बाहुन-क्षेत्रीको मात्रै होइन संस्कृत

|

काठमाडौं : दौरा, सुरुवाल, ढाकाटोपी र कोट लगाएर नेपाली पहिचान झल्काउँदै संस्‍कृत पढ्ने मन कसलाई नहोला र? स्कुलमा भन्दा फरक ढंगमा पढाइने संस्कृतमोह पछिल्लो समय बढ्दै गएको छ। पश्चिमा धर्म-संस्कार पच्छ्याउने लहरले पनि संस्कृतको आकर्षणलाई घटाउन सकेको छैन।

संस्कृतले अलग्गै पहिचान दिने भएकाले यसतर्फ ब्रह्माण क्षेत्रीदेखि आदिवासी जनजातिकोसमेत ध्यान गइरहेको छ। अन्य भन्दा संस्कृति विषय पढ्दा धेरै आनन्द आउने बताउँछन् विद्यार्थीहरु। यही विषयमा रमाइरहेका एक विद्यार्थी हुन् सुदिम्‍न पौड्याल। 

धादिङमा जन्मिएका १० वर्षीय पौड्यालले जीवनमा संस्कृत पढ्ने सोचेका पनि थिएनन्। तर, उनलाई बुवाले पशुपति क्षेत्र विकास कोषस्थित नेपाल वेदविद्याश्रम, संस्कृत माध्यमिक विद्यालयमा भर्ना गरिदिए। 

संस्कृत पढ्न पाउँदा उनी खुसीले गदगद छन्। ‘सुरुमा संस्कृत पढ्न गाह्रो भएको थियो। अहिले धेरै सजिलो लाग्छ', उनले भने, 'संस्कृत लोप हुँदै गएकाले बचाउन पनि यसमै पढ्ने रुचि जाग्यो।’

राम्रो वातावरणमा पढ्न पाएकोमा उनी खुसी छन्। सबैले संस्कृत पढेर हराउँदै गएका कला, धर्म, संस्कृति बचाउनुपर्नेमा उनले जोड दिए। ‘हाम्रो भाषा, संस्कृति पुरातन समयदेखि चलिआएको हो,’ उनले थाहा खबरसँग भने,‘यसलाई भुल्नु भएन। सबै मिलेर पढौँ।’

संस्कृत पढ्न अरू स्कुल जस्तो एक, दुई कक्षामा भर्ना हुनुपर्दैन। सिधै चार कक्षामा पढ्न पाइन्छ। अरू विद्यार्थीमा भन्दा संस्कृत अध्ययन गर्दै आएको विद्यार्थीमा नम्र बोली बचन र शिष्ट व्यवहार पाइन्छ।

हजुरबुवाबाट प्रेरणा

दोलखा घर भई पशुपतिमा संस्कृत पढ्दै आएका अर्का  विद्यार्थी १६ वर्षीय अञ्‍जन ढुंगेल पनि संस्कृत पढ्दै गर्दा धेरै रुचि बढ्दै गएको सुनाउँछन्।

भिडियो

हजुरबुवाहरूले पुरेत्याईं गरेको देखेपछि यसमा उनको मन तानिएको हो। ‘हजुरबुवाले संस्कृत पढ्दै संस्कार गरेको देखेपछि मैले पनि पढेर केही गर्न सक्छु भन्‍ने लाग्यो,’ढुंगेलले भने,‘सुरुमा गाह्रो हुन्छ। तर, पढ्दापढ्दै रमाइलो लाग्छ। पुर्खादेखि चली आएको परम्परागत संस्कार, संस्कृति बचाउनु छ।’

उनले १२ कक्षा पढिसकेपछि यही विषयलाई निरन्तरता दिँदै दोलखामा  संस्कृत विद्यालय खोल्ने लक्ष्य रहेको सुनाए। उनका अनुसार संस्कृत पण्डित्याइँ गर्न र सरकारी जागिरमा जान पनि सकिन्छ।  संस्कृतबाटै शिक्षा सेवा आयोग लडेर पनि जागिर खान सकिन्छ। संस्कृत शिक्षक बन्‍न र धार्मिक प्रवचन पनि गर्न सकिन्छ।

खानपिनमा शुद्धता

संस्कृत पढ्ने विद्यार्थीहरुले लसुन, माछा, मासु केही खान मिल्दैन। त्यहीकारण खानपिनमा शुद्धता आउने गरेको विद्यार्थीहरु बताउँछन्। ‘संस्कृत क्षेत्री, बाहुनहरूले मात्रै पढ्नुपर्छ भन्‍ने छैन। अन्य जातिहरुले पनि पढ्न सक्छन्,’ उनले थपे। पशुपतिस्थित संस्कृत विद्यालय २०२६ सालमा निर्माण भई २०३१ साल कात्तिक २२ गतेबाट सञ्चालनमा आएको हो। 

संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अधिकारीले स्वच्छ र शान्त वातावरणमा स्रोतसाधनले भ्याएसम्म संस्कृति पढाउँदै आएको बताए। उनले भने, ‘शान्त वातावरणमा नेपाल सरकारको पाठ्यक्रमअनुसार चार देखि ११ कक्षासम्म संस्कृत अध्यापन गराउँदै आएका छौँ।’

आर्थिक प्रलोभन, प्रतिष्ठा र पदमा मात्रै बस्न खोजिएकाले संस्कृत लोप हुँदै गएको उनी बताउँछन्। उनका अनुसार संस्कृत पढ्न निःशुल्क भए पनि सामान्य शुल्क लिएर बेलुकाको समयमा थप पढाइसमेत हुन्छ। नेपालभर एकसयको हाराहारीमा संस्कृत विद्यालयहरु छन्। उपत्यकामा भने चारवटा संस्कृत विद्यालय छन्।

सरकारबाट वार्षिक करिब दुई करोड मात्रै बजेट विनियोजन हुने भएकाले विद्यालय चलाउन हम्मे पर्ने गरेको उनको गुनासो छ। 

संस्कृतको आफ्नै महत्व

हजारौँ वर्षदेखिको संस्कृत अहिलेसम्म पनि चलिआएकोले यसको धेरै महत्व रहेको प्रधानाध्यापक अधिकारी बताउँछन्। उनले भने, 'संस्कृत हजारौँ वर्षदेखिको धरोहर हो। यो विद्या भनेको चिन्तन मनन गर्ने विद्या हो। यसमा धेरै तपस्या र त्याग चाहिन्छ। पहिले ऋषिमुनिहरु संस्कृत शिक्षाबाट संस्कारित हुन्थे। अहिले पनि समाजमा संस्कार कायमै छ।’

उनका अनुसार वेद भनेको कसैले पछि बनाएको भाषा होइन। यसको प्राचीतामाथि नै अध्ययन अनुसन्धान भइरहेका छन्। अझ युरोपेलीहरु यसप्रति दिनदिनै आकर्षित हुदै छन्। यसमा आधारित योग र ध्यानले विश्वमा फैलिँदै गएको छ। तर हामी नेपालीले यसलाई जसरी आत्मसात गर्नु पर्ने हो जति महत्व दिनु पर्ने हो त्यति दिन सकेका छैनौं। 

संस्कृत अरु भाषाको आधार पनि

प्रअ अधिकारीले संस्कृत पढेपछि बेरोजगार बस्न नपर्ने अवस्था रहेको बताए। ‘यहाँ आठ कक्षामा फेल हुने विद्यार्थी पनि बेरोजगार बस्न पर्दैन,’ उनले भने, ‘केही नगरे पनि कर्मकाण्ड गरेर भए पनि आफ्नो पेट पाल्छन्।’ उनका अनुसार यो विषय पढ्ने प्राध्यापक हुन्छन्।

नेपाली सेना प्रहरीमा पनि पण्डित राख्ने चलन भएकाले त्यहाँ पनि जान सकिन्छ। संस्कृत पढेर नेपाल भित्रका विभिन्‍न जातजातिका भाषा र इतिहासको अध्ययन अनुसन्धान गर्न सकिन्छ। संस्कृत, धर्म, इतिहास परम्परालाई समाजसँग जोड्ने बिषयसँगै यो एउटा समृद्ध भाषा पनि हो। जसको अध्ययनले अरु भाषामा पनि मानिसलाई दक्ष बनाउँछ।

एशिया र दक्षिणपूर्वी एशियाका थाइल्याण्ड, इण्डोनेशिया, बर्मा, कम्बोडिया, श्रीलंका लगायत धेरै मुलुकको भाषाको आधार संस्कृत भएकोले यसको दायरा नेपाल-भारत मात्रै भन्‍न नमिल्ने उनले बताए। उनका अनुसार अहिले चीनले हरेक वर्ष सयजना संस्कृतका स्नातक उत्पादन गर्दै छ भने बेलायत र जर्मनीमा पनि संस्कृतको औपचारिक पढाई हुने गरेको छ।

भवन अभावले महिलाले पाएनन् अवसर

प्रधानाध्यापक अधिकारीले संस्कृत शिक्षाका लागि भवन अभाव रहेको दुखेसो पोखे। ‘२०३१ सालबाट यो भवन बनेको छैन,’उनले भने, ‘त्यसबेला करिब ३२ जना विद्यार्थी थिए। अहिले १९७ जना विद्यार्थी छन्। विद्यार्थी संख्या बढ्दै गएकाले पठनपाठनका लागि विद्यालय संरचनाको अभाव छ।’ 

उनले संरचनाकै अभावले संस्कृत पढ्नमा रुचि भएका महिलाहरूलाई विद्यालयमा समावेश गर्न नसकेको बताए। सरकारले पाठ्यक्रम, शिक्षक र भौतिक संरचनाको व्यवस्था गर्नुपर्ने उनको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.