध्यान दिने गैरजिम्मेवार सरकारको अर्को विशेषता हो। व्यक्तिगत सम्पन्ताका लागि कैयौँलाई विपन्न पार्न पछि नपर्ने दोष अरूमा सार्न बेर पनि नमान्ने शासकीय चाहनाले भावना घायल पार्छ। समस्या टार्नुपर्नेमा बल्झाउँछ। त्यसो त नेतृत्वको विवेकअनुसार राम्रा कार्यहरू पनि हुन्छन्। चाहनाको प्रतिनिधित्व पनि हुन्छ। सबै हारगुहार र मिलेमतोमा जुन बेला पनि अत्तो थाप्नेहरूको सातो जान्छ। भरी हातलाई पनि रित्तो देख्नेहरू, कालोलाई सेतो भन्नेहरूलाई व्यवहारले जवाफ दिनुपर्दछ। व्यवहारले जवाफ दिनेहरू हावामा कावा खाँदै, कवाफमा रवाफ देखाउन मस्त हुनुहुन्न। पन्छाउने र पन्छने परम्पराबाट विकल्प दिने अनि नेतृत्व लिने मानसिकताका साथ अगाडि बढ्नुपर्दछ, शासक।

मेरा चाहनाका गति आफ्नै खालका छन्। आफ्नै तालका छन्। छलका विरोधी, आवश्यकताका पक्षपाती। म चिन्तनमग्न हुन्छु। चिन्तनमा सफलताको शिखर चुम्छु। आफैँ आफ्नै विवेकी संसारमा रम्छु। फेरि वास्तविकतामा झर्छु। व्यक्तिगत चाहनालाई सामूहिक चाहनाले थिच्छु। अवरोधलाई ह्याकुलाले मिच्छु भन्ने ठान्दछु। मान्नुपर्नेलाई हान्नुपर्ने देख्छु। तान्नुपर्नेलाई फाल्नुपर्ने देख्छु। फोहोरले फोहोर पखाले पनि फोहोर नै हुन्छ भन्ने कुरा सम्झन्छु। चाहना पनि मनजत्तिकै छिटो पो छ त! म कहिले मेरा चाहनाहरूलाई परिवारसित जोडेर हेर्छु, कहिले परिवारलाई तोडेर हेर्छु। व्यक्तिगत हितसित मित लगाउने चाहनाले पनि पकड जमाउँछ। जब यसलाई थप्पड दिन्छु अनि सामूहिक चाहनाको पहिचान देखिन्छ। चाहनामा चुर्लुम्म डुबेर मात्र हुँदैन, भावनामा व्यावहारिक पनि हुनुपर्दछ। व्यावहारिक चाहना नै उन्नत हुन्छ। जनभावना पनि सकारात्मक, नकारात्मक दुबै पाइन्छ। श्रमदान गरेर विकासको क्रम निरन्तर बनाउने। कम काम गरेर बढी दाम लिएर मजत्ति पनि जिम्मेवारीबोध नगर्ने, शोधखोजको समयमा निदाउने, निदाउने समयमा जाग्ने, जिम्मेवारीबाट भाग्ने कुराले संसारै ढाक्ने। आवश्यकतालाई आवश्यक बनाउन सक्रिय नहुने, अनावश्यक विषयमा चन्द्रमा छुने। सामाजिक गतिविधिलाई आत्मसात् गरेको भावनाले ज्ञानको आँखीझ्यालबाट महान्-महान् योजनाको प्रारूप तयार गर्न सक्छ। चेतना गतिशील हुँदा विचारका पर्रा छुट्छन्। जनभावनामा जनताकै सक्रियतामा तयार हुने योजनाहरू सफल हुन्छन् र समयसापेक्ष पनि।

सरकारका सवालमा पनि सकारात्मकता र नकारात्मकतालाई अलग गरेर हेर्न सकिन्न। जनचाहना पूर्तिमा मरिमेट्नेदेखि जनथिचाइमा फुर्ती गर्नेसम्म, जनवेदनामा चेतनाको प्रयोग गर्नेदेखि जनसम्बन्धमा लक्ष्मणरेखा कोर्नेसम्म सरकारमा हुन्छन्। निश्चित दर्शनलाई आत्मसात् गर्ने सिद्धान्तको परिपालन गर्नेहरूको सही परिचालनले मात्र उपलब्धि हात लाग्छ। समाज परिवर्तनको अभियानमा लाग्दा जात जान्छ भन्ने ठान्नेहरू सरकारका हर्ताकर्ता भएपछि शासन सत्ता व्यक्तिकेन्द्रित बिर्ता बन्छ। यसले न जनताको मन छुन्छ, न राष्ट्रको धन नै जोगिन्छ। चाहना, भावनाको समन्वय गर्न नजान्नेदेखि तृष्णालाई पनि वितृष्णाकै कोटिमा राख्नेसम्म, मनोभावनाअनुसार अगाडि बढ्नेदेखि जनचाहना बुझ्नेसम्म सत्ताको भत्ता खाइरहेका हुन्छन्। शासक भ्रष्टाचारको पोषक होइन, भक्षक हुनुपर्दछ। भावनालाई चाहनाअनुकूल बनाउन चेतनाको चरम विकास हुनुपर्दछ। चेतनाले नै समाजको वास्तविक तस्बीर उतार्न सक्दछ। वास्तविक आवश्यकता पहिचान नै समस्याको आधा समाधान पनि हो। समस्या समाधानमा सफलता पाउनेहरू अपमानको अश्रु ग्यासमा रुमलिनुपर्दैन, कहिल्यै।

