|
प्रतीकात्मक फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर संगठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार दिएको सन्देशमा उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न संगठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताए।

दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय संगठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताए। द्रुत आर्थिक, विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सृजना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्नमा सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री आलीले स्मरण गरे।

'सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो,' उनले सन्देशमा भनेका छन्।

यसैगरी मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिए।

यसैअवसरमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीनदशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास, सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताएका छन्। सार्कका महासचिव अमजद हुसेन बी सियालले आठवटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.