फिचर

आहा ! अम्रिसोले ढाकेको काउले डाँडा :  वार्षिक एक करोड आम्दानी (फोटोफिचर)

मंसिर २३, २०७६

    पाल्पा : जिल्लाको निस्दी गाउँपालिका–३ झिरुबासस्थित काउले डाँडामा व्यवसायीक अम्रिसो खेती गरिएको छ। 

    डाँडाभरी अम्रिसो लगाइएको छ। हेर्दा निकै मनमोहक छ। यो दृष्य अवलोकनको लागि आन्तरिक तथा वाह्य पर्यटक समेत आउने गर्दछन्। यहाँ उत्पादन भएको अम्रिसो बिक्रीबाट वार्षिक एक करोड आम्दानी हुने गरेको कवुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले बताए। उनका अनुसार यहाँ आउने पर्यटकबाट समेत वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको छ। 

    कवुलियती वनमा आवद्ध सदस्यले कृषि सहकारी समेत सञ्चालन गरेका छन्। सहकारी मार्फत अम्रिसोबाट भएको आम्दानी बचत गर्नुका साथै आवश्यकता अनुसार कृषकलाई लगानी पनि गर्दछन्। 

    २ सय २७ हेक्टर वन क्षेत्रमा अम्रिसो खेती गरिएको जिल्ला बन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए। उनका अनुसार १९ समुहमा बाँडिएका २ सय ५० घरधुरीका परिवार यहाँको अम्रिसो खेतीबाट लाभान्वित भएका छन्।   

    कवुलियती वनको अवधारणाअनुरुप यहाँ अम्रिसो खेति गरिएको हो। आर्थिक वर्ष २०६६÷०६७ बाट यहाँ व्यवसायीक अम्रिसो खेति थालिएको प्रमुख पौडेलले बताए। वनमाराजस्ता बुट्यानले भरिएको अव्यवस्थित खोरिया थियो उनले भने फडानी क्षेत्रलाई व्यावस्थापन गरेर डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा भौतिक सहयोगमा कवुलियती वनको अवधारणाअनुरुप व्यवसायीक अम्रिसो खेती गरिएको हो। साथै यसमा आवद्ध सदस्यलाई वन व्यवस्थापन सम्बन्धी विभिन्न तालिम समेत दिने गरेको उनले बताए।

    विपन्न वर्गका उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले गरिबमूखी कबुलियती वनको अवधारण आएको हो। प्रमुख पौडेलका अनुसार ४० वर्षका लागि स्थानीय समूहलाई यो वन हस्तान्तरण गरिएको छ। 

    उनीहरुले आफै काम गर्छन् र यहाँबाट प्राप्त भएको आम्दानी आफै लिन्छन्। अम्रिसो विक्री गरेर आम्दानी भएको रकमले स्थानीयको जिविकोपार्जनमा ठूलो टेवा पुगेको छ। 

    हरियाली र वातावरणीय विकाससँगै यहाँ आन्तरिक पर्यटकको आगमनमा समेत वृद्धि भएको छ। यहाँ बनभोज सहित अम्रिसो खेती हेर्न आउने गर्दछन्। 
    इलामको चिया वगानजस्तै काउले डाँडालाई पाल्पाको अम्रिसो बगानको रुपमा विकास गर्नेगरी काम भइरहेको जिल्ला वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए। स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गरे नेपालकै नमुना बगान हुने उनको ठम्याई छ।

    पछिल्लो समयमा काउले डाँडा कवुलियती वनले अन्तर्राष्ट्रिय पर्वतीय विकास पुरस्कार साथै विभिन्न राष्ट्रिय तथा जिल्ला स्तरीय विभिन्न पुरस्कार पाइसकेको छ। यो वन अध्ययन अवलोकनको लागि विभिन्न जिल्लाबाट जिल्ला वन कार्यालय, वन उपभोक्ता समूह आउने गर्दछन्। 

    इलामको चिया बगान जस्तै पाल्पाको अम्रिसो बगान रहेछ सहलकोटस्थित बालहित माध्यमिक विद्यालयका शिक्षक पशुपती रेग्मीले बताए। हरियाली रमणीय काउले डाँडाबाट हिमाल, पहाड र तराई देखिएको उनले बताए। विद्यार्थीलाई भौगोलिक विविधता देखाउनको लागि यहाँ भ्रमण ल्याएको शिक्षक रेग्मीले बताए। 

    सडकको पहुँच पुगेकोल यहाँ पर्यटकको संख्यामा दिनानुदिन बढ्दै गएको हो। उपभोक्ता समितिले सवारी कर लिने गरेका छ। यहाँ आएका पर्यटकले ल्याएका मोटरसाइकल ५०, कार जीपले ८ सय र बसले १५ सय रुपयाँ तिनुपर्छ। यो रकम तिरेपछि यहाँ पर्यटकले सोही ठाउँमा वनभोज समेत खान पाउने व्यवस्था गरिएको छ। अम्रिसो प्रतिकिलो ५० देखि ९० रुपयाँसम्म बिक्री भइरहेको छ। अम्रिसो नेपालका विभिन्न शहर र भारतमा समेत निर्यात हुँदै आएको छ।

    अम्रिसोको फाइदा 

    अम्रिसो बहुगुणी वनस्पति हो। अम्रिसोको कुचो मात्र होइन् हर्निया भएमा जराको बाफले उपचार गर्न सकिन्छ। गाइवस्तुको पेटमा जुका परेमा वा आमाको पेटबाट बच्चा जन्मिएपछि सजिलोसँग साल निकाल्नको लागि प्रयोग गर्न सकिने रेञ्जर पोखरेलले बताए। साथै भिरालो जमिनको माटो बग्न नदिएर भूसंरक्षणमा पनि योगदान पुर्‍याउछ। अम्रिसोको फुल, डाँठ र जरा समेत बिक्री हुने गर्दछ। साथै पात गाइवस्तुलाई घाँसको रुपमा खुवाउन सकिन्छ। 

    अम्रिसोको अन्य ठाउँमा पनि व्यवसायीक खेती गर्न सके सिंगो राष्ट्रको लागि आर्थिक टेवा पुग्ने अवलोकन भ्रमणमा आएका तानसेन नगरपालिका–५ धरमपानीका मकर सारुले बताए। 

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]