|
प्रतीकात्मक फोटो

पाल्पा : जिल्लाको निस्दी गाउँपालिका-३ धार्केसिङमा आइतबार टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा टिपरका सहचालक जाजरकोट जिल्लाको साविक गाविस खालारहिका-८ का २३ वर्षीय टेकबहादुर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेमा सुर्खेतको शिवालय गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन्। उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए। उनको अवस्था गम्भीर रहेको छ।

नवलपरासीबाट इट्टा बोकेर निस्दीको काउलेबनतर्फ आउँदै गरेको प्रदेश नम्बर ३०–१–००–३ क ४४५६ नम्बरको टिपर आइतबार दिउँसो एकबजे दुर्घटनामा परेको हो। टिपर सडकभन्दा १ सय २० मिटर तल खसेको छ। प्रहरीका अनुसार टिपर स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्छ।

खानेपानीको ट्यांकीमा एक किशोर मृत फेला

जिल्लाको तिनाउ गाउँपालिका-६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका छन्। स्थानीय १६ वर्षीय रवीन पुन खानेपानीको ट्यांकीभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए।

उनी आइतबार मध्यान्न १२ बजेतिर फेला परेका हुन्। गाउँमा पानीको धारा नआएपछि पानी खोल्ने कर्मचारी पुगेर हेर्ने क्रममा पुन मृत भेटिएका थिए। उनले शव देखेपछि गाउँलेलाई खबर गरेका थिए। र त्यसपछि प्रहरीलाई खबर भएको थियो। खबर भएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरेको थियो।

मृतक पुन बिहीबार घरबाट निस्किएका थिए। घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए। खानेपानीको ट्यांकी अर्थात् घट्नास्थल गाउँभन्दा करिब एक किलोमिटर टाढा रहेको छ। घट्नास्थल एकान्त ठाउँमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.