जनचाहनाको चापमा शासकले टाप कस्नु, शासकको रापले साप हुनु फेरि पनि आफ्नै छापमा अस्तित्व खोज्नु एकै होइनन्। अस्तित्व व्यक्तित्वले जोगाउँछ। व्यक्तित्वले जन-जनका मनलाई प्रभावित गर्छ। प्रभावले सङ्कट टार्छ।

मेरा भक्कानिएका भावनाको भकारी चाकरीका निमित्त होइन। कसैको स्वार्थपूर्तिको पुल पनि होइन र हतियार पनि। म बहकिएर पखेटाविहीन बन्न पनि चाहन्न, भावुकताको दयाको लड्डु खान पनि चाहन्न। किनकि म दयाको लड्डुमा डाडुमा पानी तताउने कुरा सम्झन्छु। म भावनाका भुल्कालाई गीतमा प्रस्तुत गर्छु,

हिमाल र टाकुराको चुली टेकेर

तरेली र परेलीमा बयली खेलेर

सबै मन बराबर हुने बनाऔँ संसार।

 

फुलैसित मन साटी बनाऔँ फुलैफुल

हुलैलाई सचेत पार्न मिलौँ मिले झैँ फुलैफुल

सबै जना बराबर हुने बनाऔँ संसार।

 

एकैनास भएदेखि सबैको रमाइलो र खुसी

भाइचारा र मित्रताको पाथी हुन्थ्यो झुसी

जाँदैनथ्यो कतै खेर लौ न पसिनाको मसी।

 

मायाको डोरी लौ है लामो बाटेर

मनैसित फुल, फुलैसित मन साटेर

सबै मन बराबर हुने बनाऔँ संसार।

 

म पनि सामूहिक भावनाको एक प्रतिनिधि पात्र मात्रै हुँ। प्रत्येक गतिविधिले प्रतिनिधित्वलाई व्यावहारिक पुष्टि गर्नुपर्दछ। पुष्टिका लागि दूरदृष्टि आवश्यक हुन्छ। दृष्टि सही हुनका लागि आत्मविकास अनिवार्य हुन्छ। अन्योलबाट निकास दिने कुरा खास कुरा हो। हावामा महल बनाउने कल्पनाको बेजोड उडानमा हराउनेले भावनाको पुष्ट्याइँ गर्न सक्दैनन्। अर्थात् भावनाको प्रतिनिधत्व पनि। भावना आफैँमा एउटा योजना पनि भएको हुनाले भावनामा सच्चाइका पक्षहरू पाइन्छन्। सच्चाइलाई नजरअन्दाज गर्नु दुर्गतिको सङ्केत हो। म जहिले पनि आशावादी भावनाको पक्षमा उभिन्छु र वकालत गर्छु।

साँझ-साँझ नशामा डुबेर जानपहिचानका माझ साज देखाउने होइन, साँझ पनि आदर्श देखाउनुपर्दछ। हरेक पक्षका सकारात्मक पाटोलाई आत्मसात् गर्नुपर्दछ र नकारात्मक पाटोलाई अनुसरण गर्नुको साटो, माटोमा मिलाइदिनुपर्छ- बाटो सुगम बनाउनका लागि। जनचाहनाको चापमा शासकले टाप कस्नु, शासकको रापले साप हुनु फेरि पनि आफ्नै छापमा अस्तित्व खोज्नु एकै होइनन्। अस्तित्व व्यक्तित्वले जोगाउँछ। व्यक्तित्वले जन-जनका मनलाई प्रभावित गर्छ। प्रभावले सङ्कट टार्छ।

जनचाहनाको राम्रो र नराम्रो दुई पुला शासकको पनि सकारात्मक र नकारात्मक दुई पुला (आँठो) मेरा चाहनाका पनि आशावादी र निराशावादी दुई पुलालाई सकारात्मक ती पुलाको एउटा चुल्ठो बनाउने, नकारात्मक तीन पुलाको अर्को चुल्ठो बनाउने र भावनाका पनि जनचाहना, शासक र मेरो सापेक्ष भावनाको एउटा चुल्ठो बनाउने अनि निरपेक्ष भावनाको अर्को चुल्ठो बनाउने। त्यसपछि सकारात्मक चुल्ठोको रक्षा भावनाको पुल्ठोले नै गर्ने र नकारात्मक चुल्ठोको अन्त्येष्टि पनि त्यही पुल्ठोले गर्ने चाहनालाई एकीकृत गर्नुपर्दछ।

चाहना र भावनालाई एकगठ गर्नुपर्दछ। चुल्ठोलाई एकताको प्रतीक, पुल्ठोलाई उज्यालोको प्रतीक मान्नुपर्दछ। चाहनाको चुल्ठो र भावनाको पुल्ठोलाई रक्षक र भक्षक दुवै रूपमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोग खुकुरीको धारमा हिँड्नुजत्तिकै हुन्छ र जहिले पनि सकारात्मक ढङ्गले अघि बढ्ने गतिविधिले रसमय वातावरण बनाउँछ- समयको क्रममा।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.